पोखरा, पोखराका विभिन्न स्थानबाट बढी मूल्य पर्ने भाँडावर्तन र तामाका तारहरु चोरी गरेको आरोपमा प्रहरीले भारत र नेपालघर भएका चार जनालाई पोखराबाट पक्राउ गरेको छ पक्राउ पर्नेहरुमा तीनजना भारतीय र एकजना नेपाली नागरिकरहेको छन । कास्की प्रहरीका प्रबक्ता समेत रहेका प्रहरी नायब उपरिक्षक हरिबहादुर बस्नेतका अनुसार पक्राउ पर्नेहरुमा भारत बिहारका २२ वर्षीय मनोज कुमार सिंह, २७ वर्षीय करन कुमार शाह, ४२ वर्षीय मुकेश कुमार र नेपालको धादिङ खनियाबास गाउँपालिका–२ का ३१ वर्षीय श्यामकुमार तामाङ छन् ।
उक्त समुहले विभिन्न ठाउँबाट पटक पटक भाँडावर्तन र तामाका तारहरु चोरी गरेको पाइएको प्रहरीले जनाएको छ । यहि जेठ ८ गते पोखराको छिनडाँडास्थित नेपाल टेलिकमको कार्यालय परिसरबाट कपर केवल र अन्य घरासयीका सामानहरु चोरी भएको भन्दै नेपाल टेलिकमले प्रहरीमा उजुरी गरेपछि शुरु भएको अनुसन्धानबाट उक्त समुहको पहिचान भएको हो ।
अनुसन्धानका क्रममा चोरी गरिएका ती सामानहरु कवाडीमा बेच्ने गरेको खुलेपछि जेठ २३ गते प्रहरीले मनोज कुमार सिंहले सञ्चालन गरेको कवाडी खानामा छापा मारेको थियो । सो क्रममा उनीहरुलाई पक्राउ परेका हुन् । पक्राउ परेका चार जनाविरुद्ध चोरी तथा डाँका सम्बन्धी कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको डीएसपी बस्नेतले बताए ।
उनीहरुले संचालन गरेको कारखानबाट प्रहरीले ८२ किलो तामाको तार, साढे २ किलो आल्मुनियम, पित्तलका धाराका टुटी ५१ थान (१६ किलो), पित्तलको सकेट ९७ वटा (१८ किलो), पित्तलको गेटबल १०५ वटा (८५ किलो), नक्कली गरगहना २१ किलो, तामाका कलश १० थान, चरेश कचौरा ३ थान, चरेश दियो बाल्ने पाला ३ थान, चरेश कलश १ थान, तामाको पानी पिउने फिल्टर १ थान र तामाको तार साढे १ किलो बरामद गरेको जनाएको छ ।