पोखरा, पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा हुने विभिन्न धार्मिक क्रियाकलाप मध्ये सामूहिक व्रतबन्ध गर्नेहरुको संख्या पनि बढ्दै गएको छ । हिन्दु संस्कृतिमा महत्त्वपूर्ण धार्मिक संस्कारको रूपमा लिइने व्रतबन्ध (उपनयन) संस्कारलाई पुरा गर्न कोटिहोममा सर्बसाधारणहरुले आफ्ना सन्तानको पवित्र कर्मकाण्ड र धार्मिक विधि अनुसार सामूहिक व्रतबन्ध गराएका हुन् ।
सामूहिक व्रतबन्ध अन्तर्गत बुधबार देशभरका विभिन्न जिल्लाबाट एक सयजना बढीले सामूहिक व्रतबन्ध गरेको मानब सेवा फाउन्डेसनका प्रचारप्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । कोटिहोम नेपालकै तिर्थस्थलको रूपमा रहेकोले पनि आफ्ना सन्तानको व्रतबन्ध गर्न कोटिहोम स्थल रोजेको अभिभावकको भनाई थियो।
व्रतबन्ध कार्यक्रम दक्ष पण्डित गुरुहरुको निर्देशनमा विधिपूर्वक गरिएको थियो । कार्यक्रमको विशेषता स्वरूप प्रत्येक बालकलाई यज्ञोपवीत धारण गराइ शास्त्रोक्त विधिबाट संस्कार गरी संस्कार पश्चात् बालकहरूलाई ब्राह्मणका तीन ऋण—देवगण, ऋषिगण, र पितृगणको जानकारी दिईएको सम्पूर्ण कर्मकाण्डका व्यवस्थापक पं.चूडामणि पाण्डेले जानकारी दिए । यस अवसरमा ग्रहशान्ति, वेद पाठ, मन्त्रोच्चारण, र विशेष हवनको समेत गरिएको थियो ।
सामूहिक रूपमा व्रतबन्ध गराउनुको धार्मिक महत्त्वसंगै समय, खर्च र व्यवस्थापनमा पनि सहज भएको आफन्तको बुझाइ छ । यस अघि पनि कोटीहोममा दर्जनौँ बालकहरूको व्रतबन्ध भइसकेको छ । धेरै अभिभावकहरूले महायज्ञको पावन अवसरलाई उपयोग गर्दै आफ्ना सन्तानको व्रतबन्ध गराउने तयारी गरिरहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए।
कोटिहोममा ४ वेद, १८ पुराण र १०८ श्रीमद्भगवत पाठ पारायणको श्रवण, हवन, पार्थिव शिवलिड्ड पूजा, रुद्राभिषेक, तुला दान, शुभ विवाह, भूमि पूजन, व्रतबन्ध, चौरासी पूजन लगायतका विभिन्न धार्मिक गतिविधिहरू सञ्चालन भइरहेका छन्।
कोटिहोममा देशभरबाट ४ सय बढी ब्राह्मण जम्मा भएर दैनिक दैनिक भगवानको नाममा आहुति अर्पण गरिरहेका छन् । सतकुण्डीय कोटिहोमको हवन कुण्डका लागि जौ, तिल, घिउ आदि हवन सामग्री दान गरी सेवा गर्ने पावन अवसरलाई सदुपयोग गर्न भक्तजनहरूमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीले आग्रह गरेका छन् ।
‘यो हवन कार्य ४२ दिन सम्म निरन्तर चल्नेछ’ उनले भने, ‘हवनमा चाहिने सामग्री ल्याई आफूलाई पनि यो हवन कार्यमा सहभागिता जनाउने अवसर नगुमाउनुहोस् ।’ भक्तजनले हवन कार्यमा आ–आफ्नो घर वा क्षेत्रमा उपलब्ध हुने सक्ने घ्यु, तिल, जौ, तेल, सवौंषधी, खुदो, पीपल, वर, आँप, समी, डुम्री, तीतेपाती, खयर, साल, बयर, गिँदर, बेल, साल सल्ला, देवदारु रुदिलो, श्रीखण्ड र सुगन्धित द्रव्यलगायत हवनमा प्रयोग गरिने विशेष जडीबुटीहरू तथा अन्य दाउराहरू ल्याएर सहयोग गर्न सकिने आयोजकको भनाई छ । यही वैशाख १९ गते सुरु भएको हवन जेठ २६ गते सम्म चल्ने छ ।
यज्ञका प्रमुख आचार्य लक्ष्मण भण्डारीका अनुसार १ सयवटा हवन कुण्डमा ३/३ जना ब्राह्मणले कोटीहोममा हरेक दिन भगवती गायत्री मन्त्र विधिबाट हवन गरेका छन् । हवन कुण्डको मुल मण्डपमा महायज्ञका सङ्कल्पकर्ता वाल योगेश्वर विजय श्रीकृष्ण मूर्तिजीका बुबा मनिराम भण्डारी र आमा जानका भण्डारी रहेका छन् भने अरू मण्डपमा ३/३ जना ब्राह्मणले नित्य हवन गरिरहेका छन् ।
कोटिहोममा सात दिन प्रवचन दिनका लागि वैशाख २८ देखि जेठ ३ गतेसम्म वाचन प्रवीण पं. दिनबन्धु पोखरेल, जेठ १४ देखि २२ गतेसम्म प्रसिद्ध कथावाचिका राधिका दासी, श्रीराम कथावाचिका देवी चन्द्रकला सखी, दार्शनिक प्रवचनकर्ता चैतन्यकृष्ण महाराज सहभागी हुने भएका छन कोटिहोममा राष्ट्रिय भजन प्रतियोगिता, चर्चित भारतीय आचार्य प्रशान्त कृष्ण पंराकुशजीलगायत साधु सन्तमार्फत रामायण प्रवचन र वाचिका सुप्रियामार्फत दैनिक कथा वाचन जारी रहेको मानव सेवा फाउन्डेसनका व्यवस्थापक विष्णु थापाले जानकारी दिए ।
पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ । कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ । कोटिहोममा संघिय तथा प्रदेश सांसद जनप्रतिनिधि, राजनितिक दलका नेता, सञ्चारकर्मीको उपस्थिति दिनहुँ बढ्दै गएको छ ।