पोखरा, पोखरा महानगरपालिका वडा नं. १७, बिरौटास्थित हरिहर मन्दिर र केही स्थानीयको जग्गामा मानव सेवा फाउण्डेशनद्वारा आयोजित गण्डकी कोटिहोम महायज्ञ अन्तर्गत मंगलबार पोखरामा कलश सहितको शोभा यात्रा सम्पन्न भएको छ। पोखराको विभिन्न स्थानको साथै पोखरा बहिरबाट हजारौंको संख्यामा आएका महिला एबम सर्बसाधारणहरु कलश बोकेर महायज्ञस्थल बिरौटामा पुगेका थिए ।
पोखरामा भएका कलश यात्राहरु मध्ये गण्डकी कोटीहोमको मंगलवार सम्पन्न कलशयात्रा सम्भवत सबैभन्दा ठुलो कलशयात्रा हो कतिपयले यो कलशयात्रा पोखराको लागि अभुतपूर्व रहेको बताएका छन। कलश यात्रा सम्पन्न भएसंगै कोटीहोमको प्रचारात्मक कार्यक्रम समेत करिब पुरा भएको छन अब बुधबार देखि हवनकुण्डमा हवन गर्ने लगायतका कोटीहोमको काम शुरु हुनेछ भने प्रवचन, कथाबाचन,वक्तृत्वकला प्रतियोगिता, भजन प्रतियोगिता लगायतका कार्यक्रम महायज्ञ स्थलको छुट्टाछुट्टै स्थानमा हुनेछन।
हवानादी कार्यको बिधिबत शुभारम्भ निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलासानन्द गिरिजी महाराजले गर्ने कार्यक्रम रहेको छ। उनि मंगलवार नै पोखरा आइपुगेका छन उनलाई पोखरा बिमानस्थलमा महायज्ञका संकल्पकर्ता सहित आयोजक समितिका पदाधिकारी र सदस्यहरुले स्वागत गरेका थिए।
नेपाल पंचांग निर्णायक विकास समितिले दिएको साइत र समय अनुसार नै बुधबार बिहान ७ बजेर २७ मिनेटमा पूर्व फर्किएर पुर्बांग कर्म गरिने छ शुक्रबार अग्निमन्थन, हवनकुण्डमा अग्नि प्रवेश गराउने र अग्निकुण्डमा आहुति प्रदान गरेर शुरु हुने कोटीहोम जेष्ठ २६ गते समापन गर्ने कार्यक्रम रहेको छ।
पोखराको शान्तिघाटबाट ठुलो संख्यामा उपस्थित सर्बसाधारणले सेती नदीको जल कलशमा बोकेर नयाँबजार, पृथ्वीचोक, सिर्जनाचोक, राष्ट्रबैंकचोक हुँदै बिरौटाचोक पुगेको थियो । पोखराको ढुंगेसाँघु स्थित सदाशिब हरिहर मन्दिर परिसरबाट पनि ठुलो संख्यामा उपस्थित महिला सहित आम सर्बसाधारणहरु कलशयात्राको साथ बिरौटा चोकमा पुगेर नयाँबजार क्षेत्रबाट आएको कलशयात्रा संगै समाहित भएको थियो। यसका साथै कतिपय महिलाहरुले पोखराको गाईघाट बाट त कतिपय महिला एबम सर्बसाधारणहरु स्यांग्जा र तनहुँबाट समेत कलश बोकेर महायज्ञस्थलमा आएका थिए ।
महायज्ञमा ११ हजार कलश रहने भएकोले पबित्र नदीको जलसहित ति कलश बोकेर पोखरा भित्र र बहिरबाट आएका भक्तजन, साधु–सन्त, स्वयंसेवक, महिला समूह, बालबालिका र जनप्रतिनिधिको उत्साहपूर्ण सहभागिताले पोखरा कोटीहोममय बनेको महशुस कोटीहोम आयोजकले गरेका छन । कलश यात्रामा चर्चित अन्तराष्ट्रिय कथा बाचिका देवी प्रतिभा , कोटीहोम महायज्ञका संकल्पकर्ता वालयोगेश्वर विजय कृष्ण मूर्तीजी सहित महायज्ञ आयोजक मूल समितिका पदाधिकारी एबम सदस्यहरु र अन्यको उल्लेखनीय सहभागिता रहेको थियो ।
कलशयात्रामा पोखरास्थित विभिन्न महिला समुहहरु, धार्मिक तथा सांस्कृतिक समुहहरु, सनातन धर्मावलम्बीहरुको सहभागिताले महायज्ञको प्रभावकारिता बढेको महशुस गरिएको छ । पोखरामा कुनै हालतमा कोटीहोम महायज्ञ हुन नदिने अडानमा रहेका पोखराका मेयर र केहि वडाध्यक्षहरु स्थानीय प्रशासन र अदालतको निर्णयका कारण पोखराको लेकसाइड बाहेक अन्यत्र कोटीहोम गर्न दिने अबस्थामा पुगेको थिए त्यसपछि मात्र महायज्ञस्थल लेकसाइड बाट परिबर्तन गरि बिरौटामा कायम गरिएको हो ।
पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य र केहि वडाध्यक्षको बिरोधका कारण महायज्ञस्थल परिबर्तन गरेर सबै तयारी गर्दा पनि स्थानीय सरकारको रुपमा रहेको पोखरा महानगरपालिकाबाट उचित सहयोग र समर्थन प्राप्त नभएको गुनासो महायज्ञ आयोजक समितिको रहेको छ ।
तर, कलश यात्रा सहित महायज्ञका कार्यक्रममा अबरोध पुर्याउने, महायज्ञको बिरोध गर्ने र असहयोग गर्नेहरु मध्येका केहि भने कलश यात्रामा देखिएको उत्साहजनक सहभागिताका कारण अब के गर्ने भन्दै अन्योलमा परेको बुझिएको छ। कलश यात्रा कार्यक्रम भव्यरुपमा सम्पन्न भएको उपसमितिका संयोजक दुर्गा केसीले गुरुकुल खबरलाई जानकारी दिईन।
मुख्यमन्त्री पाण्डे: कलश यात्राको उद्घाटन गर्न आएनन तर होटलमा धर्मगुरु भेट्न भने पुगे
यसका साथै मंगलवारको कलश यात्राको उद्घाटन गर्न आउने भनि केहि दिन अगाडी नै आश्वासन दिएका गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे कलश यात्राको शुभारम्भको समयमा त्यहाँ उपस्थित भएनन। सोहि कारणले प्रदेश सरकारमा बस्नेहरुले समेत कोटीहोम महायज्ञलाई सकारात्मक रुपमा नहेरेको हुन् कि भन्ने चर्चा समेत आमसर्बसाधारण माझ चलिरहेको छ।
आम सर्बसाधारण संगै सरकारमा बस्नेहरुकै समर्थक र कार्यकर्ताको बाक्लो उपस्थिति देखिनुले विभिन्न तहको सरकारमा बस्नेहरुलाई नैतिकं दवाब पनि बढेको बताईन्छ । शायद यस्तै दवाबका कारण हो वा अन्य कारण महायज्ञको कलश यात्रा उद्घाटनमा नआएका मुख्यमन्त्री महायज्ञको उद्घाटन गर्न भारतबाट पोखरा आएका महामण्डलेश्वर स्वामीलाई भेट्न भने हतार हतार होटलमै पुगेको छन।
महायज्ञको कलश यात्रा उद्घाटन गर्ने आश्वासन दिएर पनि कार्यक्रममा नआएका मुख्यमन्त्री पाण्डे भारतबाट मंगलवार नै पोखरा आइपुगेका निरंजनी पिठाधीश्वर १००८ आचार्य महामन्डलेश्वर स्वामी कैलासानन्द गिरिजी महाराजलाई भेट्न भने उनि बसेको होटलमै पुगेका हुन । महायज्ञको कार्यक्रममा नआउने तर भारतबाट आएका धर्मगुरुलाई भेट्न भने हतार् हतार होटलमा पुग्ने मुख्यमन्त्री पाण्डेको शैलीलाई कतिपयले आश्चर्यको रुपमा लिएका छन ।
महायज्ञ आयोजक समितिका एक पदाधिकारीका अनुसार पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेको स्थानीय एबम प्रदेश सरकार र पोखरा भ्रमण बर्ष मनाउन भन्दै विभिन्न कार्यक्रममा लगानी गरेको पोखरा महानगरपालिकाले कोटीहोम महायज्ञका आयोजकहरुको प्रस्ताबलाई स्वीकारेर सहकार्य गरेको भए मात्र पनि पोखरामा ठुलो संख्यामा धार्मिक पर्यटकहरु आउने निश्चित थियो । विभिन्न चुनौतीका बाबजुद कोटीहोम महायज्ञमा बिदेशी पर्यटकहरु समेत उपस्थित भएर भजन किर्तनमा नाचगान अनि मनोरंजन लिने गरेको छन
तर, स्थानीय तहको सरकार सहित केहि जनप्रतिनिधिहरुले कोटीहोम महायज्ञ प्रति सकारत्माक संदेश प्रवाह नगर्दा त्यसले पोखरामा धार्मिक पर्यटकहरुको आगमनमा समेत केहि असर परेको छ । यसका साथै सनातन धर्म र संस्कृतिको संरक्षणको कार्यमा सरकारमा पुगेकाहरु गम्भीर बन्न नसकेको आरोप समेत लाग्न थालेको छ।
महायज्ञमा भारतबाट अन्तराष्ट्रिय कथाबाचक देबी प्रतिभा, कान्छी कथा बाचक अनुराधा पाण्डे, सुप्रिया किशोरी, राधिका दासी, पण्डित दिनबन्धु पोखरेल लगायतका प्रख्यात कथाबाचक र जगदगुरु संकराचार्य सहित प्रशिद्द धर्मगुरुहरुको आगमनले पोखरामा आउने धार्मिक पर्यटकहरुको संख्या भने दिन प्रतिदिन बढ्दै गएको छ ।
बृहत र एतिहासिक धार्मिक अनुष्ठानको रुपमा एक सयवटा हवनकुण्डमा कोटीहोमे गरिने कुराले मात्र नभएर अन्तराष्ट्रिय कथाबाचकहरुको आगमन र उनीहरुको कथा श्रवण गर्ने अनि प्रशिद्द धर्मगुरु एबम धार्मिक व्यक्तित्वहरुको प्रवचन सुन्न र आशिर्बाद लिनको लागि सर्बसाधारण सहित धार्मिक पर्यटकहरुको आगमन पोखरामा भैरहेको छ ।
पोखराको बिरौटामा महायज्ञ संचालन भएपछि बिरौटा देल्खी ड्यामसाइड र मुस्तांगचोक तर्फका अधिकांश होटलमा पाहुना भरिएका छन् भने लेकसाइड क्षेत्रमा समेत कोटीहोममा सहभागी हुन् आउनेको संख्या बढ्दै गएको छ ।
पोखरामा आयोजित कोटीहोमको प्रचारात्मक कार्यक्रमहरु मंगलवार सकिएसंगै बुधबार कोटीहोम महायज्ञको पुर्बांग हुने भएको छ । त्यसका लागि धर्मिक व्यक्तित्वहरुको आगमन पोखरामा भैसकेको महायज्ञका संकल्पकर्ता बिजयकृष्ण मुर्तीले जानकारी दिएका छन । महायज्ञको प्रमुख कार्यहरु वैशाख १७ देखि जेठ २६ गतेसम्म चल्नेछन । जसमा श्रीमद्भागवत कथा, राम कथा, शिवमहापुराण कथा, हनुमान कथा, श्रीमददेवी भागवत कथालगायतका प्रवचन, हवन, भजन, झाँकी, देवलीला र नृत्य प्रस्तुतिहरू हुने बुझिएको छ ।
पोखरा बाहिरबाट आएका अभियन्ता र संचारकर्मीलाई सम्मान
महायज्ञ अन्तर्गत मंगलबार संचारकर्मीहरु र सामाजिक अभियन्तहरुको पनि बाक्लो उपस्थिति रहेको थियो । संचारकर्मी एबम अभियन्ता अर्जुन भुषाल, भोजराज थापा, आशिका तामांग, ज्वाला संग्रौला लगायतको उपस्थितिले महायज्ञको सकारात्मक प्रचारमा बल पुगेको महशुस महायज्ञका आयोजकहरुले गरेका छन । संचारकर्मी र अभियन्ताहरुलाई सोहि समारोहमा सम्मान पनि गरिएको थियो ।
यसबाहेक कलशयात्रामा सहभागी आमासमुह, टोलबिकास संस्था, विभिन्न धार्मिक एबम सांस्कृतिक समूहलाई पनि प्रशंशा पत्र प्रदान गरिएको थियो । महायज्ञका संकल्पकर्ता बाल योगेश्वर बिजय कृष्णमुर्ती, निर्देशक शंकर खराल, महायज्ञ मूल समितिका सहसंयोजक गंगाधर पराजुली लगायतले विभिन्न व्यक्ति र संस्थाहरुलाई सम्मानपत्र एबम प्रशंशापत्र प्रदान गरेका थिए ।
महयज्ञमा विभिन्न व्यक्ति र संस्थाले सहयोग गर्ने क्रम पनि शुरु भएको छ मंगलबार मुस्तांगको घरपझोङ गाँउपालिका जोमसोमका अध्यक्ष मोहनसिंह लालचनले नगद २ लाख ५५ हजार सहयोग प्रदान गरेका छन् । उनले मानव सेवा फाउन्डेसनले पालनपोषण गर्दै आएका एक अनाथ वच्चाको एक वर्षको अभिभावक बन्ने पहिलो व्यक्ति मात्र नभएर स्थानीयस्तरबाट सबैभन्दा बढी दान दिने पहिलो व्यक्ति समेत बनेको बताइएको छ । अध्यक्ष लालचनलाई महायज्ञका संकल्पकर्ता बाल योगेश्वर बिजयकृष्ण मुर्तीले सम्मानपत्र द्वारा सम्मान गरेका थिए ।
कोटिहोम महायज्ञमा ४१ दिनसम्म निरन्तर हवन हुने भएकाले श्रद्धालुहरूलाई घ्यू, तील, तेल, देवदारु, श्रीखण्ड लगायतका सामग्री लिएर उपस्थित हुन फाउण्डेशनले भक्तजनलाई आग्रह समेत गरेको छ ।
धर्मको नाममा अधर्म गर्नेहरुलाई समाजले निरुत्साहित गर्नुपर्छ- संचारकर्मी भुषाल
सोहि अबसरमा बोल्दै सामाजिक अभियन्ता समेत रहेका संचारकर्मी अर्जुन भुसालले धर्म र संस्कृतिको संरक्षणले मात्र मुलुकको अस्तित्व जोगिने भएपनि देशमा पछिल्लो समय धर्म र संस्कृति लोप हुँदै गएको बताए उनले भने, “हाम्रो धर्म र संस्कृति हाम्रो पहिचानको आधार हो । यसलाई जोगाउन नसके हामीले हाम्रो इतिहास र मूल्य–मान्यता गुमाउनेछौँ , “धर्मको नाममा अधर्म गर्ने प्रवृत्तिलाई समाजले चिनेर निरुत्साहित गर्नुपर्छ। गण्डकीवासीले यो महायज्ञलाई भव्य बनाउनेमा म ढुक्क छु।” उनले युवा पुस्तालाई धर्म र संस्कृतिप्रति जागरूक बनाउनुपर्नेमा विशेष जोड दिए।
धर्मको नाममा अधर्म गर्नेहरु बिरुद्द प्रतिकार आबश्यक – सांसद शाही
महायज्ञमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य ज्ञानेन्द्र शाहीले धर्म विना राजनीति नहुने भएपनि अहिलेको अबस्थामा धर्मको मूल्य मान्यता हराउंदै गएको भन्दै चिन्ता व्यक्त गरे उनले धर्म संस्कृति र संस्कार बचाउन सके मात्र हाम्रा सन्तति पनि आफ्नो मूल्य मान्यता अनि परम्परा र संस्कारमा बाँच्न पाउने उनको भनाई थियो ।
सांसद शाहीले धर्मको नाममा अधर्म गर्नेहरू विरुद्ध कडा आक्रोश पोख्दै धर्मको नाममा कसैले अधर्म गर्छ भने ८१% हिन्दुहरु मिलेर प्रतिकार गर्न निस्किनुपर्नेमा जोड दिए उनले धर्म मान्नेले पाप नगर्ने भन्दै जसले धर्म नमान्नेहरु नै भ्रष्टाचारमा संलग्न हुने दाबि गरे ।