पोखरा, नेपाली काँग्रेसको केन्द्रीय सूचना संचार तथा प्रचार बिभागले नेपाली काँग्रेससंग सम्बन्धित प्रचार अभियानलाई तथ्यगत ढंगले कसरि अगाडी बढाउने भन्ने बिषयमा संचान गर्दै आएको प्रदेशस्तरीय कार्यक्रम गण्डकी प्रदेशको पोखरामा शनिबार सम्पन्न भयो। कार्यक्रममा गण्डकी प्रदेश अन्तर्गतका विभिन्न जिल्लाका सभापति सहित सचिब र प्रचार बिभागका प्रमुख, प्रदेश समितिका पदाधिकारी सहित प्रचार विभागका सदस्यहरु, गण्डकी प्रदेशबाट केन्द्रीय समितिमा प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यहरु लगायत पार्टीको विभिन्न तहको जिम्मेवारीमा रहेका नेता र विभिन्न भात्री र शुभेच्छुक संस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो।
कार्यक्रममा काँग्रेसको इतिहास र पार्टी नेतृत्वमा भए गरेका तथ्यगत विवरण सम्बन्धमा डा.जगत नेपाल र हरिबहादुर थापाले छुट्टाछुट्टै प्रस्तुती दिएका थिए । यसअगाडी कोशी प्रदेश, मधेश प्रदेश, लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा यस किसिमको कार्यक्रम सम्पन्न भैसकेको प्रचार विभागका प्रमुख समेत रहेका नेपाली काँग्रेसका केन्द्रीय सदस्य मिन बिश्वकर्माले गुरुकुल खबरलाई जानकारी दिए।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेसका प्रबक्ता एबं पुर्ब सहमहामन्त्री डा. प्रकाश शरण महतले कार्यक्रमको उद्घाटन गर्दै नेपाली काँग्रेस पुर्ब बिशिष्ट पदाधिकारी वा अरु कसैको पनि सेवा सुविधा बढाउने पक्षमा नरहेको स्पष्ट पारे । पूर्व पदाधिकारीको सेवा सुविधा बढाउन लागेको भन्दै सरकार र काँग्रेसको आलोचना भैरहेको बेला कांग्रेस प्रबक्ता डा. महतले भने, “कांग्रेस कुनै पनि पदाधिकारीहरुको कुनै पनि बहानामा सेवा सुबिधा बढाउने पक्षमा छैन, कांग्रेस कार्यकर्ता एबम नेताहरुले कागले कान लग्यो भनेर कान नछामी कागको पछि दौडिने उखानलाई सम्झेर कांग्रेस सेवा सुबिधा बढाउने पक्षमा नरहेको स्पष्ट सन्देश दिन सक्नुपर्यो ।”
कांग्रेस प्रबक्ता डा. महतले भने, अहिले प्रचारको महत्व धेरै छ, बोल्नेको पिठो बिक्छ, नबोल्नेको चामल बिक्दैन भने जस्तो कांग्रेसले आफुले गरेका कामको प्रचार प्रसार गर्नुपर्ने आबश्यकता छ।” महतले जनतामा केहि निराशा भएपनि कांग्रेसका नेताहरुले बिगतका कमि कमजोरीलाई सुधारेर कांग्रेसले राम्रो काम गर्छ भनेर जनतामाझ प्रस्तुत हुनेहो भने कांग्रेस थप बलियो हुने बिश्वास समेत ब्यक्त गरे । ‘हामीले नै निराशा ब्यक्त गर्ने र आत्मविश्वास गुमाउने हो भने जनताले पनि हामीलाई किन बिश्वास गर्ने ?’ महतले प्रश्न गरे।
अहिले कांग्रेसका नेता कार्यकर्ताहरुले कांग्रेसको नीति राम्रो नभएको भन्दै आलोचन गर्ने गरेको प्रसंग उल्लेख गर्दै डा. महतले नेपालका कम्युनिष्टहरुसहित अरुले पनि कांग्रेसको नीति अबलम्बन गर्दै आएको छन तर कांग्रेसका नेताहरुले नै कांग्रेसको नीति ठिक भएन भन्नु उपयुक्त नरहेको उल्लेख गरे।
नेपाल सरकारका पुर्ब अर्थमन्त्री समेत रहेका डा. महतले आर्थिक रुपान्तरणको एजेन्डालाई सशक्त बनाउनुपर्नेमा जोड दिदै युवाहरूलाई स्वदेशमा नै विभिन्न उपयोगी अवसर सिर्जना गर्नेतर्फ सरकार लाग्नुपर्नेमा समेत जोड दिए । उनले कृषिमा आधारित उद्यमशीलता बृद्धि गरिनुपर्ने आवश्यकता औंल्याउँदै सूचना प्रविधिको विकास र उपयोगमा पनि सरकारले गम्भीरतापुर्बक काम गर्न आग्रह गरे ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संसारको उत्कृष्ट राजनीतिक दर्शन नै नेपाली कांग्रेसले अबलम्बन गरेको कारण पार्टीलाई एकढिक्का बनाएर उच्च मनोबलका साथ् अगाडी बढाउने हो भने कांग्रेस कमजोर नबन्ने बताए। उनले २०४६ देखि हालसम्म नेपाली काँग्रेसको सरकार र दलीय ब्यबस्थाले गरेका कामको स्वेतपत्र जनतामाझ जारी गर्नुपर्ने खाँचो औंल्याए ।
पुर्ब राजा ज्ञानेन्द्र प्रति नागरिकहरुको आकर्षण बढेको कुराको चर्चा गर्दै मुख्यमन्त्री पाण्डेले भने, “२०६२/६३को आन्दोलनमा काठमाडौँको चक्रपथ अर्थात् २८/३० किलोमिटरलामो जुलुस लाग्ने गरेको र त्यसकै कारण राजसंस्था हटेको हो। तर, अहिले काठमाडौँको एयरपोर्टबाट गौशालासम्मको एक किलोमिटर लामो जुलुस देख्दा राजसंस्था आउने भयो भनेर हामि नै बहकिन थालेको छौं हामि यसरी बहकिन भएन।”
आफु सहित सरकारी सेवा सुबिधा प्राप्त गरेका जनप्रतिनिधिहरुले नै देश बिगारेको र उनीहरुले मात्र खाएको भन्ने जस्ता कुरा पार्टीका नेताहरुले नै भन्ने गरेको भन्दै मुख्यमन्त्री पाण्डेले पार्टीमा आन्तरिक अनुशासन हराउँदै गएकोले अनुशासन कायम गराउनका लागि आचारसंहिताको पालना हुनुपर्नेमा जोड दिए ।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबम पुर्ब मन्त्री शंकर भण्डारीले पार्टीको इतिहासको चर्चा गर्दा इतिहासलाई पूर्णता दिन जरुरी रहेको भन्दै संविधान निर्माणका सन्दर्भमा व्यक्त अभिमतलाई आत्मसात गर्न नसकेको कारण अहिलेको अवस्था उत्पन्न भएको बताए । उनले संविधानलाई सम्झौताको दस्ताबेज भनिएको र जनताबाट संकलित सुझाबलाई बेवास्ता गरिएको भन्दै नेपाली राजनीतिमा उत्पन्न बर्तमान चुनौतिको सहि समाधान गर्ने नसके कांग्रेसमाथि पनि संकट थपिने बताए।
नेता भण्डारीले लोकतन्त्र र प्रजातन्त्र अनि नेपाली काँग्रेसको नाममा जिन्दगि बिताउनेहरु र बिभिन्न किसिमको त्याग, संघर्ष र बलिदानबाट कांग्रेसको जग बनेको भएपनि अहिलेका अधिकांश नेताहरु पार्टी र संगठन अनि देश र जनता भन्दा आफु वा व्यक्ति केन्द्रित बन्नेगरेको भन्दै चिन्ता प्रकट गरे। कांग्रेस भित्र राजाबादी र हिन्दुवादी नेताको रुपमा परिचित भण्डारीले नारायणहिटीबाट बहिर्गमनमा परेका पुर्ब राजा ज्ञानेन्द्रले उग्रता र अहमता नदेखाएको तर दलीय व्यवस्थाका समर्थक अनि केहि कांग्रेस नेताहरुले राजसंस्थाप्रति कडा आलोचना गरेर कम्युनिष्टहरु संग मिल्ने गरेको भन्दै चिन्ता प्रकट गरे।
नेपाली काँग्रेसको केन्द्रीय सूचना, संचार तथा प्रचार विभागका प्रमुख रहेका पार्टीका केन्द्रीय सदस्य मिन बिश्वकर्माले काँग्रेसले मुलुकको विभिन्न तहका सरकारमध्ये बहुमत सरकारको नेतृत्व गरिरहेका अवस्थामा पनि कांग्रेसका कार्यकर्ता र जनताबाट निराशाका कुरा सुनिनु दुखद भएको प्रसंग उल्लेख गर्दै काँग्रेस नेतृत्वमा भए गरेका राम्रा कामको समेत प्रचार हुन नसकेको स्पष्ट पारे।
उनले सामाजिक संजालमा अन्य पार्टी र तिनको नेताको बिरोध प्रतिष्पर्धी र नागरिकबाट हुने गरेको भएपनि कांग्रेस पार्टी र नेताहरुको बिरोध अन्य पार्टीको कार्यकर्ताले भन्दा कांग्रेसकै कार्यकर्ताले गर्ने गरेको सुनाए । उनले पार्टीका नेता कार्यकर्ता आँफैं आँफैंमा एकले अर्कालाई आलोचना गर्ने प्रबृत्ति बढिरहनु चिन्ताको बिषय हो भन्दै कांग्रेसको इतिहास देखि कांग्रेसले देश र जनताको लागि गरेको कामको तथ्यगत ढंगको प्रचार नै अहिलेको आबश्यकता रहेकोमा जोड दिए।
अर्का केन्द्रीय सदस्य सरस्वती अर्याल तिवारीले कांग्रेसको सरकार रहंदा वा कांग्रेस नेताहरु बिपी कोइराला, किसुनजी, गिरिजाबाबु, सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री हुँदा भएका कामको दस्ताबेज तयार गरेर जनस्तरमा प्रबाह गर्नुपर्नेमा जोड दिंदै बर्तमान अबस्थामा पनि संघिय र प्रदेश सरकारमा रहेका मन्त्रीहरुलाई पार्टीले बोलाएर जनताको अपेक्षा अनुसारका काम गर्न सुझाब सहित निर्देशन गर्नुपर्ने खाँचो औन्ल्याईन।
नेपाली काँग्रेसका केन्द्रीय सदस्य गुरु बरालले सामाजिक संजाल मार्फत दलीय ब्यबस्था र कांग्रेस लगायतका ठुला दलका बारेमा समाजमा निराशा र आक्रोश पोख्ने प्रवृति बढिरहेको भन्दै कांग्रेसको प्रचार विभागले अगुवा कार्यकर्ता बोलाएर कांग्रेसको एतिहासिक तथ्य उजागर गर्ने कार्यक्रम गरेको भन्दै खुसि प्रकट गरे। कांग्रेसको आसन्न महाधिबेशन निर्धारित समयमै हुने भएपनि निरन्तर नकारात्मक प्रचार हुने गरेको भन्दै पुराना दल र स्थापित नेताहरुमाथि नकारात्मक ढंगबाट प्रहार हुनु दुखद भएको बताए ।
नेपाली काँग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले पार्टीको ऐतिहासिक मूल्य मान्यतालाई आत्मसात गर्न नसक्दा पार्टी कमजोर बन्दै गएको प्रजातन्त्रको बाटो छोडेर कांग्रेसले लोकतन्त्रको बाटो अपनाउनु भनेको कम्युनिष्टको बाटो पछ्याउनु हो भन्दै पार्टीका नेताहरुले पद र सुबिधा पाउने नाममा मुलुक र जनताको लागि गर्नुपर्ने कर्तब्य बिर्सिन नहुने स्पष्ट पारे ।
अर्का केन्द्रीय सदस्य आन्गेलु शेर्पाले पार्टीको जिम्मेवारीमा रहेर कम्जोर कुरा गर्ने, आत्मनिन्दा गर्ने र आफ्नो नेता र पार्टीको आलोचना गर्ने नैतिक अधिकार पार्टी कार्यकर्तामा नहुने बताए।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य शारदा पौडेलले काँग्रेसको इतिहास र विभिन्न तथ्यलाई जनस्तरमा प्रबाह गर्न सके राम्रो हुने बताउंदै २०१७ बाट २०८१ सम्म आइपुग्दा कांग्रेस झनै बलियो हुनुपर्नेमा कमजोर देखिनु चिन्ताको बिषय भएको बताईन।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य सीता देवकोटाले युवाहरुलाई आफ्नो ठाउँमा टिकाउन नसक्दा विदेश पलायन हुने क्रम बढेको भन्दै देश अप्ठेरो अबस्थामा पुगेको उल्लेख गरिन।
कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति किशोरदत्त बरालले राजनीतिक संस्कार कमजोर हुँदै गएको भन्दै चिन्ता प्रकट गरे भने। तनहु जिल्ला सभापति एबम गण्डकी प्रदेशका पूर्व मन्त्री जितप्रकाश आलेले सामाजिक संजालमा कांग्रेसको उपस्थिति कमजोर रहेको भन्दै नयाँ प्रबिधि र अभ्यासमा नेताहरु पनि अभ्यस्त हुनुपर्नेमा जोड दिए। यसैगरी नेपाली काँग्रेस कास्कीका पुर्ब सभापति शोभियत अधिकारीले नागरिकको असन्तुष्टि र नैराश्यतालाई सम्बोधन गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमको प्रारम्भमा सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमका संयोजक समेत रहेका सूचना संचार तथा प्रचार विभागका सदस्य गंगाधर पराजुलीले कांग्रेस पार्टी र नेताहरुको इतिहास गर्विलो भएपनि पछिल्लो समयमा बढ्दै गएको बेथिति, अनियमितता, ढिलासुस्ती जस्ता कारणले आमनागरिकमा निराशा बढ्दै गएको उल्लेख गरे।
पराजुलीले संबिधान संसोधन गर्ने, राजनीतिक स्थिरता कायम गर्ने र आर्थिक समृद्धि हासिल गर्ने लक्षका साथ बनेको बर्तमान सरकारले जनअपेक्षा अनुसारको काममा तिब्रता दिनुपर्नेमा जोड दिंदै कांग्रेसले आफ्नो नीति र बिचारलाई समयानुकुल परिमार्जित गर्न, संगठनलाई चुस्त बनाउन, भातृसंस्थाहरुको अधिबेशन समयमै गर्न र व्यक्ति भन्दा बिचार, पद भन्दा पद्दति, सत्ता भन्दा समाज र नेता भन्दा नीतिलाई आत्मशाथ गर्न सके निराशा र अशन्तुष्टी कम हुने बताए ।
कार्यक्रममा सहभागीहरुले पार्टीका नेताहरुलाई विभिन्न जिज्ञाशा समेत राखेका थिए। केन्द्रीय प्रचार विभागका सदस्य एवम् कार्यक्रम संयोजक पराजुलीको सभापतित्वमा सम्पन्न कार्यक्रमको संचालन संचारकर्मी समेत रहेकी कांग्रेस जिल्ला सदस्य दुर्गा अधिकारीले गरेकी थिइन भने पार्टीको गण्डकी प्रदेशका आमन्त्रित सदस्य समेत रहेका प्रचार विभागका उपप्रमुख शिरोमणि बरालले धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सामाजिक संजाल मार्फत नेपाली काँग्रेसको प्रचार प्रसारमा भूमिका खेल्ने मध्ये प्रत्येक प्रदेशमा एक एक जनालाई सम्मान गर्ने क्रममा गण्डकी प्रदेशमा पार्टीको गण्डकी प्रदेश सदस्य जिबन बाँस्तोलालाई प्रचार विभागको तर्फबाट सम्मान गरिएको प्रचार बिभागका सचिब गोपाल झाले जानकारी दिए ।
तस्बिर – शिरोमणी बराल