Play

नेपाल लिटरेचर फेस्टिभल पोखरामा शुरु, साहित्य परिवर्तनको सम्वाहक रहेको संचारमन्त्री गुरुङको भनाई

गुरुकुल खबर


पोखरा, पर्यटकीय राजधानी पोखरामा बिहीबारदेखि एनसेल फाउन्डेसन ‘नेपाल लिटरेचर फेस्टिभल २०२५’ सुरु भएको छ । बुकवर्म फाउन्डेसनको आयोजनामा हुन लागेको बाह्रौं संस्करणको फेस्टिभल फेवाताल किनारको बाराही घाट मैदानमा फागुन १८ सम्म चल्ने छ । ‘साहित्यको कुम्भमेला’ मानिने फेस्टिभलको उद्घाटन गर्दै नेपाल सरकारका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताए । १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए ।

भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरुङले बताए । उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री गुरुङले भने, “यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।” उनले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताए । सञ्चारमन्त्री गुरुङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताए । पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उनको भनाइ थियो ।

चार दिनसम्म चल्ने उक्त साहित्य महोत्सवको उद्घाटनसत्रमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले प्रवचन दिएका थिए । उनी इन्दिरा गान्धी ओपेन यूनिभर्सिटीको प्रो–उपकुलपति र भारतको सिक्किम विश्वविद्यालयका संस्थापक उपकुलपति हुन् । उनी भारतको राष्ट्रिय केन्द्रीय विश्वविद्यालयको सबैभन्दा कान्छा उपकुलपति समेत बनेका थिए ।

महोत्सवमा नेपाल तथा अन्य मुलुकका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहने आयोजकको भनाई छ।

पचासभन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि यसमा समावेश छन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने बताइएको छ ।

उद्घाटन समारोहपछि अध्यात्म र संघर्षमाथि ‘अलि अलि हार हो, अलि अलि जित जित !’ सत्रमा अभिनेत्री मनीषा कोइराला र लेखक एवम् पत्रकार विजय कुमारको संवाद हुनेछ । त्यसपछि कान्ति शेरचन र कविता शेरचनसँग वसन्त थापाले संवाद गर्नेछन् । सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरूङसँग विजय तिमल्सिनाले सञ्चार क्षेत्रमाथि केन्द्रीत संवाद गर्ने भारीले जानकारी दिए ।

गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग भरत कोइरालाले प्रदेश सरकारका गतिविधि, अवसर र चुनौतीलगायत विषयमा संवाद गर्ने आयोजकले जनाएको छ । ‘रैथाने ज्ञानको विज्ञान’ सत्रमा सीता मादेम्बाले सुभाष नेपाली, गीता चौधरी र सुरेश ढकालसँग संवाद गर्ने फेस्टिभलका कार्यकारी निर्देशक अजित बरालले जानकारी दिए ।

नेकपा (एमाले) नेता एवं गण्डकीका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले राजनीतिका सुःख–दुःख सुनाउने छन् । उक्त सत्रको सहजकर्ता निर्मला शर्मा रहेकी छन् ।  केशवशरण लामिछानेले प्रेम र साहित्यमाथि केन्द्रीत रहेर भावेश भुमरी र प्रणिता चाम्लिङसँग संवाद गर्नेछन् । ओमविक्रम विष्टको सांगीतिक प्रस्तुति र गौरी तमुले प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापासहित विष्णु सिञ्जाली र जुनाकुमारी गुरूङसँग गण्डकीका गुरूङ र मगर भाषाको विषयमा संवाद गर्ने कार्यक्रम पनि तय गरिएको छ  ।

कलाकार लोक चित्रकारको पौभा चित्रकला प्रदर्शनी फेस्टिभलको मुख्य आकर्षण रहेको आयोजक समितिका सदस्य केशवशरण लामिछानेले जानकारी दिए । फेस्टिभलमा छुट लिएर स्टलबाट पुस्तक पनि खरिद गर्न सकिने छ ।

यसपटक फेस्टिभलमा देश–विदेशका दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकार, सम्पादक एवम् विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहने र ५० भन्दा बढी छलफल सत्र, अन्तक्र्रियात्मक कार्यक्रम, सांगीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि समावेश छन् ।

फेस्टिभलमा साहित्यसँग जोडिएका सामाजिक, राजनीति, आर्थिक, नवीन प्रविधि, सिनेमालगायत विविध क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुनेछ । परम्परागत धुन र लयहरूलाई समकालीन परिवेश सुहाउँदो स्वरूप दिने सांगीतिक समूह ‘सोनागी ब्लुज’ले पनि फेस्टिभलमा प्रस्तुति दिनेछ । काठमाडौँ विश्वविद्यालयको संगीत विभागका विद्यार्थीहरूको सामूहिक परियोजनाका रूपमा सुरू भएको यस ब्यान्डको संगीतमा नेपाली लोक, रक र भारतीय शास्त्रीय संगीतको समिश्रण सुन्न सकिन्छ ।

फेस्टिभलको यो संस्करणमा दुई फरक पुस्ताका लेखकको पुस्तकमाथि विमर्श हुनेछ । अग्रज वामपन्थी नेता एवम् नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहद्वारा लिखित उपन्यास ‘कामरेड जलजला’माथि विमर्श हुने र ६ वर्षीय भूमिलक्ष्मी पराजुलीको ‘मरमेड, ह्वेल एन्ड प्रिन्सेस’ नामक चित्रकथा पुस्तक सार्वजनिक गरिने फेस्टिभलका निर्देशक अजित बरालले जानकारी दिए ।

१५ फाल्गुन २०८१, बिहीबार १७:३७ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा