Play

कुश्माको द क्लिफमा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ शुरु, प्रेमदिवसको दिनबाट जोडीले संगै बन्जी गर्नसक्ने

गुरुकुल खबर


पर्वत, पर्बत जिल्लाको कुश्मास्थित ‘द क्लिफ’मा विश्वकै लामो र अग्लो ‘मेगाट्रोल’ सञ्चालनमा आएको छ । साहसिक पर्यटनका लागि प्रमुख गन्तव्य बन्दै गएको द क्लिफमा सञ्चालनमा आएको मेगाट्रोल २५५ मिटर अग्लो र लम्बाइ एक हजार २२८ मिटर छ ।

बलेवास्थित द क्लिफ परिसरमा रहेको टावरदेखि कुश्माबजारभन्दा मुनि रहेको टावरसम्म मेगाट्रोलमा यात्रा गर्न सकिन्छ । यसमा एकै पटकमा तीन जनासम्म खेल्न सकिने जनाइएको छ । मेगाट्रोलमा एक्लै वा जोडीसँगै पनि खेल्न सकिने द क्लिफका अध्यक्ष राजु कार्कीले जानकारी दिए। कार्कीका अनुसार मेगाट्रोलको गति प्रतिघण्टा १४० किलोमिटरको हुनेछभने एक पटकमा सातदेखि १२ मिनेटसम्म लाग्छ ।

मेगाट्रोल सञ्चालनका लागि रु चार करोड लगानी गरिएको कार्कीले बताए । “मेगाट्रोल पनि साहसिक गतिविधिमै पर्छ, यसले जिपलाइन र रोलरकोस्टरको अनुभव दिन्छ”, उनले भने, “एक वर्षअघि निर्माण सुरु गरिएको मेगाट्रोल बिहीबारदेखि व्यावसायिक रुपमा सञ्चालन गरिएको छ ।” दुई साताअघि नै यसको सफल परीक्षण गरिएको थियो ।

‘द क्लिफ’ले भ्यालेनटाइन डेका अवसर पारेर जोडी बञ्जीसमेत सञ्चालन गरेको छ । यसअघि एकजना मात्र बञ्जी गर्न मिल्नेमा दुईजना एकैसाथ मिल्नेगरी सञ्चालनमा ल्याइएको अध्यक्ष कार्कीले बताए ।

विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, स्वीङ, स्काई साइक्लिङ, गुलेली पिङ, स्काई क्याफेलगायत साहसिक पर्यटकीय गतिविधिका साथै सुविधासम्पन्न रिसोर्टको सुविधा उपलब्ध गराइरहेकामा अब पर्यटकलाई मेगाट्रोल पनि नियमित रुपमा सञ्चालनमा ल्याइएको उनले जानकारी दिए ।

“कालीगण्डकी नदीको मनोरम दृश्य हेर्दै मेगाट्रोलको अनुभव लिन सकिन्छ, यहाँ आउने पर्यटकका लागि थप सुविधा उपलब्ध गराउन पाएकामा निकै खुसी लागेको छ,” उनले भने, “यसले पर्यटनसँगै आर्थिक र सामाजिक विकासमा थप भूमिका निर्वाह गर्ने हाम्रो अपेक्षा छ ।”

अध्यक्ष कार्कीले मेगाट्रोल गर्नेका लागि एक जनाको रु चार हजार र तीनजनाले नै गरेमा रु नौ हजार पांचसय शुल्क निर्धारण गरिएको छ । योसँगै साहसिक स्वीमिङ पुललगायतका संरचनाहरु पनि निर्माण भइरहेको द क्लिफका संचालक नेत्र पराजुलीले गुरुकुल खबरलाई जानकारी दिए । कालीगण्डकी करिडोर र मध्यपहाडी लोकमार्ग कालोपत्र भएपछि यहाँआउने पर्यटकहरुको संख्या उल्लेख्य मात्रामा बढेको छ ।

द क्लिफको प्रवेश मार्गमा द क्लिफका संचालक नेत्र पराजुलीसंगै गुरुकुल खबरका प्रधान सम्पादक गंगाधर पराजुली 

२ फाल्गुन २०८१, शुक्रबार १२:४२ मा प्रकाशित
Nabintech
  • सुचना विभाग दर्ता न. : ३११६-२०७८/७९
  • गोल्डेन मिडिया ग्रुप प्रा.लि. द्वारा संचालित
  • कार्यालय : पोखरा -०५, गण्डकी प्रदेश, कास्की
  • सम्पर्क नं. : 061-531533 / 9856022332
  • इमेल : [email protected]
Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा