पोखरा, एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगितामा शनिबार दोस्रो क्वालिफायरका खेल हुने भएका छन् । टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा जारी उक्त प्रतियोगिताको आठौं दिन शनिबार पुरुष र महिलातर्फ दोस्रो क्वालिफायरका खेल हुने तालिका छ ।
पोखरा रंगशालास्थित भलिबल कोर्टमा हुने पहिलो खेल महिलातर्फको क्वालिफायर हुनेछ । बिहान ११ बजेबाट सुरु हुने उक्त खेलमा आयोजक टाइगर ग्रुप र टिपटप न्यू डायमण्ड स्पोर्टस क्लबबिच हुनेछ । टाइगर ग्रुप पहिलो क्वालिफायरमा सशस्त्र प्रहरी बल एपिएफसँग पराजित हुँदै दोस्रो क्वालिफायरमा पुगेको थियो । आयोजकलाई हराएको एपिएफ फाइनलमा पुगेको छ । न्यू डायमण्डले एलिमिनेटरमा नेपाल पुलिस क्लबलाई पराजित गर्दै दोस्रो क्वालिफायरमा स्थान सुरक्षित गरेको हो ।
दोस्रो खेल पुरुषतर्फको दोस्रो क्वालिफायर हुनेछ । साढे १ बजेबाट सुरु हुने उक्त खेल त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबिच हुने प्रतियोगिता संयोजक रामकृष्ण ज्ञवालीले जानकारी दिए । आर्मी पहिलो क्वालिफायरमा पुलिससँग पराजित भएको थियो । गण्डकीले एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गरेको थियो । दुवैतर्फको फाइनल खेल आइतबार हुनेछ ।
यस अगाडी भएको एलिमिनेटरमा भारतको सुनिल भलिबल क्लबलाई पराजित गर्दै गण्डकी प्रदेश पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फ दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो । पोखरा रंगशालामा शुक्रबार भएको खेलमा सुनिल क्लबलाई ३–१ ले पराजित गर्दै गण्डकीले दोस्रो क्वालिफायरको यात्रा तय गरेको हो ।
पहिलो सेट गुमाएको गण्डकीले दोस्रो, तेस्रो र चौथो सेटमा पुनरागमन जित निकाल्दै दोस्रो क्वालिफायरमा आफ्नो स्थान सुरक्षित गर्न सकेको हो । गण्डकीले पहिलो सेट ३१–३३ ले गुमाएको थियो । गण्डकीले १६–११ को अग्रतालाई जोगाउन नसक्दा पहिलो सेट गुमाउनु पुग्यो । तर, दोस्रो, तेस्रो र चौथो सेटमा भने उत्कृष्ट पुनरागमन गर्न सफल भयो ।
गण्डकीले दोस्रो सेट २५–१७, तेस्रो सेट २५–१६ र चौथो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो । अब गण्डकीले फाइनल प्रवेशका लागि शनिबार त्रिभुवन आर्मी क्लबसँग खेल्नेछ । आर्मीले पहिलो क्वालिफायरमा नेपाल पुलिस क्लबसँग ३–२ सेटले पराजित भएको थियो ।
यसअघि शुक्रबार बिहान भएको खेलमा आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बल एपिएफ पोखरामा जारी एनसेल पाँचौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय भलिबल प्रतियोगिताको फाइलनमा प्रवेश गरेको हो । पोखरा रंगशालामा शुक्रबार बिहान भएको खेलमा आयोजक टोलीलाई ३–१ ले पराजित गर्दै डिफेन्डिङ च्याम्पियन एपिएफ फाइनलमा स्थान सुरक्षित गरेको हो ।
पहिलो सेट २५–२० ले आफ्नो पक्षमा पारेको एपिएफले दोस्रो सेट २१–२५ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो । तेस्रो सेट २५–१९ र चौथो २६–२४ ले जित निकाल्दै एपिएफले फाइलन यात्रा तय गरेको हो । खेलको टाइगर अफ द म्याच निरुता ठगुन्ना र स्पाइकर अफ द म्याच सरस्वती चौधरी बनिन् ।
पराजित भएको आयोजक टाइगर ग्रुपले शनिबार फाइलन प्रवेशका लागि टिपटक न्यू डायमण्ड स्पोटर््स क्लबसँग प्रतिष्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेताले ५ लाख ८५ हजार ५५५ रुपैयाँ पुरस्कार पाउनेछ । दोस्रो हुनेलाई २ लाख ८५ हजार ५५५ र तेस्रो हुनेलाई १ लाख ८५ हजार ५५५ रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।