पोखरा, नेकपा एमालेका केन्द्रीय सदस्य किशोर बिक्रम मल्ललाई प्रहरीले पक्राउ गरेको छ मल्ललाई सोमबार पक्राउ गरी काठमाडौँको महाराजगन्ज प्रहरी वृत्तमा राखिएको छ। मल्ल नेकपा एमालेको बिद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियनमा लामो समय सक्रिय थिए उनि संगठनको केन्द्रीय अध्यक्ष समेत बनेका थिए।
नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का इन्चार्ज समेत रहेका मल्ल विरुद्ध एमालेकै केन्द्रीय सदस्य पुष्पराज पहराईले २० लाख ५० हजार रुपैयाँको चेक अनादर गरेको आरोपमा जाहेरी दिएका थिए। पहराईले दिएको जाहेरीपछि अदालतबाट पक्राउ अनुमति लिएर प्रहरीले मल्ललाई नियन्त्रणमा लिएको बुझिएको छ।
प्रहरीका अनुसार मल्लले पहराईलाई दिनुपर्ने २० लाख ५० हजार रुपैयाँको चेक दिए पनि खातामा पर्याप्त रकम नभएको कारण चेक अनादर भएको थियो। यता, मल्लले भने आफूले उक्त रकम भुक्तानी गरिसकेको दाबी गरेका छन्। प्रहरीले प्रारम्भिक अनुसन्धान जारी राखेको र थप निर्णय अनुसन्धानपछि लिइने जनाएको छ।
किशोरविक्रम मल्ल २०७० सालको निर्वाचनमा तत्कालीन एमाले अध्यक्ष केपी शर्मा ओलीको समूहबाट अनेरास्ववियुको अध्यक्षमा निर्वाचित भएका थिए।