Play

रवि लामिछाने तर्फका वकिलको बहस सकियो, समर्थकद्वारा ओली र थापा बिरुद्द नाराबाजी

गुरुकुल खबर


पोखरा, सहकारीको रकम अपचलन गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम पूर्व उपप्रधानमन्त्री रवि लामिछानेका तर्फबाट कास्की जिल्ला अदालतमा जारी बहस सकिएको छ । लामिछाने तर्फका कानुन व्यवसायीहरु सुशील पन्त, रमण श्रेष्ठ, सुरेन्द्र थापा लगायतले बहस गरेको थिए ।

अधिबक्ता रोहित बास्तोलाले जनाए अनुसार लामिछानेका तर्फबाट उभिएका कानुन व्यवसायीको बहस सकिएको हो । अब एक दुई जनाको बहस बाँकी रहेकाले बुधबार पनि निरन्तर रहने जिल्ला अदालत कास्कीले जनाएको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरण, संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने कात्तिक २ गतेदेखि कास्की प्रहरीको हिरासतमा रहेका छन् ।

प्रम ओली र कांग्रेस महामन्त्री थापा बिरुद्द लामिछाने समर्थकको नारा 

यसैबीच रास्वपा सभापति रवि लामिछानेका समर्थकले कास्की जिल्ला अदालतको परिसर बाहिर प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका छन् । अदालतमा बहस सकेर कास्की प्रहरीको हिरासतमा लामिछानेलाई फर्काउने क्रममा   त्यहाँ जम्मा भएका उनका समर्थकले हात हल्लाएर नाराबाजी गरेका थिए।

उनीहरुले प्रधानमन्त्री ओलीविरुद्ध मात्र नभएर नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध पनि नाराबाजी गरेको प्रत्यक्षदर्शीहरुले जनाएका छन।

न्यायाधिस नितिज राईको इजलाशमा बहस जारी 

सूर्यदर्शन सहकारी प्रकरणमा रविसहित ७ जना प्रतिवादीको न्यायाधीश नीतिज राईको इजलासमा बहस भइरहेको छ । अहिलेसम्म रविसहित पूर्व डिआईजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी र देशभर सहकारीको जालो फिँजाएर रकम हिनामिना गरेको आरोप लागेका जीबी राईसँग मिलेर अपचलन गरेको आरोप लागेकी लिला पछाईँको बहस सकिएको छ ।

रविको बहस सकिएलगत्तै जीबी राईका साझेदार नेचर हब्र्सका सञ्चालक रामबहादुर खनालको सुरु भएको छ । पूर्व सांसदसमेत रहेकी सूर्यदर्शन सहकारीको संस्थापक उपाध्यक्ष मीना गुरुङ, पूर्व सञ्चालक उनकै बाबु कृष्णबहादुर गुरुङ, पूर्व कोषाध्यक्ष आरती गुरुङको बयान बाँकी छ ।

लामिछानेसहित ४४ जनाविरुद्ध पुस ७ गते पुरक अभियोजन र जीवी राईसहित १९ जनाविरुद्ध पुस ५ गते थप अभियोजन कास्की जिल्ला अदालतमा दर्ता भएको हो । गत १८ असोज, २०८० मा राईलगायतको समूहविरुद्ध मूल मुद्दा दायर भएको थियो । त्यतिबेला दायर मुद्दामा १ अर्ब ११ करोड ३४ लाख ४३ हजार ४५ रुपैयाँ बिगो माग गरिएको थियो ।

पुरक जाहेरीका आधारमा दर्ता भएको थप र पुरक अभियोजनमा कुल ६३ जनाबाट १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गरिएको छ । मुद्धा चल्नेमा ८ वटा कम्पनीहरू हुन् भने ५ जनाविरुद्ध जफत प्रयोजनका लागि मुद्दा चलेको हो।रविलाई सहकारी ठगीमा ३ करोड ३७ लाख ६५ हजार र सम्पत्ति शुद्धीकरणतर्फ २७ करोड ८९ लाख ८४ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

जीबीमाथि एक अर्ब ८६ करोड ७३ लाख १९ हजार ५ सय ८ रुपैयाँ बिगो दाबी गरिएको छ । छविलालमाथि ७४ करोड ३४ लाख ७१ हजार ५५ रुपैयाँ बिगो दाबी गरिएको छ ।

रामबहादुरमाथि १४ करोड ३० लाख ९१ हजार ९ सय ११ रुपैयाँ बिगो दाबी गरिएको छ भने लिला पछाईमाथि २४ करोड ६७ लाख ७ हजार ३४ रुपैयाँ बिगो दाबी गरिएको छ ।

संस्थापक उपाध्यक्ष मीना गुरुङ, कोषाध्यक्ष आरती गुरुङ, सञ्चालक कृष्णबहादुरसहित १० जनाविरुद्ध सामूहिक ५३ लाख ७६ हजार रुपैयाँ बिगो माग दाबी गरिएको छ ।

२३ पुष २०८१, मंगलवार १८:०० मा प्रकाशित
Nabintech