Play

सहकारी ठगि आरोपमा पक्राउ परेका रबि सहित चारजनालाई थप १३ दिन हिरासतमा राख्न अनुमति

गुरुकुल खबर


पोखरा, सहकारीको रकम अपचलन गरेको आरोपमा कास्कीमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एबम पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप १३ दिन हिरासतमा राख्न कास्की जिल्ला अदालतले अनुमति दिएको छ । आइतबार कास्की जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले रविलाई थप १३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।

सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि २ कात्तिकमा पक्राउ परेका लामिछानेमाथि प्रहरीले सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दामा पनि अनुसन्धान गरिरहेको छ ।

पूर्व उपप्रधानमन्त्री समेत रहेका गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक तथा सञ्चालक रविसँगै गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशी, नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनाल र जीबी राईसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लिला पछाईं गरि चार जनालाई नै १३ दिनको म्याद थप भएको छ । अनुसन्धानका लागि अदालतले पछिल्लो पटक दिएको म्याद सकिएपछि रविमाथि थप अनुसन्धान गर्नका लागि पुनः म्याद थप गरिएको हो।

पोखराको सूर्यदर्शन सहकारीको रकम गोर्खा मिडियामा र जीबी राईसँग मिलेर अपचलन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरी प्रहरीले अनुसन्धान गरिरहेको छ ।

पोखराको सूर्यदर्शन सहकारीबाट करिब डेढ अर्ब अपचलन भएको छ । जसमा गोर्खा मिडियामा ५ करोड रुपैयाँ गएको भन्दै रविसहित छविलाल, जीबी राई, कुमार रम्तेललाई कारबाही गर्न संसदीय छानबिन विशेष समितिले सिफारिस गरेको थियो । रवि, छविमाथि अहिले अनुसन्धान भइरहेको छ भने कुमार रम्तेल पुर्पक्षका लागि कास्की कारागारमै छन् । जीबी भने अहिलेसम्म फरार छन् ।

यसै बीच सहकारी ठगी प्रकरणमा पक्राउ परेका बाग्लुंगको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका सूर्यदर्शन सहकारीका पूर्व उपाध्यक्ष देवकुमार नेपालीलाई पनि कास्की झिकाएर आइतबार नै बयान लिइएको प्रहरीले जनाएको छ।

२५ कार्तिक २०८१, आईतवार १९:४३ मा प्रकाशित
Nabintech