काठमाडौँ, जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठलाई बिनासर्त तत्काल रिहा गर्न नेपाल पत्रकार महासंघले माग गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कलाकार हिमेश पन्तले साइबर ब्युरोमा दिएको उजुरीका आधारमा प्रहरीले श्रेष्ठलाई नियन्त्रणमा लिएर साइबर ब्युरोमा लागेको घटनाप्रति महासंघले आपत्ति जनाउंदै तत्काल रिहा गर्न आदेश दिएको हो ।
पन्तका परिवारले धादिङमा छिमेकीको १० रोपनी जग्गा हडपेको विषयमा जनआस्था साप्ताहिकमा समाचार प्रकाशित भएको थियो । उक्त समाचारलाई लिएर परेको उजुरीका आधारमा एसएसपी सन्तोष खड्का सहितको प्रहरी टोलीले शनिबार ललितपुरको नख्खुस्थित निवासबाट श्रेष्ठलाई पक्राउ गरेर साइबर ब्युरोमा लागेको महासंघले जनाएको छ ।
समाचारमा चित्त नबुझेका विषय भए प्रचलित विधिअनुसार समाधान खोज्नुपर्नेमा साइबर ब्युरोमार्फत पक्राउ गर्नु प्रेस स्वतन्त्रता र संविधान विपरीत भएको महासंघको ठहर छ । महासंघले प्रेस काउन्सिल नेपालको क्षेत्राधिकारसमेत मिचेर राज्यसत्ताको आडमा स्वेच्छाचारी शैली अपनाइएको भन्दै घटनाको भर्त्सना गरेको छ। यस्तो घटनाले लोकतान्त्रिक मूल्य–मान्यता र स्वतन्त्र प्रेसका विश्वव्यापी मान्यताको उपहास गरेको महासंघको भनाइ छ ।
महासंघका महासचिव रामप्रसाद दाहालले आइतबार जारी गरेको विज्ञप्तिमा पत्रकार श्रेष्ठलाई तत्काल बिनाशर्त रिहा गर्न सरकारको ध्यानाकर्षण गराइएको छ । समाचारसम्बन्धी विवाद भए सम्बन्धित निकायमार्फत समाधान खोज्न पनि महासंघले सम्बद्ध पक्षलाई सचेत गराएको छ ।













