पोखरा, नेपाली काँग्रेस निकट कर्मचारीहरुको संस्था नेपाल निजामती कर्मचारी युनियनको समावेशी विभागले आयोजना गरेको दुईदिने भेला तथा प्रशिक्षण कार्यक्रम तनहुँको बन्दिपुरमा सम्पन्न भएको छ । भेलामा निजामती कर्मचारीको युनियनमा समावेशी सहभागिताको विषय सहित संगठन सुदृढिकरण, निजामती कर्मचारीहरुको नेतृत्व बिकास लगायत बिषयमा प्रशिक्षण दिइएको थियो ।
भेलामा युनियनको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिका पदाधिकारी एबम सदस्यहरु समेत गरि १ सय ५० जना भन्दा बढीको सहभागीता रहेको थियो ।
भेलाको उद्घाटन नेपाली काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङले गरेका थिए त्यस अबसरमा बोल्दै गुरुङले निजामती कर्मचारीहरुको वृतिबिकासको लागि यस्ता कार्यक्रम लाभदायी रहेको बताउनुभयो । राष्ट्रसेवक कर्मचारीहरुले छिटोछरितो सेवा प्रवाह गरेमात्र सरकारको प्रभावकारिता देखिने गुरुङको भनाई थियो ।
युनियनका केन्द्रिय उपाध्यक्ष पुरन गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै केन्द्रीय उपाध्यक्ष गुरुङले निजामती क्षेत्रमा समावेशी सहभागितालाई प्राथमिकताकासाथ राखिनुपर्नेमा जोड दिए ।
कार्यक्रममा युनियनका पूर्व केन्द्रिय वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारी, युनियनका गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मी, केन्द्रिय सदस्य यमप्रसाद शर्मा, नवीन पन्थी लागायतले निजामति कर्मचारीहरुले भोग्नुपरेका समस्या र सरकारले गर्नुपर्ने कामका बारेमा चर्चा गर्दै संगठन र नेतृत्व सक्षम हुनुपर्नेमा जोड दिएका थिए ।
कार्यक्रममा नेपाल निजामति कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश श्रेष्ठले संगठनलाई गतिशिल बनाउन यस किसिमका भेला र प्रशिक्षण कार्यक्रम उपयोगी हुने बताए । युनियनका केन्द्रिय सदस्य चित्रा ढकालले स्वागत मन्तव्य राख्दै निजामती कर्मचारीहरुको आवश्यकता र जिम्मेवारीका बारेमा प्रकाश पारेकी थिइन ।
सो भेलामा आन्तरिक पर्यटन प्रवद्र्धन गर्दै लाखे नाच सहित प्रभात फेरी र र्याली समेत गरिएको युनियनले जनाएको छ।