Play

मिठा पान खानेलाई पनि मापसे गरेको भन्दै प्रहरी कारबाही ? मेशिन खराब कि नियत ?

गुरुकुल खबर


पोखरा,  सडकमा सर्बसाधारणलाई रोकेर मादक पदार्थ सेवन गरेको वा नगरेको भनेर चेकजांच गर्ने प्रहरीले मिठा पान खाएको व्यक्तिलाई समेत मादक पदार्थ सेवन गरेको भनेर कारबाही गर्ने प्रयास गरेको भेटिएको छ। मादक पदार्थ सेवन नगरेको तर मिठा पान मात्र खाएको व्यक्तिलाई समेत मादक पदार्थ सेवन गरेको भन्दै प्रहरीले कारबाही गर्ने प्रयास गरेका व्यक्ति हुन्, सन्चो मेडिकल, जिरो किलोमिटरका संचालक तथा स्वास्थ्यकर्मी ‘कृष्ण पाण्डे’ ।

औषधि ब्यबसायी संघ गण्डकी प्रदेशका पूर्व अध्यक्ष समेत रहेका पाण्डेले शनिबार बेलुका करिब साढे दस बजेतिर पोखराको सृजनाचोकमा दुई वटा मिठा पान किनेका थिए। त्यसपछि उनले एउटा मिठा पान खाएको र अर्को पकेटमा राखी गाडी चलाएर जिरो किलोमिटर हुँदै घर तर्फ लागेको थिए । सोहि क्रममा जिरोकिलोमिटर नजिक सडकमा चेकजांचमा बसेको प्रहरीले उनलाई मादक पदार्थ सेवन गरेको आशंकामा मेशिन लगाएर चेकजांच गर्यो र भन्यो। “तपाइले मादक पदार्थ सेवन गर्नुभएको छ कागज पत्र दिनुस।”

पाण्डेले प्रहरीसंग मादक पदार्थ सेवन नगरेको भनेर जति भने पनि प्रहरीले मानेन । प्रहरीले पटक पटक त्यहि मेशिनले चेकजांच गरेको तर जति पटक चेक गर्दा पनि अल्कोहल डीटेक्टेड अर्थात् मादक पदार्थ सेवन गरेको भन्ने नै देखाएपछि पाण्डेले बाध्य भएर आफ्नो सवारी साधनको बिलबुक र लाइसेन्स समेत प्रहरीलाई दिएको उनले आफ्नो सामाजिक संजाल फेसबुकमा लेखेका छन ।

आफुले मादक पदार्थ सेवन नगर्दा पनि सेवन गरेको देखिएपछि उनले प्रहरीसंग अर्को अनुरोध गरे र भने “मेरो छोरालाई म संग भएको मिठा पान खुवाएर चेक गरौँ” प्रहरीले उनको अनुरोध स्वीकार गर्यो र त्यसै गर्यो । तर पहिले चेकजांच गर्दा मापसे नदेखिएको छोरामा यसपटक भने मापसे गरेको देखियो।

त्यसपछि मात्र प्रहरी मिठा पान नखाएको बेला पाण्डेको छोरालाई जाँच्दा मादक पदार्थ सेवन गरेको नदेखिनु तर मिठा पान खाएपछि छोराले पनि मादक पदार्थ सेवन गरेको देखिनुले मेशिनमा नै खराबी भएको हुनसक्छ भन्ने निष्कर्षमा पुगेको थियो । त्यसपछी भने प्रहरीले पाण्डेको बिलबुक र लाइसेन्स फिर्ता गर्न बाध्य भएको थियो । शायद स्वास्थ्यकर्मी भएको र प्रहरी संग प्रतिबाद गर्न नसकेको भए उनि पनि अन्य सर्बसाधारण जस्तै मापसे गरेको अभियोगमा सजायंको भागीदार बन्ने थिए होला तर उनले सडकमा मानसिक तनाब वा यातना बाहेक अरु भोग्नुपरेन।

प्रहरीले आम सर्बसाधारणलाई सडकमा लुकेर बसी चेकजांच गर्ने गरेको र सर्बसाधारणबाट अनाबश्यक रुपमा पैसा असुल्ने गरेको आरोप लाग्दै आएको बेला चेकजांच गर्न प्रयोग गर्ने मेशिन समेत बिग्रेको लिएर बस्ने र सबैलाई मादक पदार्थ सेवन गरेको आरोपमा कारबाही गर्ने प्रवृतिलाई सर्बसाधारणले निन्दनीय मानेका छन।

पाण्डेको फेसबुक पोस्टमा धेरै सर्बसाधारणले कमेन्ट प्रहरीको कार्यशैली र उनीहरुले प्रयोगमा ल्याउने उपकरणको आलोचना गरेका छन् भने कतिपयले अब मदिरा सेवन गर्नेले पनि पान खाएको भन्न मिल्ने भयो भन्दै टिप्पणी गरेका छन्।

सामाजिक संजालमा पाण्डेले राखेको पोस्ट ..

२३ भाद्र २०८१, आईतवार ११:५७ मा प्रकाशित
Nabintech