Play

मुख्यमन्त्री पाण्डेद्वारा कर्मचारीलाई चेतावनी- ‘वृत्तिविकास र अधिकारको लागि भन्दै कार्यालय छोडेर नहिँड्नु’

गुरुकुल खबर


पोखरा,  गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जनताको काम छाडेर आफ्नो वृत्ति विकास र अधिकार भन्दै नहिँड्न कर्मचारीलाई चेतावनी दिएका छन् । निजामती सेवा दिवसको अवसरमा शनिवार आयोजित कार्यक्रममा कर्मचारीले राखेका विभिन्न माग सुनेपछि मुख्य मन्त्री पाण्डेले कार्यालय समयमा कर्मचारीहरु जम्मा भएर आफ्नो हक अधिकार, सेवा सुविधाका लागि भन्दै मुख्यमन्त्री र मन्त्री तथा उच्च तहका कर्मचारी भेट्दै हिड्नु राम्रो नभएको बताएका हुन।

मुख्यमन्त्री पाण्डेले कर्मचारीहरुलाई ‘कार्यालय समयमा तपाईहरु आफ्नो अधिकारको कुरा गर्दै अन्यत्र भेटघाटमा जाने, अनि कार्यालयमा कामको लागि आएका सेवाग्राहीलाई सेवा दिने कसले ? भनि प्रश्न गरे । उनले नागरिकहरुको काम प्रभावित हुन नहुने र समयमै नागरिकले सेवा पाउनुपर्ने भन्दै आफ्नो जिम्मेवारी पुरा गर्न कर्मचारीहरुलाई सचेत गराए ।

पछिल्लो समय प्रदेश निजामती ऐनमा संशोधन गर्नुपर्ने लगाएतका विभिन्न विषय लिएर तथा मन्त्री, मुख्य मन्त्री र सरुवा बढुवा भएका कर्मचारीहरुलाई खादामाला लगाउन दिनहुजसो कर्मचारीहरु जाने गरेको छन। कर्मचारीहरुले ट्रेड युनियन संगठन वा बिभिन्न संगठनको नाममा समूह बनाएर कार्यलय समयमा नै मुख्यमन्त्री कार्यलय, मन्त्रालय धाउने गरेपछि मुख्यमन्त्री पाण्डेले आफ्ना माग राख्दा वा भेटघाटमा जाँदा समयको ख्याल गर्न निर्देशन सहित चेतावनी दिएका हुन्।

कर्मचारीहरुको वृत्ती विकास र अधिकारका सवालमा सरकार संवेदनशिल रहेको बताउँदै मुख्यमन्त्री पाण्डेले कर्मचारी युनियन, कर्मचारी संघ, संगठनहरुलाई कर्मचारीको साझा मुद्धामा केन्द्रित भएर सरकारलाई सुझाव दिन अनुरोध गरे । ‘कर्मचारीका मुद्धा उठाएर क्रेडिट लिने भन्दा दिगो समाधानका लागि सरकारलाई सहयोग गर्नुहोस्’ उनले भने।

संघीय निजामती ऐन जारी नहुँदा केही अन्यौल र प्रदेशले जारी गरेको निजामती ऐनमा सुधार गर्नुपर्ने देखिएको बताउँदै उनले प्रदेशको स्रोत साधन र क्षमतालाई हेरेर हक अधिकारका सवालमा केन्द्रित हुन पनि सुझाव दिए । प्रदेश निजामती ऐनमा सुधार गर्नुपर्ने केही विषयहरु प्रदेश सभाबाट संशोधन गर्न आबश्यक तयारी भएको उनले बताए ।

सरकार भनेको मुख्यमन्त्री, मन्त्री, सचिवहरु मात्र नभएर सबै कर्मचारी र जनप्रतिनिधि भएकाले सबैले आफ्नो जिम्मेवारी अनुसार काम गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेले जोड दिए। ‘ब्यबसायिक र सिर्जनशील प्रशासन, विकास, समृद्धि र सुशासन’ भन्ने नारालाई व्यवाहारमा उतार्ने गरी काम गर्न पनि उनले कर्मचारीलाई निर्देशन दिए ।  ।

‘सरकारको प्रतिनिधि कर्मचारी हो, तपाईहरुले दिने सेवाबाट नागरिकले सरकार कस्तो छ, सेवा कस्तो छ भन्ने अनुभूति गर्छन, मूल्याङकन गर्छन’ मुख्यमन्त्री पाण्डेले भने- ‘जनताको काम सहज रुपमा गरिदिनुहोस्, काम हुन सक्दैन भने के कारण हुँदैन भन्ने प्रष्ट भनिदिनुहोस्। नागरिकलाई वुझाउने दायित्व पनि तपाईहरुको समेत हो ।’

गण्डकी प्रदेशका प्रमुख सचिव लक्ष्मीकुमारी वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा कर्मचारी ट्रेड युनियनका अध्यक्षहरु लगायतले कर्मचारीको वृत्ति विकास, अधिकार, प्रदेश निजामती ऐनमा संशोधन र संवोधन गर्नुपर्ने विषयहरु लगायतका बारेमा धारणा राखेका थिए । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा भएको निजामती सेवा दिवसको अवसरमा रक्तदान, स्वास्थ्य शिविर, बिभिन्न खेलकुद प्रतियोगिता, हाँजिरि जवाफ लगायत कार्यक्रम गरिएको थियो ।

२२ भाद्र २०८१, शनिबार २३:०५ मा प्रकाशित
Nabintech