Play

पछिल्लोपटक प्रधानमन्त्री बनेका ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने

गुरुकुल खबर


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको पहिलो विदेश भ्रमण अमेरिकाबाट हुने निश्चित भएको छ । संयुक्त राष्ट्रसंघको ७९ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली असोज ५ गते अमेरिकाको न्युयोर्क जाने बिहिबारको मन्त्रिपरिषद् बैठकले भ्रमण कार्यतालिका स्वीकृत गरेको हो ।

महासभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम छ । महासभा भदौ २५ गतेदेखि असोज १२ गतेसम्म चल्नेछ । असोज १० गते प्रधानमन्त्री ओलीले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । ओली गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएपछि पहिलो पटक अमेरिका भ्रमण गर्न लागेका हुन् ।

परराष्ट्र मन्त्रालयका अधिकारीकाअनुसार प्रधानमन्त्री ओली अमेरिका भ्रमणमा जान लागेको नभएर राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका जान लागेका हुन् । प्रधानमन्त्री ओलीलाई अमेरिकाले निमन्त्रणा दिएर बोलाएको होइन । उनी राष्ट्रसंघको निमन्त्रणामा अमेरिकामा हुने कार्यक्रममा भाग लिन जान लागेका कारण प्रधानमन्त्रीको पहिलो औपचारिक भ्रमण अमेरिका भनेर नमिल्ने अधिकारीहरूको भनाइ छ ।

प्रधानमन्त्री ओलीको पहिलो औपचारिक भ्रमण भारतबाट नै हुने परराष्ट्रका अधिकारीहरू बताउँछन् । यद्यपी प्रधानमन्त्री ओलीलाई भारतबाट औपचारिक भ्रमणका लागि निमन्त्रणा आइसकेको छैन । प्रधानमन्त्रीको अमेरिका भ्रमण तय हुनु अघि उनी थाइल्याण्ड भ्रमणको तयारीमा थिए ।

भदौ १८ र १९ गते थाइल्यान्डमा हुने भनिएको छैटौँ बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलन स्थगित भएपछि प्रधानमन्त्रीको भ्रमण पनि रोकिएको हो ।

थाइल्यान्डका प्रधानमन्त्री स्रेथा थाविसिनले अनियमितता गरेको भन्दै त्यहाँको संवैधानिक अदालतले गत साउन ३० गते पदमुक्त गरेपछि बिमस्टेक सम्मेलन अनिश्चित बनेको छ । बिमस्टेक सम्मेलन अन्योलमा परेपछि प्रधानमन्त्री ओली राष्ट्रसंघको महासभामा जान लागेका हुन् ।

यसअघि प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच बैंककमा साइडलाइन वार्ता हुने तय थियो । मोदी पनि महासभामा भाग लिन जान भनिएको छ । अमेरिकामै मोदी र ओलीबीच साइडलाइन वार्ता हुने सम्भावना छ ।

यसैबीच प्रधानमन्त्री ओलीको भारत भ्रमणको तयारी पनि चलिरहेको छ । तर समय यकिन भइसकेको छैन । परराष्ट्रमन्त्री आरजु राणाले आफ्नो दिल्ली भ्रमणका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएकी छिन् । त्यसअघि भारतीय विदेशसचिव विक्रम मिश्री काठमाडौं आउँदा प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे अनौपचारिक कुरा भएको थियो ।

प्रधानमन्त्री ओली भारत भ्रमणको औपचारिक निमन्त्रणा पर्खिरहेका छन् । तर दुबै देशका प्रधानमन्त्रीको एक–अर्को देशमा भ्रमण कहिले हुने भन्ने अहिलेसम्म निश्चित छैन । परराष्ट्र मन्त्रालयले भने दुवै देशबीच प्रधानमन्त्रीको भ्रमणलाई लिएर आन्तरिक तयारी भइरहेको जनाएको छ ।

प्रधानमन्त्री ओली निकटका नेताहरू पनि भारतबाटै पहिलो भ्रमणका लागि आन्तरिक तयारी भइरहेको तर टुङ्गो नलागेको बताउँछन् । संयुक्त राष्ट्रसंघको महासभामा रहँदा प्रधानमन्त्री ओलीले सार्क राष्ट्रका प्रमुखहरुसँग भेटवार्ताको पनि तयारी भइरहेको मन्त्रालयले जनाएको छ ।

२१ भाद्र २०८१, शुक्रबार १७:२९ मा प्रकाशित
Nabintech