काठमाडौँ, परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतीय विदेशमन्त्री एस. जयशङ्करको निमन्त्रणामा भारतको औपचारिक भ्रमणका लागि भारत प्रस्थान गरेकी छन मन्त्री डा राणा आइतबार अपरान्ह भारतको नयाँ दिल्ली प्रस्थान गरेकी हुन । परराष्ट्र मन्त्री नियुक्त भएपछि मन्त्री राणाको यो पहिलो विदेश भ्रमण हो ।
भ्रमणका क्रममा भारतीय समकक्षी विदेशमन्त्री एस जयशङ्करसँग भेटवार्ता हुने कार्यक्रम तय भएको छ । दुई देशको आपसी हित, सहकार्य तथा थप सम्बन्ध विस्तारका विषयमा सो द्विपक्षीय वार्ताका क्रममा छलफल हुनेछ ।
मन्त्री डा राणालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव सेवा लम्साल लगायतका परराष्ट्रका वरिष्ठ अधिकारीहरूले विदाई गरेका थिए ।
मन्त्री डा राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन ।
परराष्ट्र मन्त्री डा राणाको यो भ्रमण नेपाल भारतबीच हुने नियमित उच्चस्तरीय भ्रमण आदानप्रदानको परम्पराअनुसार नै भएको हो । परराष्ट्रमन्त्री डा राणा यही भदौ ६ गते स्वदेश फर्किने कार्यक्रम छ ।