Play

भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत महशुल असुलीमा तलमाथि नगरौं- गगन थापा

४०% मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न प्रस्ताब


गुरुकुल खबर


काठमाडौँ,  नेपाली कांग्रेसका सांसद एबम पूर्व स्वास्थ्यमन्त्री गगन थापाले भुटानी शरणार्थी, गिरीबन्धु र बिद्युत महशुलको असुलीमा तलमाथी गर्न नहुने कुरामा जोड दिएका छन।

प्रतिनिधिसभाको मंगलबारको बैठकमा बिशेष समयमा बोल्दै थापाले भुटानी शरणार्थी प्रकरणमा हालसम्म भएका अनुसन्धानमा नै टेकेर थप अनुसन्धान गर्नु पर्ने, सर्वोच्च अदालतले दिएको आदेश अनुसार गिरिबन्धुको मुद्दा टुंग्याउनुपर्ने र बिद्युत महशुल बक्यौंता कानुन अनुसार नै असुल गर्नुपर्नेमा जोड दिए ।

‘हिजो हामी प्रतिपक्षमा बस्दा जे–जे बोलेका छौं,  यतापटी कुर्सी (सत्तापक्ष) मा बस्दा पनि त्यही बिषय उठाउने छौं,’ उनले भने, ‘भुटानी शरणार्थी, गिरिबन्धु र बिद्युत मस्यौदा शुल्कका बारेमा उहीँ धारणा रहेको छ, यसको सत्यतथ्य छानबिन हुन्छ।’  उनले यी तीनै बिषयलाई सरकारले सत्यतथ्य रुपमा छानबिन गर्नुपर्नेमा जोड गरेका छन् ।

थापाले केपी ओली नेतृत्वको सरकार निमार्ण गर्न आफु नलागेको भए पनि सरकारको रक्षाका लागि उभिने स्पष्ट पारे । ‘यो सरकार गठन प्रक्रियामा संलग्न सांसद म होइन तर यो सरकारको रक्षा मैले गर्नेछु,’ उनले भने ।

४०% मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गरौं

थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार बनाउन दिने गरी संविधान संसोधन गर्न सकिने बताएका छन् । प्रतिनिधिसभाको बैठकको बिशेष समयमा बोल्दै थापाले ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन दिने गरी संविधान संसोधन गर्न सकिने उपायतिर जान सकिने बताए ।

‘संविधान संसोधनको कुराले धेरैजना आत्तिएको देख्छु, तर आत्तिनु पर्दैन्, प्रतिनिधिसभा र राष्ट्रियसभालाई अझ बढी समावेशी र समानुपातिक प्रतिनिधित्व गराउने गरी संविधान संसोधन गर्नुपर्छ,’ थापाले भने, ‘बरु, ४० प्रतिशत मत ल्याउने पार्टीलाई एकल सरकार चलाउन पाउने  ब्यबस्था गर्नुपर्छ, यसमा छलफल गरौं,’ थापाले भने ।

२९ श्रावण २०८१, मंगलवार १५:१२ मा प्रकाशित
Nabintech