ढाका, पूर्वप्रधानमन्त्री शेख हसिना अपदस्थको केही दिनपछि बंगलादेशका दुई कारागारबाट कैदीहरू भाग्ने प्रयास गर्दा भएको झडपमा कम्तीमा १२ जनाको मृत्यु भएको अधिकारीहरूले शनिबार बताएका छन् । देशको राजधानी ढाकाको उत्तरमा रहेका दुवै कारागारमा भएको यो घटना राष्ट्रव्यापी अशान्तिले निम्त्याएको एउटा शृंखला हो ।
आक्रोशित कैदीहरूले जेलका गार्डलाई आक्रमण गरेका थिए । त्यसपछि जामपुर जेलमा कैदी र प्रहरीबीच भएको झडपमा बिहीबार ६ कैदीको मृत्यु भएको वार्डन अबु फताहले बताए ।
कैदीहरूले सुरक्षाका निम्ति खटिएका प्रहरीमाथि फलामको रड र धारिलो हतियारले आक्रमण गरेका थिए । कारागारमा आगो लगाएर भाग्ने प्रयास गरेपछि भएको झडपमा कैदीहरूको मृत्यु भएको फताहले बताए । “कैदीहरूको अराजक गतिविधिले हामी गोली चलाउन बाध्य भएका हौँ,” उनले भने ।
यस्तै, उच्च सुरक्षासहितको काशमपुर जेलमा मंगलबार कैदीहरू भाग्ने प्रयासबीच भएको झडपमा ६ कैदीको मृत्यु भएको जेलका वार्डन लुत्फर रहमानले बताए ।
रहमानले कैदीहरूले गार्डमाथि आक्रमण गरी जेलको मुख्य गेट फुटाएर भाग्न खोजेपछि गोली चलाउन बाध्य भएको उल्लेख गरे । झडपका क्रममा उक्त जेलबाट करिब २०० कैदी भागेका उनले बताए ।
हसिना सरकारविरुद्ध विरोध प्रदर्शन सुरु भएदेखि बंगलादेशभरि कैदीबन्दीहरू जेलबाट भाग्ने प्रयासमा छन् । पूर्वप्रधानमन्त्री हसिनाले राजीनामा दिएका दिन सोमबार उत्तरी जिल्ला सेरपुरको जेलबाट ५०० भन्दा बढी कैदी भागेका थिए ।