Play

अमेरिकी राष्ट्रपति चुनाब : कमला ह्यारिस र ट्रम्पको प्रतिस्पर्धा करिब निश्चित

सरकारी वकिल ह्यारिस र गम्भीर अपराधमा दोषी ठहरिएका ट्रम्पबीच हुनेछ रोचक भिडन्त


गुरुकुल खबर


अमेरिका, अमरिकी राष्ट्रपतीय निर्वाचनमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरूद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिस उम्मेदवार बन्ने करिब निश्चित जस्तै भएको छ।

सुरूमा हालका राष्ट्रपति जो बाइडेन डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिका उम्मेदवार थिए। तर गत जुन २७ मा ट्रम्पसँगको राष्ट्रपतीय बहसमा उनको प्रस्तुति निकै खराब भयो। ८१ वर्षीय बाइडेनमा उमेरजन्य समस्या देखिएको भन्दै फेरि उम्मेदवार नबन्न दबाब पर्‍यो। यसपछि बाइडेनले आइतबार उम्मेदवारी फिर्ता लिने घोषणा गरेका हुन्।

सबैजसो चुनावी सर्वेक्षणमा ट्रम्पसँग हार्ने देखिएपछि बाइडेनले राष्ट्र र पार्टीको हितका लागि सो निर्णय लिएको जानकारी दिएका थिए। त्यसपछि उनले डेमोक्र्याटिकबाट कमला ह्यारिसलाई राष्ट्रपतिका उम्मेदवारका रूपमा समर्थन गरे।

राष्ट्रपतिको निधन भए वा काम गर्न नसक्ने गरी बिरामी भएमा, जसरी उपराष्ट्रपतिले सोझै राष्ट्रपतिको पदभार सम्हाल्छन्, चुनावमा उम्मेदवारी दिने हकमा त्यसो हुँदैन। बाइडेनले मैदान छाडेपछि ह्यारिस स्वाभाविक रूपमा प्रमुख दाबेदार भए पनि अरूले उनलाई चुनौती दिन सक्छन्।

तर ह्यारिसलाई पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टन लगायत धेरै वरिष्ठ नेता र उनका प्रतिद्वन्द्वी ठानिएका केही नेताले समेत समर्थन गरेका छन्।

राष्ट्रपतिका लागि दाबेदार मानिएका क्यालिफोर्नियाका डेमोक्र्याट गभर्नर ग्याभिन न्यूसमले बाइडेनले मैदान छाड्ने बित्तिकै ह्यारिसको समर्थन गरेका थिए। धेरैले ट्रम्पलाई हराउन सक्ने सबभन्दा बलियो दाबेदार ठानेकी मिसिगनकी गभर्नर ग्रेचन ह्विटमरले पनि सोमबार ह्यारिसलाई समर्थन गरेकी छिन्।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) ले पनि सोमबार एक सर्वेक्षणको हवाला दिँदै ह्यारिसलाई बहुमत प्रतिनिधिको समर्थन रहेको जनाएको छ। डेमोक्र्याटिक पार्टीबाट उम्मेदवार बन्न १,९७६ प्रतिनिधिको समर्थन चाहिन्छ। यसमध्ये २,५७९ ले उनलाई समर्थन गर्ने एपीले बताएको छ।

चुनाव हुन अब करिब चार महिना (नोभेम्बर ५) मात्र बाँकी छ। यस्तो अवस्थामा डेमोक्र्याटिक पार्टीले जतिसक्दो चाँडो उम्मेदवार चयन गर्ने छ। द न्यूयोर्क टाइम्सका अनुसार पार्टीको राष्ट्रिय सम्मेलनको नियम बनाउने समितिको बैठक बुधबार बस्दैछ। त्यसले प्रतिनिधिको भर्चुअल हाजिरी गराएर उमेदवार छान्ने मिति तोक्ने छ। राष्ट्रिय सम्मेलन भने अगस्ट १९ मा शिकागोमा हुनेछ। त्योभन्दा अगाडि नै उम्मेदवार चुनिने अपेक्षा छ।

तर ह्यारिसलाई कमजोर उम्मेदवार मानिएको छ। रिपब्लिकन मात्रै नभएर डेमोक्र्याटिक पार्टीकै पनि कतिले योग्यताभन्दा लिंग र जातका कारण उनी छानिएकी बताएका छन्। धेरैले उनी अश्वेत महिला भएकाले मात्र प्रगतिशील डेमोक्र्याटिक पार्टीका बाइडेनले उपराष्ट्रपति बनाएको ठान्छन्।

उसो त बाइडेनले सुरूमै उपराष्ट्रपति महिला चुन्ने घोषणा गरेका थिए। मे २५ मा एक श्वेत प्रहरी अधिकारीले घुँडाले थिचेर अश्वेत पुरूष जर्ज फ्लोएडको हत्या गरेपछि देशव्यापी विरोध भयो। यसपछि बाइडेनले ह्यारिसलाई छानेका थिए।

त्यो बेला क्यालिफोर्नियाकी सिनेटर रहेकी ह्यारिस पनि राष्ट्रपतीय दौडमा थिइन्। तर उनको प्रदर्शन राम्रो भएन र सम्भावना बलियो देखिएन। उनले छिट्टै त्यो दौड छाडिन्। त्यसैले ह्यारिसले अहिले ट्रम्पविरूद्धको दौडमा पनि राम्रो प्रदर्शन गर्न नसक्ने सोच धेरैको छ।

अर्कातिर ह्यारिसले साढे तीन वर्ष उपराष्ट्रपतिका रूपमा राम्रो काम गरेर आफ्नो छवि बनाउन सकेकी छैनन्। हुन त राष्ट्रपतिले दिएको विभिन्न जिम्मेवारी बहन गर्नेबाहेक उपराष्ट्रपतिको खास भूमिका हुँदैन। सीमित भूमिकामै पनि उनले राम्रो छाप छोड्न भने सकेकी छैनन्।

केही समाचारका अनुसार, कतिले भने ह्यारिसबाट असुरक्षित महसुस गरेर बाइडेनले नियतवश उनलाई राम्रो काममा नखटाएको भनेका छन्। बाइडेनले आफ्नो कार्यकालको सुरूमा सीमा र आप्रवासीसम्बन्धी काममा खटाएकाले पनि ह्यारिसलाई घाटा भएको छ। रिपब्लिकन पार्टिले जहिल्यै पनि आप्रवासीको मुद्दा उठाउँछ। ट्रम्पले सन् २०१६ मै ‘मेक्सिकोबाट बलात्कारी-अपराधीहरू आएर अमेरिकामा शान्ति-सुरक्षा बिगारेको’ भन्दै आफूले जिते मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने घोषणा गरेका थिए। ट्रम्पका लागि अहिले पनि आप्रवासीको मुद्दा प्रमुख छ। उनले यो काममा बाधा हुनुमा ह्यारिसलाई दोष दिनेछन्।

ह्यारिसको अर्को कमजोरी उनी क्यालिफोर्नियाकी हुनु हो।

इलेक्टोरल कलेजका आधारमा हुने अमेरिकाको राष्ट्रपतीय निर्वाचनमा प्रायः राज्य कुन दलले जित्छ भन्ने निश्चित जस्तै हुन्छ। केही राज्यमा मात्रै खास प्रतिस्पर्धा हुन्छ र त्यहीँको परिणामले नतिजाले निर्धारण गर्छ। क्यालिफोर्निया डेमोक्र्याटिकको गढ हो। ह्यारिसको ठाउँमा जो भए पनि त्यहाँ सो दलले नै जित्छ। पछिल्ला दशकमा नेताहरूले यहाँ अझ प्रगतिशील मुद्दा उठाउन थालेका छन्। ह्यारिसले पनि राज्यको राजनीतिमा अघि बढ्न यस्तै मुद्दा उठाएकी थिइन्। तर प्रतिस्पर्धा हुने केही सीमित राज्यका मध्यमार्गी मतदातालाई त्यस्तो मुद्दा उति मन पर्दैन। ह्यारिसले विगतमा त्यस्ता मुद्दा उठाएकै कारण उनले ती राज्यहरूमा पराजय भोग्नु पर्ने हुन सक्छ। यस्तै कारणले, कडा प्रतिस्पर्धा हुनेमध्ये एक मिसिगनमा दुईपटक गभर्नर जितेकी ग्रेचन ह्विटमर ह्यारिसभन्दा धेरै बलियो उम्मेदवार मानिएको हो।

यसरी सुरूदेखि नै ह्यारिसले ट्रम्पलाई हराउने सम्भावना बाइडेनको भन्दा कम मानिएको थियो। तर पनि पार्टीका अरू बलिया नेताले उम्मेदवारी किन घोषणा गरेनन् त ?

मुख्य कारण निर्वाचनको मिति एकदमै नजिक हुनु हो। बाइडेनले केही महिनाअघि मात्रै निर्वाचन नलड्ने घोषणा गरेका भए धेरैले उम्मेदवारी घोषणा गर्ने थिए। र, ह्यारिस उम्मेदवार नहुने सम्भावना धेरै हुन्थ्यो।

तर अब प्रतिस्पर्धा हुँदा पार्टी विभाजित हुने डर छ। त्यसैले कुनै बलिया नेताले उम्मेदवारी दिएका छैनन्। साधारणतया पार्टीभित्रकै चुनावमा पनि उम्मेदवारहरूले एकअर्काको कटु आलोचना गर्छन्। यसरी चुनावको मुखैमा त्यसरी निर्मम रूपमा एकअर्काको आलोचना गरेर बाँकी रहेको कम समयमा विजयी उम्मेदवारको समर्थनमा एकत्रित हुन गार्‍हो हुन्छ। त्यसैले ह्यारिसविरूद्ध उम्मेदवारी नपरेको हो।

डेमोक्र्याटिक पार्टीको आफ्नै इतिहासका कारण पनि नेताहरू हच्किएका हुन सक्छन्।

यसअघि सन् १९६८ को राष्ट्रपतीय चुनावअघि डेमोक्र्याटिक पार्टीबाट निर्वाचित तत्कालीन राष्ट्रपतिले अर्को कार्यकाल नउठ्ने भएपछि पार्टी विभाजित भएर रिपब्लिकनले जितेको थियो। तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको सन् १९६३ नोभेम्बरमा हत्या भएपछि राष्ट्रपति बनेका केनेडीका उपराष्ट्रपति लिण्डन जोनसनको भियतनाम युद्धका कारण लोकप्रियतामा ह्रास आएपछि पार्टीभित्रै उनको विरोध भएको थियो।

जोनसनले सन् १९६४ को राष्ट्रपति चुनाव जिते पनि १९६८ को चुनावअघि डेमोक्र्याटिक पार्टीबाट अरूले पनि उम्मेदवारी घोषणा गरेपछि दबाबमा परे। जोन एफ केनेडीका भाइ रोबर्ट केनेडीले पनि उम्मेदवारी घोषणा गरेपछि सन् १९६४ मार्च ३१ मा जोनसनले अर्को कार्यकाल नलड्ने घोषणा गरे। रोबर्ट केनेडीको पनि हत्या भएपछि डेमोक्र्याटिक पार्टीबाट जोन्सनका उपराष्ट्रपति ह्युबर्ट हम्फ्री उम्मेदवार भए। तर उनी रिपब्लिकन पार्टीका रिचर्ड निक्सनसँग पराजित भए।

यस्तो इतिहासका कारण कमजोर मानिएकी ह्यारिसविरूद्ध उम्मेदवारी दिन अरू डेमोक्र्याटिक नेतालाई अप्ठ्यारो परेको हो। जो उम्मेदवार चयन भए पनि ह्यारिसविरूद्ध उम्मेदवारी दिएका कारण पार्टी विभाजित भएर ट्रम्प विजयी हुने सम्भावना बढी भएकाले उनीहरू चुप लागेर बसेका हुन्।

ह्यारिसविरूद्ध उम्मेदवारी नपर्नुको अर्को कारण उनको लिंग र जात पनि हो। डेमोक्र्याटिक पार्टी प्रगतिशील हो र अल्पसंख्यक, महिला र उत्पीडितको अधिकार र उत्थानका लागि दसकौंदेखि लडेको छ। यस्तोमा अश्वेत महिला उम्मेदवारविरूद्ध उम्मेदवारी दिन अरू नेतालाई नैतिक रूपमा पनि दबाब पर्छ।

अहिलेसम्म अमेरिकामा महिला राष्ट्रपति निर्वाचित भएको छैन। उपराष्ट्रपति बन्ने पहिलो महिला पनि ह्यारिस नै हुन्। प्रमुख दलले महिलालाई राष्ट्रपति उम्मेदवार बनाएको सन् २०१६ मा पहिलोपटक हिलारी क्लिन्टनलाई हो। त्यस्तै सन् २००८ मा निर्वाचित बाराक ओबामा पहिलो अश्वेत राष्ट्रपति हुन्। यस्तो पितृसत्तात्मक र रंगभेदी इतिहास भएको देशमा अश्वेत महिला, त्यसमाथि जमाइकन बाबु र भारतीय आमा भएकी आप्रवासीकी सन्तानविरूद्ध उम्मेदवारी दिन अरूहरूलाई नैतिक रूपमा अप्ठ्यारो परेको हो।

यसरी तुलनात्मक रूपमा बाइडेनभन्दा निकै कमजोर मानिए पनि ह्यारिस उम्मेदवार हुने लगभग निश्चित भएको हो।

डेमोक्र्याटिक पार्टीले भने अभियोजनकर्ता (सरकारी वकिल) का रूपमा क्यालिफोर्नियाबाट राजनीति सुरू गरेकी ह्यारिसले अदालतबाट अपराधी घोषित ट्रम्पलाई हराउन सक्नेछिन् भन्ने आशा गरेको छ।

ह्यारिसले सन् १९९० दशकमा अलमेडा काउन्टीको उपजिल्लामा सरकारी वकिलका रूपमा काम थालेकी थिइन्। उनी सान फ्रान्सिस्कोकी सरकारी वकिल हुँदै सन् २०१० मा क्यालिफोर्निया राज्यकी महान्यायाधिवक्ता निर्वाचित भएकी थिइन्। उनको पेसा नै सरकारी वकिलका रूपमा अपराधीलाई केरकार गर्नु, मुद्दा चलाएर सजाय दिनु थियो।

त्यसैकारण गम्भीर अपराधको मुद्दामा अदालतद्वारा दोषी ठहरिएका र अरू धेरै संगीन प्रकृतिका मुद्दा खेपिरहेका ट्रम्पलाई उनले तह लगाउने छिन् भन्ने आशा उनका समर्थकको छ। कानुनी पृष्ठभूमि भएकी ह्यारिस नेताका रूपमा भाषण गर्नभन्दा पनि बहस गर्न र संसदीय सुनुवाइ क्रममा केरकार गर्न धेरै सक्षम छिन्। उनले चुनावी अभियान क्रममा ट्रम्प अदालतले दोषी ठहराएको अपराधी भएको र अरू धेरै मुद्दा खेपेको कुरा जोडतोडले उठाउने छिन्। बाइडेनले ट्रम्पसँगको बहसमा राम्रो प्रस्तुति नगरेका कारण अवसर पाएकी ह्यारिसका लागि ट्रम्पसँगकै बहस महत्त्वपूर्ण अवसर हुन सक्छ।

ट्रम्पले डराएर उनीसँग बहस गर्न अस्वीकार नगरे अहिले कमजोर मानिएकी ह्यारिसले बलियो प्रस्तुति दिएर चुनावी माहोल नै आफ्नो पक्षमा मोड्न सक्ने छिन्। (विभिन्न संचार माध्यमको सहयोगमा तयार गरिएको)

९ श्रावण २०८१, बुधबार ०७:५८ मा प्रकाशित
Nabintech