Play

अमेरिकामा ट्रम्पमाथि गोलि प्रहारको घटनापछि अमेरिकी सिक्रेट सर्भिसका निर्देशक चिटलको राजीनामा

गुरुकुल खबर


अमेरिका, अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनाबी र्यालीमा सुरक्षा दिने जिम्मेवारी पुरा गर्न नसकेको भन्दै अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली ए चिटलले राजीनामा दिएकी छन्। चुनावी र्‍याली गरिरहेका बेला पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासको घटनापछि निर्देशक चिटललाई राजीनामाको दबाब आएको थियो।

ट्रम्पको कानमा गोली लागेर जोगिएका थिए। तर उनको सुरक्षा गर्ने काममा असफल भएको भन्दै रिपब्लिकन सांसदहरूले चिटलको राजीनामा माग गरेका थिए।

चिटलले मंगलबार सिक्रेट सर्भिसका कर्मचारीलाई पठाएको इमेलमा आफू सुरक्षाको मिसनमा असफल भएको उल्लेख गरेकी छन्। राष्ट्रका प्रमुख नेताहरूको सुरक्षा गर्नु सिक्रेट सर्भिसको कर्तव्यमध्ये एक भएको तर जुलाई १३ को र्‍याली सुरक्षित बनाउन नसकेको उनले बताएकी छन्। ‘हाम्रो महत्त्वपूर्ण मिसनमा तपाईँहरू प्रत्येकले गर्ने काममा मेरो राजीनामाले विचलित नगराओस्,’ उनले सिक्रेट सर्भिसका कर्मचारीलाई लेखेको इमेल उद्धृत गर्दै द न्यूयोर्क टाइम्सले लेखेको छ।

चिटलले आफू एजेन्सीप्रति पूर्ण रूपमा प्रतिबद्ध भएको पनि बताएकी छन्। ‘तर हालैको घटनाका कारण मैले सिक्रेट सर्भिसको निर्देशक पदबाट राजीनामा दिने निर्णय गरेकी छु,’ उनले लेखेकी छन्।

राष्ट्रपति जो बाइडेनले चिटललाई यो पदको जिम्मेवारी सम्हालेकोमा धन्यवाद दिँदै चाँडै नयाँ निर्देशक नियुक्त गर्ने बताएका छन्।

जुलाइ १३ मा राष्ट्रपति दौडमा रहेका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको थियो। साँझ साढे ६ बजे पेन्सिलभेनियाको बट्लरमा चुनावी र्‍यालीको क्रममा ट्रम्पलाई २० वर्षीय थोमस म्याथ्यु क्रुकले गोली प्रहार गरेका थिए।

द न्यूयोर्क टाइम्सका अनुसार ट्रम्पले चुनावी सभालाई सम्बोधन गरिरहेको स्थलबाट ४ सय फिट उत्तरतर्फ रहेको सानो भवनको छतबाट क्रुकले गोली चलाएका थिए। गोली लाग्नेबित्तिकै ट्रम्प दाहिने कान समात्दै बाँकी गोलीबाट बच्न पोडियम पछाडि घुँडा टेकेर बसेका थिए। पछि सुरक्षाकर्मीहरूले ट्रम्पलाई चारैतिरबाट घेरेर राखेका थिए। सुरक्षाकर्मीहरूले तत्कालै ट्रम्पलाई नजिकै राखिएको कारमा हालेर लगेका थिए।

त्यति बेलासम्म त्यहाँ उपस्थित सुरक्षाकर्मीले जबाफी गोली चलाएका थिए र क्रुकको घटनास्थलमै मृत्यु भएको थियो। गोली लागेर र्‍यालीमा सहभागी एक जनाको मृत्यु भएको थियो।

९ श्रावण २०८१, बुधबार ०७:४७ मा प्रकाशित
Nabintech