पोखरा, रेष्टुरेण्ट एण्ड बार एशोसियशन पोखराको आयोजनामा संचालित पाँच दिने एडभान्स वेकरी तालिम सम्पन्न भएको छ । पम नेदरल्याण्डको समन्वय एवम् नेपाल टुरिज्म एण्ड होटल म्यानेजमेन्ट कलेज छिनेडाँडाको सहकार्यमा रेवानमा आवद्ध रेष्टुरेण्टहरुमा कार्यरत कुकहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।
समापन समारोहमा कलेजका अध्यक्ष एवम अग्रज पर्यटन व्यवसायी अशोक पालिखेले पर्यटकीय राजधानी पोखरामा आउने पर्यटकलाई गुणस्तरीय स्वाद र आतिथ्यताका लागि दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने बताए । उनले जति धेरै तालिम दिन सकियो उत्तिनै दक्ष जनशक्ति उत्पादन हुने र त्यसको फाइदा पोखराको पर्यटनले लिन सक्ने बताए ।
उनले पाँच दशक अगाडि पाउरोटीको स्वाद आफुले लिएको स्मरण गर्दै अहिले अन्तराष्ट्रिय स्तरका वेकरीलाई सहजै उत्पादन गरेर पाहुना माझ पुर्याउन अवसरहरु मिलेकोमा जोड दिए ।
तालिममा सहभागी तारा श्रेष्ठले आफ्नो अनुभव राख्दै तालिमले आफुहरुको क्षमतामा निखारसँगै गुणस्तरीय वेकरी आइटम बनाउने नयाँ तरिका बारे जानकारी मिलेको बताए।
अर्की सहभागी सृजना अधिकारीले तालिमका व्यावहारिक र प्राविधिक ज्ञानले आफूलाई बेकरी उत्पादनमा आत्मविश्वास बढाएको धारणा राखिन ।
नेदरल्याण्डका वेकरी प्रशिक्षक सोड जलेमाले नेपाल आएर आफ्नो ज्ञान बाड्न पाएकोमा खुशी व्यक्त गरे । उनले बेकरी तालिमका सहभागीको सक्रियताले आफुलाई सिकाउन आनन्द लागेको बताउँदै यस प्रकारको तालिमले स्थानीय व्यवसायलाई मात्र नभइ समग्र पर्यटन क्षेत्रले नै लाभ पुग्ने बताए ।
तालिमका संयोजक वसन्त गौतमले तालिमको उद्देश्य अन्तर्राष्ट्रिय स्तरको ज्ञान र प्रविधि प्रदान गरेर गुणस्तरीय व्यवसायमा जोड दिनुका साथै दक्ष जनशक्ति उत्पादन गर्ने रहेको बताए ।
नेपाल पत्रकार महासंघ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्माले सिकेको ज्ञानलाई व्यवहारमा उतार्दै व्यवसायिकतामा जोड दिनुपर्ने बताइन ।
समापन समारोहका सभाध्यक्ष एवम रेवानका नि. अध्यक्ष लक्ष्मण बरालले रेवानले गुणस्तरीय वेकरी उत्पादनका लागि निरन्तर दक्ष जनशक्तिमा जोड दिएर विभिन्न तालिमहरु प्रदान गर्दै आएको बताए । रेवानका महासचिव विकास भटराईले पोखराको पर्यटन प्रवद्र्धनमा रेवान लामो समयदेखि सक्रिय रहेको जनाउँदै यस्ता तालिम निरन्तर गर्ने बताए । उनका अनुसार तालिममा १९ जनाका सहभागिता रहेको छ