Play

राष्ट्रपति पौडेलद्वारा जर्मनीस्थित जलबायु परिबर्तनको क्षेत्रमा काम गर्ने संस्थाको अबलोकन

गुरुकुल खबर


बर्लिन (जर्मनी), राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका छन् ।

जर्मनीको पोट्सडामका ती संस्थाहरूको अवलोकनका क्रममा राष्ट्रपति पौडेललाई वैज्ञानिकहरुले जलवायु परिवर्तनको असरहरुका बारेमा जानकारी गराउँदै विकसित राष्ट्रहरुले तत्काल गर्नुपर्ने समााधानका उपायबारे सुझाउन आग्रह गरे ।

‘जर्मनी यसमा अत्यन्त चिन्तित छ र यसबारे अनुसन्धान गर्ने महत्वपूर्ण मुलुक पनि हो । तपाईँहरूले अनुसन्धानमा ठूलो प्रगति गर्नुभएको छ । तर अब अनुसन्धानमात्रै होइन समाधानका उपायबारे पनि सुझाव दिनुपर्यो,’ राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनका प्रेस सल्लाहकार किरण पोखरेलले भने, ‘नेपालमा जलवायु परिवर्तनको असर देखिइसक्यो । हिमालयहरू काला पहाड़मा परिणत भइसके । अब यसको असर विकसित मुलुकहरूमा पनि पर्नेछ र यो पृथ्वीलाई जोगाउने कुरा हो । त्यही भएर तपाईँहरूले मारमा परेका देशले के के गर्नुपर्यो र विकसित देशले के के गर्नुपर्यो भनेर स्पष्टसँग समाधानका उपाय दिन आावश्यक छ ।’

जीएफजेडका साइन्टिफिक कार्यकारी निर्देशक सुजना बाउंटर, पोस्टाडाम इन्स्टिट्यूट फÞर क्लाइमेट इम्प्याक्ट रिसर्च (पीआईके) का अनुसन्धान समूहका प्रमुख युर्गन पि. क्रप, नेपाली रिसर्च इन्स्टिट्यूट फर सस्टेनेवेलेटीका अनुसन्धान समूह लीडर डा. महेश्वर रूपाखेतीलगायतका वैज्ञानिकहरूले विभिन्न विषयमा सो अवसरमा राष्ट्रपति पौडेललाई जानकारी गराएका थिए ।

प्रथम महिला सविता पौडेलका साथ संघीय गणतन्त्र जर्मनीको निमन्त्रणमा औपचारिक भ्रमणका लागि जर्मनी पुगेका पौडेलले जर्मनीको पोट्सडाममा अवस्थित जर्मन रिसर्च सेन्टर फर जिओसाइन्सको अवलोकन गरेका थिए । यो ठोस पृथ्वी विज्ञानको लागि जर्मनीको राष्ट्रिय अनुसन्धान केन्द्र हो । यसले भू–विज्ञानका उप–प्रणालीहरू, यसको अन्तरक्रिया गर्ने उपचक्रहरू र यसको कारण तथा प्रभाव श्रृखलाहरूको विस्तृत सञ्जालको साथ पृथ्वीको भूगोलजस्ता अत्यधिक जटिल प्रणालीमा ध्यान केन्द्रित गर्ने यहाँका वैज्ञानिकहरूले जानकारी दिएका छन् ।

सन् २०१५ देखि जिएफजेडका वैज्ञानिकहरू नेपालको हिमाली क्षेत्रमा संवेदनशील प्राकृतिक विनाशकारी बाढीको भूकम्पीय अनुगमनमा सक्रिय छन् । त्यस्तै, जिएफजेडसँगको समन्वयमा नेपालको खानी तथा भूगर्भ विभाग र जिइओएस जर्मनीबीच पहिरोसम्बन्धी पूर्व सूचना प्रणालीबारे भएको सम्झौतामा २६ सेप्टेम्बर २०२३ मा हस्ताक्षर भएको थियो ।

यस्तै, राष्ट्रपति पौडेलले अवलोकन गरेको जर्मनीको पोट्सडाममा अवस्थित अर्को रिसर्च इन्स्टिच्युट फर सस्टेनिविलीटी सन् २००९ मा स्थापना भएको हो । यसले दिगो विकास हासिल गर्न सामाजिक परिवर्तनको प्रक्रिया बुझ्ने, विकास गर्ने र मार्गदर्शन गर्ने लक्ष्यकासाथ अनुसन्धान गर्ने बताइएको छ ।

मे २०१२ देखि प्रो. मार्क लरेन्स ( आरआइएफएसका वैज्ञानिक निर्देशक) को निर्देशनमा डा. महेश्वर रुपाखेतीले योे संस्थामा एक अनुसन्धान समूहको नेतृत्व गर्दै काम गरिरहेको र यो समूहले नेपाललाई केन्द्रित गर्दै दक्षिण एशियामा वायु प्रदुषण र जलवायु परिवर्तनको अध्ययन गरिरहेको बताइएको छ ।

नेपालभित्र र बाहिरका प्रमुख सरोकारवालाहरूसँग मिलेर यो समूहले वायु प्रदुषणको अनुसन्धान, वायुको गुणस्तर, जनस्वास्थ, कृषि, जलवायु र हिमाली पारिस्थितिक प्रणालीमा पर्ने असर र दक्षिण एशियामा विशेषगरी नेपालमा अनुसन्धान र सम्वादको संयोजनमार्फत सम्भावित न्यूनीकरणका उपायहरूमा केन्द्रित रहेको राष्ट्रपति पौडेललाई रुपाखेतीले जानकारी गराए ।

२ असार २०८१, आईतवार २०:४३ मा प्रकाशित
Nabintech