Play

राजनीतिमा नैतिकता र विधिको शासन हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न जेठ २८ मा बिश्वासको मत लिने निर्णय गरें – मुख्यमन्त्री पाण्डे

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकार र शक्ति भन्दा पनि नैतिकता र संबैधानिक विषय ठुलो हुने भएकोले आँफुले यही जेठ २८ गते बिश्वासको मत लिन लागेको बताएका छन  सर्वोच्च अदालतको परमादेशबाट यही जेठ १६ गते दोस्रोपटक मुख्यमन्त्रीमा नियुक्त भएका पाण्डेले सत्ताका लागि जे गरेपनि हुन्छ भन्ने मान्यता विपरीत प्रजातान्त्रिक मूल्य, मान्यता र जनताको अभिमत अनुरूप नै आफूले यही जेठ २८ गते विश्वासको मत लिन लागेको स्पष्ट पारे।

नेपाल निजामती कर्मचारी युनियन कास्कीले पोखरामा आयोजना गरेको सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण कार्यक्रमको शनिबार उद्घाटन गर्दै नेपाली काँग्रेसका केन्द्रीय सदस्य समेत रहेका मुख्यमन्त्री पाण्डेले उक्त कुरा बताएका हुन् ।

“केहि साथीहरुले अध्यादेशबाट बजेट ल्याउनुपर्छ भनेका थिए तर मैले प्रजातान्त्रिक मूल्य र मान्यताअनुरूप जनताको अभिमतको कदर गर्दै  बजेट ल्याउनु पहिले नै बिश्वासको मत लिने निर्णय गरेको हुँ, नेपाली कांग्रेसले सत्ताका लागि जे पनि गर्छ भन्नेहरुलाई यो निर्णयले गतिलो सन्देश दिनेछ” मुख्यमन्त्री पाण्डेले भने “सरकारलाई विश्वासको मत प्राप्त हुनेछ भन्नेमा पनि मा विश्वस्त छु।’’

विश्वासको मत लिन किन हतार गर्नुभएको भन्ने प्रश्न आइरहेको भन्दै  पाण्डेले थपे, ‘‘मैले १५ दिन सत्ता लम्बाएर मुलुकलाई अनिर्णयको अबस्थामा राख्नुछैन । १५ दिन बढी सत्तामा बसेर केही हुदैन् । तत्काल नीति कार्यक्रम पास गर्नुछ, बजेट ल्याउनु छ,  त्यसका लागि पनि जेठ २८ गते नै विश्वासको मत लिने निर्णय गरेको हुँ । अन्य साथीहरूले पक्कै पनि सहयोग गर्नुहुनेछ”  कम्युनिष्ट चरित्र देखाएर ६० सदस्य रहेको प्रदेशसभामा ३० भनेकै बहुमत हो भनेर सरकारमा बस्ने किसिमको चरित्र आँफुसंग नरहेको उनले स्पष्ट पारे ।’’

गण्डकी प्रदेशमा ६० सदस्य रहेकोमा सबैभन्दा ठुलो दल कांग्रेसको २७ सांसद रहेका छन् भने राप्रपा दुई, स्वतन्त्र सांसद दीपक गुरुङ(मनाङे) एक र माओवादीको चुनाव चिह्न लिएर  गोरखाबाट निर्वाचित नेपाल समाजबादी पार्टीका सांसद फडिन्द्र देवकोटा समेत ३१ सांसदको समर्थन पाउने मुख्यमन्त्री पाण्डेको बिश्वास छ ।

नेपाली कांग्रेस निकट कर्मचारीहरुको संस्था निजामती कर्मचारी युनियन रहेपनि युनियनमा आबद्द कर्मचारीहरुले पनि पार्टी बिशेषको भन्दा मुलुक र जनताको हित हुनेगरी काम गर्न आग्रह गर्दै उनले भने –  मेरो नेतृत्वको सरकारले विश्वासको मत पाएको खण्डमा सीमित साधन, स्रोतका बाबजुद कर्मचारीहरूको वृत्ति विकासका लागि नीति कार्यक्रम र बजेटमा सम्भव भएसम्म सम्बोधन गर्ने जानकारी दिए ।

कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल, युनिंयनका बरिष्ठ उपाध्यक्ष उत्तम कटुवाल, गण्डकी प्रदेश अध्यक्ष दिपक रेग्मी, युनियनका महासचिब जनक रावल, उप महासचिब इन्दु शर्मा, केन्द्रीय सदस्य चित्रा ढकाल र कास्कीका पूर्व अध्यक्ष रामजी कोइराला लगाएतले आफ्नो आफ्नो भनाई राखेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन कास्कीका अध्यक्ष सुरेश कुमार श्रेष्ठले प्रदेश निजामती ऐन पारित भएपछि धेरै कर्मचारीलाई न्याय भएको बताउंदै सङ्घीय निजामती ऐन पास गर्न आबश्यक पहल गरिदिन आग्रह गरे । उनले राष्ट्रसेवक कर्मचारीहरूलाई प्रोत्साहन भत्ता  उपलब्ध गराउन पनि माग गरे ।

कार्यक्रममा गण्डकी प्रदेशका सांसद डिल्लीराम सुवेदी, प्रशासन विज्ञ बाबुराम आचार्य, युनियनका केन्द्रीय उपाध्यक्ष पुरण गुरुङ, उपमहासचिब गङ्गालाल पोखरेल लगायतले सार्वजनिक सेवा प्रवाहमा कर्मचारीहरूको भूमिका, ट्रेड युनियन अधिकार र नेतृत्व विकाससम्बन्धी प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा युनियनको कास्की जिल्ला उपाध्यक्ष द्वय केदार सापकोटा र सिता बरालको साथै सचिब सुमन शर्माले संस्थाका गतिबिधि बारेमा जानकारी गराएका थिए ।

२६ जेष्ठ २०८१, शनिबार १८:१२ मा प्रकाशित
Nabintech