Play

पोखरा बिश्वबिद्यालय स्थापनाको २७ वर्षपछि शिक्षण अस्पताल संचालनमा

गुरुकुल खबर


पोखरा विश्वविद्यालयले आफ्नो स्थापनाको २७ वर्षपछि  शिक्षण अस्पताल संचालनमा ल्याएको छ। विश्वविद्यालयले सोमबारदेखि पोखरा ३०,लेखनाथमा रहेको विश्वविद्यालय हाताभित्र १ सय शय्याको अस्पताल सुरु गरेको हो।

सो अस्पतालको गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उद्घाटन गरे। १० करोड रुपैयाँको लागतमा अस्पताल बनेसँगै अब त्यहाँ अध्ययनरत विद्यार्थीलाई प्रयोगात्मक कक्षा लिन बाहिर जानुपर्ने बाध्यता हटेको स्वास्थ्य विज्ञान संकायका डीन डा. अमर नागिलाले बताए।

विश्वविद्यालयले यसअघिबाटै प्यारामेडिक्स,बीडीएस नर्सिङ बीएससी नर्सिङ, बिएनएस,बिएमएलटी (ल्याब साइन्स) बीपीएस, बी फार्मेसी, बीपीटी (फिजियो का स्नातक तहका तथा ल्बाब्रोटरी साइन्स, फार्मेसी र पब्लिक हेल्थका स्नातकोत्तरका कक्षाहरु संचालन गरिरहेको छ। ती कोर्ष पढ्ने विद्यार्थीहरुलाई विश्वविद्यालयले तत्कालीन पश्चिमाञ्चल अस्पताल (हालको स्वास्थ्य विज्ञान प्रतिष्ठान) मा प्रयोगात्मक कक्षाका लागि पठाउने गर्थ्यो।

तर, चिकित्सा शिक्षा आयोग आइसकेपछि स्वास्थ्यसम्बन्धी पढाइलाई एकीकृत गरियो भने प्रवेश परीक्षा पनि उसैले लिन थाल्यो। उत्तीर्ण विद्यार्थीलाई छात्रवृत्तिसहित पढाउन विश्वविद्यालय पनि बाध्य बन्यो। मेडिकल साइन्स पढाउनको लागि न्यूनतम १ सय शय्याको अस्पताल हुनैपर्ने मापदण्ड तय भयो।

विश्वविद्यालयले चलाइरहेको कार्यक्रम सुचारु गर्न पनि  सय बेडको अस्पताल बनाउनै पर्यो,’ डीन नागिलाले भने,‘ हामीले जमर्को गर्यौँ। अहिले विधिवत उद्घाटन गर्यो। सर्वसुलभ र गुणस्तरीय सेवा प्रदान पनि गर्ने अनि विद्यार्थीलाई प्रयोगात्मक अभ्यास गर्ने ठाउँ बन्यो। अब हामी स्वास्थ्य बीमासँग पनि जोडिएर जनताको सेवा गर्छौँ।’

उनका अनुसार अहिले अस्पतालले २४ सै घण्टा आकस्मिक सेवा दिइरहेको छ भने इसीजी, रेडियोलोजी पनि त्यहीँ उपलब्ध छ। अस्पतालले फार्मेसी पनि चलाएको छ। शल्यक्रिया सेवा, सघन उपचार कक्ष (आईसीयू), नवजात शिशु सघन उपचार कक्ष (एनआईसीयू) र अन्तरंग सेवा सञ्चालनको तयारी गरेको विश्वविद्यालयका निर्देशक डा. दीपेन्द्रकुमार यादवले जानकारी दिए।

अस्पतालमा अहिले ४० जना कर्मचारी रहेका छन्। तीमध्ये ६ जना कन्सल्टेन्ट डाक्टर तथा ६ जना मेडिकल अफिसर रहेका, प्रयोगशालादेखि अस्पताललाई आवश्यक पर्ने सबै सामग्री तम्तयार रहेको पनि डा। नागिलाको भनाइ छ।

अस्पतालाई बढाएर ३ सय शय्याको बनाउने र त्यसपछि  एमबीबीएस र एमडीका कक्षाहरु पनि चलाइने उनले बताए।

पोखरा विश्वविद्यालय २०५४ साल साउन १ गते विधिवत् रुपले स्थापना भएको हो। स्थापनाकालमै विश्वविद्यालयले शिक्षण अस्पताल संचालन गर्ने घोषणा गरेको थियो।

अस्पतालको उद्घाटन गर्दै गण्डकीका मुख्यमन्त्री अधिकारीले स्वास्थ्य बीमालाई पहिलो प्राथमिकतामा राखेर शिक्षण अस्पतालले सेवा दिनुपर्ने कार्यविधि बनाउनुपर्ने बताए।

एमबीबीएसको पढाइ सञ्चालन गर्न सकियो भने विद्यार्थीहरु पढ्नका लागि बाहिर जान नपर्ने र गण्डकी प्रदेशका ११ जिल्लाकै बासिन्दाहरुले सहज रुपमा सेवा लिन पाउने पनि उनको भनाइ थियो।

उनले स्वास्थ्य बीमाको कार्ड लिएर उपचार गर्न आउने बिरामीलाई अस्पतालहरुले दोस्रो दर्जाको नागरिकसरह व्यवहार गर्ने गरेको बताउँदै बिरामीलाई अपमान गर्ने प्रवृत्ति अन्त्य  हुनुपर्ने पनि बताए।

गण्डकी प्रदेशकी सामाजिक एवं स्वास्थ्यमन्त्री सिताकुमारी सुन्दासले प्रदेशभरिका ११ जिल्लाको अभियानको रुपमा स्वास्थ्य सेवा, नयाँ खोज र अनुसन्धानमा लाग्न विश्वविद्यालयलाई आग्रह गरिन्।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले शिक्षण अस्पतालले जिल्ला वडा र स्थानीयलाई पहिलो प्राथमिकतामा राखेर प्रयोगात्मक तथा अनुसन्धानका गतिविधि गर्नुपर्ने सुझाए।

पोखरा विश्वविद्यालयका रजिष्ट्रार एवम् शिक्षण अस्पतालका सञ्चालक समितिका अध्यक्ष प्राडा दीपकबहादुर भण्डारीले अस्पताललाई देशकै उत्कृष्ट र स्मार्ट अस्पताल बनाइने बताए।

विश्वविद्यालयका उपकुलपति प्राडा प्रेमनारायण अर्यालले १० करोड रुपैयाँको लागतमा बनेको शिक्षण अस्पतालले एम बिबि एसका कक्षा सञ्चालन विश्वविद्यालयको लागि अपरिहार्य रहेकोले त्यसको सुरुवात गर्न सकिएकोमा आफु अत्यन्तै गौरवान्वित र भाग्यमानी रहेको उल्लेख गर्दै अस्पताल सञ्चालनले विश्वविद्यालयले अग्रगामी सोचका साथ समाज र देशलाई योगदान दिनु पर्ने धारणा राखेका थिए।

७ जेष्ठ २०८१, सोमबार २१:०५ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
दर्ता नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सम्पादक :
रिता गुरूङ
सह सम्पादक :
शिराेमणी बराल
प्रतिनिधि :
अर्जुन ओझा