Play

गण्डकीका मुख्यमन्त्री अधिकारी बिरुद्धको रिटको सुनुवाई बैशाख २७ गते हुने

गुरुकुल खबर


पोखरा, गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत विरूद्ध प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सर्वोच्च अदालतमा दिएको रिट उपर बैशाख २७ गते बिहिबार सुनुवाई हुने भएको छ ।

६० जना सांसद रहेको गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसदको समर्थन आबश्यक पर्छ तर गण्डकीका  सभामुख कृष्ण धितालले ३० सांसदकै समर्थनमा मुख्यमन्त्री अधिकारीले विश्वास मत पाएको  भनि प्रदेश सभामा घोषणा गरेका थिए।

सभामुखले संबिधानको व्यवस्थाको समेत अपब्याख्या गरेर अधिकारीले बिश्वासको मत पाएको घोषणा गरेको भन्दै नेपाली कांग्रेस गण्डकी संसदीय दल नेता सुरेन्द्रराज पाण्डेले सर्वोच्चमा मंगलबार रिट दिएका हुन्।

सर्वोच्चमा मंगलबार रिट निबेदन दर्ता गराउन नेपाली कांग्रेसका गण्डकी प्रदेश सांसदहरु डिल्लीराम सुवेदी, प्रकाश बराल, डा. टकराज गुरुङ, द्रोण कुँवर, महेश भट्टराई, टिका बश्याल, भेषबहादुर पौडेल लगायत अन्य सर्वोच्च अदालत पुगेका थिए।

नेपालको संविधानको धारा १३३ (२) र (३) बमोजिम उत्प्रेषणयुक्त परमादेश लगायतको आदेशका लागि भन्दै कांग्रेसले सर्वोच्चमा रिट दिएको हो।

जसमा सभामुख कृष्णप्रसाद धिताल, मुख्यमन्त्री खगराज अधिकारी र गण्डकी मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाइएको छ। सर्वोच्चले यस रिटमा वैशाख २७ गतेका लागि पेशी तोकेको प्रदेश सांसद प्रकाश बरालले गुरुकुल खबरलाई जानकारी दिए ।

मुख्यमन्त्री अधिकारीले वैशाख २३ गते प्रदेश सभामा विश्वासको मत लिन प्रस्ताव राखेका थिए। त्यस दिन प्रदेश सभामा ५९ जना सांसद उपस्थित थिए।

मुख्यमन्त्री अधिकारीका पक्षमा ३० मत खसेको थियो भने विपक्षमा २७ र राप्रपाका दुई सांसद तटस्थ बसेका थिए।

२६ बैशाख २०८१, बुधबार ०७:५३ मा प्रकाशित
Nabintech