Play

स्वास्थ्य क्षेत्रमा लागेर नाम र दाम कमाएका डा. बुद्धि थापा भन्छन “अब स्वास्थ्य स्वयमसेवीको रुपमा समुदायमा पनि काम गर्छु”

गुरुकुल खबर


पोखरा, बिहान सबेरै देखि बेलुका अबेरसम्म अस्पतालमा बसेर बिरामीको उपचारमा खटिने पोखराका अग्रज चिकित्सक डा बुद्धिबहादुर थापा पछिल्लो समय अस्पताल बाहिर समाज र समुदायमा स्वास्थसेवा दिनेगरि स्वयमसेवीको रुपमा समेत ब्यस्त बन्न थालेका छन। उमेरले करिब सात दशक पुग्न आँटेका डा थापाले पहिलेजस्तो पुरा समय अस्पतालमा बिताउन छाडेर आफ्नो सक्रिय जिबनको केहि समय समाज र समुदायलाई स्वास्थसेवा मार्फत सहयोग गर्ने थालेका छन । उनले चिकित्सकको रुपमा काम गरेर नाम र दाम दुवै कमाए, तर अब उनलाई यहि क्षेत्र मार्फत समाज र समुदायमा स्वयमसेवीको रुपमा समेत काम गर्ने इछ्या जागेको छ।  बिरामीलाई अस्पतालमा सेवा दिने क्रमलाई पनि उनले निरन्तरता दिईरहेका छन।

२०१२ सालमा जन्मिएका थापाको पढाई नेपाल भित्र र बाहिरका शिक्षण संस्थाहरुमा भयो । उनले तनहुको शुक्ला गण्डकी नगरपालिकास्थित निर्मल प्राबिबाट प्राथमिक शिक्षा, आसामको दुलियाजन आयल इन्डिया हाइयर सेकेन्डरी स्कूलबाट निमाबि शिक्षा, खैरनी माबि खैरनीटारबाट माबि शिक्षा सहित एसएलसीको अध्ययन गरेका थिए । एसएलसीमा बोर्ड तेश्रो बनेका थापाले आफ्नो पढाईलाइ निरन्तरता दिने क्रममा काठमाडौँको अमृत साइन्स क्याम्पसबाट आइएस्सी अध्ययन गरेपछि उनले कोलम्बो प्लान अन्तर्गत राजेन्द्र मेडिकल कलेज बिहार रांची भारतमा छात्रबृत्तीमा अध्ययन गर्ने मौका पाए। त्यसपछि भने उनले नेपाल फर्किएर त्रि बि बि शिक्षण अस्पताल महाराजगंज क्याम्पसबाट इन्टर्नल मेडिसिनमा एमडी सकेर स्वास्थ्यसेवा शुरु गरेका हुन्।

स्वास्थ सेवामा सरकारी जागिरेको रुपमा अर्थात मेडिकल अफिसरको रुपमा उनले २०४१ मा मुस्तांग जिल्लाको जोमसोमबाट आफ्नो करियर शुरु गरेकाहुन् । २०४५ मा भने उनि पोखरा आएर तत्कालिन पश्चिमंचाल क्षेत्रिय अस्पतालमा मेडिकल अफिसरको रुपमा काम गर्न लागेपछि डा थापाको लगाव र प्रभाव पोखरामा बढ्दै गएको हो। उनले पढाई र सेवा दुवै एकसाथ अगाडी बढाउने क्रममा एमडी पुरा गरेपछि २०५५ देखि २०७२ सम्म १७ वर्ष सरकारी जागिरेको रुपमा पोखराको पश्चिमान्चल क्षेत्रिय अस्पतालमा नै बिताए । त्यस बिचमा थापाले सोहि अस्पतालको मेडिकल सुपरिन्टेंण्डेटको जिम्मेवारी समेत निर्बाह गरे।

२०७३ सालदेखि २०७७ सम्म पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानको संस्थापक उप कुलपति सहित पोखरा विश्वबिद्यालयको सिनेटर भएर काम गरेका डा थापा पोखरा र तनहुँस्थित बिभिन्न स्वास्थ संस्थाहरुमा संलग्न छन । पोखराको फेवासिटी अस्पताल र तनहुँको खैरनिटारस्थित सेतीगंगा सामुदायिक अस्पतालको संस्थापक अध्यक्ष र जि पि कोइराला राष्ट्रिय श्वासप्रश्वास केन्द्रको शुरुवाति चरणमा बोर्ड सदस्यको रुपमा काम गरिसकेका थापा हाल फेवासिटी अस्पतालको प्रमुख कन्सलट्यानटको  रुपमा कार्यरत छन्। उनि पोखरा लायन्स क्लब, नेपाल चिकित्सक संघ, हिमालय आँखा अस्पताल र नेपाल रेडक्रस जस्ता संस्थामा पनि सक्रिय छन।

                             ( डा. बुद्धि थापा आफ्नो परिवारका सदस्यहरुका साथ )

चिकित्सकको रुपमा राम्रो पहिचान बनाएका थापाको परिवारमा धर्मपत्नी बाहेक सबै जना चिकित्सा पेशामा नै जोडिएका छन । तनहुँको म्यग्दे  गाउँपालिका -४ जामुने भन्ज्यांग निबासी हरी अधिकारीसंग २०३० सालमा डा थापाको बिबाह भएको थियो। बिबाहपछि पनि डा थापाले आफ्नो पढाई र काममा निरन्तरता दिईरहे। डा थापाकी श्रीमती हरीको पढाई लेखाइ सामान्य रहेपनि डा. थापाको जीवनमा महत्वपुर्ण सहयोगीको रुपमा उनि भित्रिएकी थिईन । त्यसपछिको समयमा डा. थापाको छोराहरुले पनि चिकित्साशास्त्रको पढाईमा रुची राखेपछि थापाको परिवारका अधिकांश सदस्यहरु चिकित्सक बनेका छन।

डा थापाको जेठो छोरा डा, शुरेश थापा प्रमुख ग्यास्ट्रोइन्ट्रोलोजिस्ट कन्सल्टस्टेट तथा सह प्राध्यापक समेत हुन् भने बुहारी प्रा. डा.  रोहिणी सिफ्देल थापा एनेस्थेसियोलोजिस्ट तर्फ प्रमुख कन्सल्टेनेट छन। कान्छा छोरा डा मदन थापा रेडियोलोजिस्ट तर्फ बरिष्ठ कन्सल्टेन्ट छन। कान्छी बुहारी बन्चिता भट्टराई भने एमबीए सकेर आफ्नै ब्यबसाय संचालन गरेकी छन।  परिवारका अधिकांश सदस्य स्वास्थ्य क्षेत्रमा नै संलग्न रहेकोले पनि डा बुद्धि थापाले यही क्षेत्र मार्फत समाज र समुदायमा थप सेवा गर्ने लक्ष राखेका छन।

( डा. बुद्धि थापा र श्रीमती हरी आफ्नो बिबाहको स्वर्ण उत्सब मनाउने क्रममा आफ्ना शुभेच्छुकसंग )

उमेरले करिब सात दशक पुगेका डा बुद्धिको बिबाह भएको पनि पांच दशक नाघेको छ। बिबाह भएको ५ दशक अर्थात ५० वर्ष पुगेको सन्दर्भमा उनले पोखरामा रहेर विभिन्न क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुलाई आमन्त्रण गरि बैबाहिक स्वर्ण उत्सब मनाएका थिए । बैबाहिक स्वर्ण उत्सबको अबसरमा उनले आफ्नो सक्रिय जिबन सामाजिक सेवामा लगाउने उद्घोष समेत गरे। त्यस क्रममा डा थापाले हेम्जामा निर्माणाधिन मानव सेवा आश्रमको भवनको एक कोठा निर्माण गर्न आफ्नो तर्फंबाट ५ लाख रुपैया सहयोग गर्ने घोषणा गरेका थिए ।

यस बाहेक डा थापाले समुदायमा पुगेर स्वयमसेवीको रुपमा काम गर्ने इछ्या समेत जगाएका छन। डा थापाका अनुसार उनले आफ्नी आमाको पुण्य स्मृति दिवसको सन्दर्भमा पोखरा महानगरपालिका -१७ स्थित पोखरा वृद्धाश्रममा रहेका बृद्धबृद्धाहरुको लागि निशुल्क स्वास्थ्य शिबिर संचालन गरि सेवा दिनथालेका छन। हरेक वर्ष स्वास्थ्य शिबिरमार्फत वृद्धाश्रममा बस्नेहरुलाई सेवा गर्ने उनको लक्ष रहेकोछ।

यसैगरि उनले पोखराको छोरेपाटन र हेम्जामा रहेका मानव सेवा आश्रममा बस्नेहरुकोलागि पनि हरेक वर्ष स्वास्थ्य शिबिर संचालन गर्नलागेका छन। छोरेपाटनस्थित आश्रममा असहाय महिलाहरु रहेको र त्यहाँ डा थापाको जन्मदिन असार ५ गतेको मा स्वास्थ्य शिबिर गरिनेछ भने पुरुष हरुलाईमात्र राखिने हेम्जास्थित आश्रममा आफ्नो बिबाह भएको दिन अर्थात फागुन २४ गते (एनिभर्सरी) को दिन स्वास्थ्य शिबिर संचालन गरिंदै आएको डा बुद्धिबहादुर थापाले गुरुकुल खबरलाई जानकारी दिए ।

नियमित रुपमा संचालन हुने उल्लिखित स्वास्थ्य शिबिर बाहेक आबश्यकता अनुसार अन्य विभिन्न स्थानमा अन्य संघसंस्थासंग सहकार्य गरेर पनि पटक पटक स्वास्थ्य शिबिरहरु हुनेगरेको र तिनमा अन्य चिकित्सकहरुको पनि सहभागिता र सहयोग रहने गरेको उनको भनाई छ । डा थापा सहित डा बसन्त ताम्राकार लगायतको चिकित्सक र स्वास्थ्यकर्मीहरुको टोली समेत मासिक रुपमा हुने स्वास्थ्यशिबिरमा सहभागी हुने गरेको डा थापाले जानकारी दिए ।

 

८ बैशाख २०८१, शनिबार १४:३० मा प्रकाशित
Nabintech