Play

निष्ठावान कांग्रेस नेता पौडेलको अबसान, श्रद्धान्जली दिन कांग्रेस र अन्य दलका नेता कार्यकर्ता र अन्यको उल्लेख्य उपस्थिति (भिडियो सहित)

गुरुकुल खबर


पोखरा । नेपाली कांग्रेसको संगठनमा त्यागी, निष्ठावान र इमान्दार नेताको रुपमा स्थापित व्यक्तित्व खेमराज पौडेलको शुक्रबार पोखराको रामघाटमा अन्त्येष्टि गरिएको छ। पौडेलको शुक्रबार नै उपचारको क्रममा पोखराको फेवा सिटि अस्पतालमा निधन भएको थियो । नेपाली काँग्रेसका महासमिति सदस्य समेत रहेका ८१ बर्षीय पौडेल शुरुमा घांटी र पछिल्लो समय फोक्सोको क्यान्सरबाट पीडित थिए ।

बिहान करिब ११ बजेतिर निधन भएपछी पौडेलको पार्थीव शरीर उनको निवास पुम्दिभुदी लागिएको र आबश्यक मृत्यु संस्कार अन्तर्गतका काम गरि वहाँको पार्थीव शरीर अन्तिम श्रद्धान्जलीको लागि चिप्लेढुंगा स्थित नेपाली काँग्रेस कास्कीको कार्यालयमा राखिएको थियो । दिउँसो ३.३० देखि करिब ४.१५ सम्म पार्टी कार्यालयमा राखिएको  पौडेलको शब त्यसपछि पोखराको शान्तीघाट ( रामघाट) लगेर अन्त्येष्टि गरिएको थियो ।

पौडेलप्रति अन्तिम श्रद्धान्जली दिन नेपाली कांग्रेस कास्कीको कार्यालयमा र दाहसंस्कार स्थल रामघाटमा कांग्रेस लगायत विभिन्न राजनीतिक दलका नेता कार्यकर्ता जनप्रतिनिधिहरु पुगेका थिए ।  पार्टी कार्यालयमा नेपाली कांग्रेसका केन्द्रीय सदस्यहरु प्रदीप पौडेल, गुरु बराल र शारदा पौडेल सहित कास्की कांग्रेसका सभापति र पूर्व सभापतिहरुले पार्टीको झन्डा ओढाएका थिए भने पुम्दी स्थित निवासमा पौडेलको शवमा कांग्रेस नेता देबराज चालिसे, स्थानीय कांग्रेस नेता एबम पूर्व वडा सभापति राज बहादुर गुरुङ सहित अन्यले पार्टीको झन्डा ओढाएका थिए ।यसका साथै पोखरामहानगर पालिकाका प्रमुख धनराज आचार्य, कास्की जिल्ला समन्वय समितिका अध्यक्ष लिलाधर बराल लगायतर जनप्रतिनिधिहरु र  विभिन्न राजनीतिक दलका नेता कार्यकर्ताहरु अन्तिम श्रद्धान्जली अर्पण गर्न पुगेका थिए ।

पौडेलका आफन्त समेत रहेका कांग्रेस नेता भेषराज पराजुलीका अनुसार  कांग्रेस नेता पौडेलको परिवारमा श्रीमती चित्रकुमारी पौडेल, दुई छोरा मानव पौडेल र दर्शन पौडेल तथा  दुई छोरी गौकुमारी र खेमकुमारी (देबी) रहेका छन । छोरा दर्शनले पोखराको जनप्रिय बहुमुखी क्याम्पसमा अध्यापन गर्दैछन । छोरी गौकुमारी तनहुँ र अर्की छोरी खेमकुमारी चितवनमा आफ्नो परिवारसंगै  बस्ने गर्छन । पौडेलका भाईहरु इन्द्रराज पौडेल, शिबकुमार पौडेल, भवनराज पौडेल र रामप्रसाद पौडेल रहेको र उनीहरु समेत कांग्रेसको विभिन्न जिम्मेवारीमा रहेका छन । इन्द्रराज र भवनराज कास्की बाहिर अन्य जिल्लामा बस्दै आएका छन।

कास्की जिल्लाको तत्कालिन पुम्दीभुम्दी गाबिस वडा न ३ लुकुन्स्वाँरा तथा हाल पोखरा महानगरपालिका वार्ड न २२ पुम्दी निबासी पौडेलको करिब तिन वर्ष अगाडी घांटीमा क्यान्सर भएको पत्ता लागेको थियो । त्यसपछि उनको उपचार पोखरा चितवन र काठमाडौँस्थित बिभिन्न अस्पतालका चिकित्सकहरुबाट गरिएको थियो । घांटीको उपचार गरेपछि स्वास्थमा सुधार आएको बिश्वास पौडेल स्वयमले पनि गरेका थिए तर केहि महिना अगाडी पौडेललाई अचानक फोक्सोमा समस्या देखिएपछि चेकजांच गर्दा घांटीको क्यान्सर फैलिएर फोक्सोमा पुगेको र जटिल संक्रमण भैसकेको पत्ता लागेको चिकित्सकहरुको भनाई छ ।

पौडेलको उपचारमा संलग्न डा बुद्धिबहादुर थापाले पौडेलको घांटीमा देखिएको क्यान्सर फैलिंदै फोक्सोमा पुगेको कारण स्वास्ठअबस्था गम्भीर बन्दै गएको स्मरण गराए । हरेक ५/७ दिनमा फोक्सोमा जमेको पानि निकाल्नुपर्ने भएकोले पनि वहाँको अबस्था कम्जोर बन्दै गएको बताउंदै डा. थापाले भने – पछिल्लो पटक करिब एक साता अस्पतालमा राखिएकोमा ३/४  दिन आइसीयुमा राखेर उपचार गरिएको र शुक्रबार बिहान निधन भएको जानकारी दिए ।

पौडेल बिरामी परेपछि उनलाई भेट्न र स्वास्थलाभको कामना गर्न ठुलो संख्यामा कांग्रेसका नेता कार्यकर्ताहरु उनको निवास पुम्दी पुग्नेगरेका थिए ।

बिस २००१ सालको भाद्रमा तुलसीराम पौडेल र नन्दकली पौडेलको जेष्ठ सुपुत्रको रुपमा जन्मिएका पौडेल जननायक बीपी कोइराला प्रधानमन्त्री रहेकै समयमा अर्थात २०१७ सालमा कास्की क्षेत्र नं ९९ को अधिवेशनमा सहभागी भएर बीपी र सुवर्णशम्शेरको उपस्थितिमा लीलाभक्त आचार्यलाई सभापति बनेको समयबाट नै कांग्रेसको राजनीतिमा लागेका थिए ।

समयको अन्तरालसंगै पौडेलमा राजनीतिक चेतना बढ्दै गएको र उनले नेपाली काँग्रेसको राजनीतिमा जिम्मेवारी लिंदै क्रियाशीलता पनि बढाउंदै गएका थिए । सोहि अनुरुप तारानाथ रानाभाट सभापति, उनै खेमराज पौडेल उपसभापति र शुक्रराज शर्मा सचिव रहेको नेपाली कांग्रेसको कास्की जिल्ला समिति समेत गठन भएको उनका परिवारका सदस्य डा कृष्ण प्रसाद पौडलले जानकारी दिए ।

निरंतर कांग्रेसको लागि चिन्तित रहने पौडेल नेपाली काँग्रेस बिभाजन भएर नेपाली काँग्रेस र नेपाली काँग्रेस प्रजातान्त्रिक बनेको समयमा पौडेल  शेरबहादुर देउबाले नेतृत्व गरेको नेपाली काँग्रेस प्रजातान्त्रिकको कास्की जिल्ला सभापति समेत बनेका थिए ।

नेपाली कांग्रेसका संस्थापक विश्वेश्वर प्रसाद कोइराला, सुवर्ण शमशेर, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराई जस्ता पुराना नेताको संस्कार र निष्ठाको राजनीतिबाट शिक्षित र दीक्षित भएका पौडेलले पार्टी भित्र पनि निष्ठा र त्यागको विषय बारम्बार उठाउने गर्थे । कांग्रेसको राजनीतिमा कास्कीका पुराना अनि निरन्तर सक्रिय नेताको रुपमा पहिचान बनेको भएपनि र कांग्रेस पार्टी सत्ता र शक्तिमा रहेपनि पौडेलले लाभको पदमा बस्ने अवसर भने खासै मिलेन । उनलाई तत्कालिन सुकुम्बाशी समस्या समाधान आयोगको कास्की जिल्ला संयोजक बनाइएको थियो तर  राजनीतिक कारण सरकार परिबर्तन भएसंगै उनले लामो समय काम गर्न पाएनन ।

उनले पार्टीको तर्फबाट पब्लिक चुनाब लड्ने टिकट एकपटक मात्र प्राप्त गरेका थिए । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको निधन भएपछि रिक्त हुन पुगेको कास्की निर्वाचन क्षेत्र नं.२ मा प्रतिनिधिसभा सदस्यको उपनिर्वाचन २०७५ मा मात्र उनलाई पार्टीले उमेद्वार बनाएको थियो । उक्त निर्बाचनमा एमाले नेत्री तथा स्व रबिन्द्र अधिकारीकी धर्मपत्नी बिद्या भट्टराईले बिजय प्राप्त गरेकी थिईन ।

पौडेलको निधनप्रति नेपाली कांग्रेस केन्द्रीय समिति, गण्डकी प्रदेश समिति, कास्की जिल्ला समिति र पोखरा महानगरसमिति सहित विभिन्न वडा र्कायसमितिहरुले दुख ब्यक्त गर्दै शोक बिज्ञप्ति जारी गरेका छन । पौडेलको निधनले एक त्यागि, निष्ठावान प्रजातन्त्रबादी नेता गुमाउनुपरेको र प्रजातन्त्र र नेपाली कांग्रेसको लागि अपुरणीय क्षति पुगेको उनीहरुले जारी गरेको बिज्ञप्तिमा उल्लेख छ । कास्की काँग्रेसले बैशाख २ गते सम्म कार्यालय बन्द गर्ने, ३ दिन पार्टीको झन्डा झुकाउने र १३ दिन सम्म पार्टी कार्यालयमा शोक पुस्तिका राखिने जनाएको छ ।

३० चैत्र २०८०, शुक्रबार २१:५१ मा प्रकाशित
Nabintech

सूचना तथा प्रसारण विभाग
दर्ता नम्बर : ३११६-२०७८/७९

प्रेस काउन्सिल नेपाल
सुचिकरण नम्बर : ३१४६-२०७८/७९

कम्पनी रजिष्ट्रारको कार्यालय
कम्पनी दर्ता नं. : १७६६५४-२०७४/७५

आन्तरिक राजश्व विभाग
स्थायी लेखा नम्बर : ६०६८६९२०१

गोल्डेन मिडिया ग्रुप प्रा.लि.
गुरूकुल खवर डट कम

प्रधान कार्यालय
पोखरा महानगरपालिका -०५ धवलमार्ग, जिरो किमी, कास्की, गण्डकी प्रदेश

सम्पर्क नम्बर
०६१५७२२२२ कार्यालय
९८२०७०३४४८ विज्ञापन / ९८५६०२२३३२ समाचार

ईमेल
[email protected]
[email protected]

Follow us :
अध्यक्ष/प्रधान सम्पादक :
गंगाधर पराजुली
निर्देशक :
ऋषिराम काफ्ले
सह सम्पादक :
शिराेमणि बराल
प्रतिनिधि :
अर्जुन ओझा