Play

राष्ट्रिय सभा अध्यक्षको चुनाब मंगलबार हुने, प्रचण्डलाई भेटेर सिटौलाले भने- यो धोकाधडी सजिलो हुन्न, पछुताउनुपर्छ

गुरुकुल खबर


काठमाडौं । फागुन २९ गते राष्ट्रिय सभा अध्यक्ष पदका लागि हुने निर्वाचनको सूचना प्रकाशन गर्न राष्ट्रिय सभाकी उपाध्यक्ष उर्मिला अर्यालले आज निर्देशन दिएकी छन् ।  उपाध्यक्ष अर्यालले संघीय संसदका महासचिव पद्मप्रसाद पाण्डेलाई सूचना प्रकाशनका लागि निर्देशन दिएकी हुन्।

यही फागुन २० गतेबाट रिक्त अध्यक्षको पदपूर्तिका लागि फागुन २९गते मंगलबार निर्वाचन गरिने मिति तय भएको आइतबारको राष्ट्रिय सभा बैठकमा अर्यालले जानकारी गराइन् ।  आइतबारको सर्वदलीय बैठकमा कांग्रेसले राष्ट्रिय सभा अध्यक्षको चुनाव सार्न आग्रह गरे पनि फागुन २९ गतेलाई नै चुनाव मिति तोकिएको हो।

५९ सदस्यीय राष्ट्रिय सभामा नेकपा माओवादी केन्द्र सबैभन्दा ठुलो पार्टी छ । उसको उपाध्यक्षसहित १८ सांसद छन् ।  यस्तै, कांग्रेस १६ सिटसहित दोस्रो ठुलो दल हो । एमालेका १० जना सांसद छन् । एकीकृत समाजवादी ८, जसपा ३, लोसपाको पनि एक जना सांसद राष्ट्रिय सभामा छन् ।

यसै बीच नेपाली कांग्रेसका नेताहरुले  आइतबार प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका छन्।  प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कांग्रेस महामन्त्री गगन थापा, कांग्रेस राष्ट्रियसभा दलको नेता कृष्णप्रसाद सिटौला र कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका हुन् ।

कांग्रेस महामन्त्री थापाका अनुसार प्रधानमन्त्री प्रचण्डसँगको करिब आधा घण्टाको भेटवार्ताका क्रममा सिटौलाले आफ्नो कुरा राखेका थिए । ‘आज हामी तपाईंलाई प्रधानमन्त्रीको रूपमा भेट्न आएको होइन । विगतको गठबन्धनमा रहेका एउटा दलको अध्यक्षसँग भेट्न आएका हौँ,’ सिटौलाले भने, ‘नेपाली कांग्रेसलाई त तपाईंले धोका दिनुभयो दिनुभयो । व्यक्तिगत रूपमा मलाई पनि धोका दिनुभयो ।’

सिटौलाले राष्ट्रियसभा अध्यक्षमा आफूलाई के गर्नुहुन्छ भनेर प्रश्न गरेका थिए । ‘म राष्ट्रियसभा सदस्य हुने लाइनमा थिइनँ । तपाईंले नै नेपाली कांग्रेसका नेताहरूसँग कृष्ण सिटौलाजी राष्ट्रियसभा अध्यक्ष हुने हो भने हामीले छोड्न सकिन्छ भन्नुभयो,’ उनले भने, ‘शान्ति प्रक्रियामा भूमिका खेलेर आउनु भएको उहाँ आउँदा ठिक छ भनेर भनेपछि नेपाली कांग्रेसले मलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।  अब के गर्नु हुन्छ ? अहिले मलाई तपाईले धोका दिन मिल्छ ?’

प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग सैद्धान्तिक मतभेद देखिएपछि गठबन्धन फेर्नुपरेको जवाफ दिएका थिए । फागुन १७ मा आफूसँग किन झुट बोलेको भन्दै सिटौलालाले प्रधानमन्त्री प्रचण्डलाई प्रश्न गरेका थिए ।

‘तपाई चार-पाँच महिनादेखि ओलीसँग कुरा भइराखेको भन्नुहुन्छ । मैले फागुन १७ गते आएर बाहिर हल्ला यस्तो छ नि भन्दा तपाई होइन होइन भन्नुहुन्छ । तपाईले किन झुट बोल्नुभएको ? गठबन्धनका दलसँग किन छलफल गर्नु भएन ?,’ उनको प्रश्न थियो ।

सिटौलाले गिरिराजप्रसाद कोइरालालाई राष्ट्रपति बनाउन सहयोग नगरेकोमा पश्चात्ताप गरिरहेको भन्दै भोलि पनि त्यो दिन आउने बताएका थिए। ‘नेपाली कांग्रेस र मलाई दिएको यो  धोकाधडी त्यति सजिलै जान्छ नभन्ठान्नुहोला,’ उनले भने, ‘तपाईं पछुताउनुपर्छ ।’ सिटौलाले आफ्नो कुरा राखेपछि कांग्रेस नेताहरू बालुवाटारबाट बाहिरिएका थिए ।

२७ फाल्गुन २०८०, आईतवार १४:४४ मा प्रकाशित
Nabintech