Play

भरतपुर “हेल्थ हब”को रूपमा विकास हुँदै गएको छ : प्रधानमन्त्री

गुरुकुल खबर


भरतपुर,  प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले भरतपुर महानगरपालिका स्वास्थ्य क्षेत्रमा नयाँ “हब”को रूपमा विकास हुँदै गएको बताएका छन् । शुक्रबार बिहान चितवनको भरतपुरमा निर्मित भरतपुर आँखा अस्पतालको नयाँ भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् । कार्यक्रममा प्रधानमन्त्रीले भने , “भरतपुर आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ।”

उनले वि.सं. २०४४ सालमा स्थापित भई आँखाको उपचारका साथै अध्ययन, अध्यापन र व्यवसायिक तालीमका क्षेत्रमा विशिष्टिकृत योगदान पु¥याउँदै आएको आँखा अस्पताल भरतपुर क्षेत्रको मात्र आँखा अस्पताल नभएर स्वदेश तथा विदेशका समेत सेवाग्राहीहरूको आँखा सम्बन्धी उपचारको केन्द्रका रूपमा स्थापित हुँदै गएको बताए  ।

‘नेपालका साथै छिमेकी मित्रराष्ट्र भारतबाट समेत यस अस्पतालमा सेवा लिने सेवाग्राहीहरूको उल्लेख्य संख्या रहनुले पनि अस्पतालको महत्व र सेवा प्रवाहको गुणस्तर प्रमाणित हुन्छ । यस अस्पतालको स्थापना एवं विकासका निम्ति चितवन जिल्ला र यस आसपासको क्षेत्रका सामाजिक व्यक्तित्वहरूको विशिष्ट योगदान रहँदै आएको छ । नेपाल सरकार, सामाजिक क्षेत्र र सामाजिक व्यक्तित्वहरूको साझा पहल र सक्रियताकै कारण अस्पतालले आँखा रोगसम्बन्धी विशेषज्ञ सेवा र अस्पतालको विश्वसनियतामा समेत बढोत्तरी हुँदै गएको छ ‘  प्रधानमन्त्री प्रचण्डले भने

नवनिर्मित भवनको उद्घाटनपछि बालरोग बहिरंग सेवा, बालबालिकाका लागि अलग्गै टिकट काउन्टर, ओपिडी कक्षमा बिस्तार, फार्मेसी कक्ष, चश्मा बिक्री कक्ष, बालमैत्री खेल कक्ष, स्टाफ कन्फरेन्स हल र स्तनपान कक्षको व्यवस्थापन हुने छ । नवनिर्मित भवनको उद्घाटनपछि अस्पतालले दिने सेवाको मात्रा र गुण दुबैमा गुणात्मक सुधार हुने विश्वास ब्यक्त गर्दै उनले भौतिक संरचनाको विकाससँगै अस्पतालले दिने सेवा, अनुसन्धान र स्वास्थ्य तालीमहरूमा पनि सोहीस्तरमा क्षमता अभिवृद्धि गर्न आवश्यक रहेको स्पष्ट पारे  ।

स्वास्थ्य बीमा कार्यक्रमको प्रभावकारी कार्यान्वयन, देशभरिका सबै अस्पतालमा १० प्रतिशत शय्या गरिब, बिपन्न र असहाय नागरिकका लागि निशुल्क उपलब्ध गराउने व्यवस्था, महिलाहरूमा देखापर्ने स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरविरूद्धको खोप निशुल्क उपलब्ध गराउने व्यवस्था, स्वास्थ्य क्षेत्रमा सामाजिक सुरक्षाका कार्यक्रम, बिपन्न बिरामीहरूका लागि अनुदानको व्यवस्था लगायत महत्वपूर्ण निर्णयहरू कार्यान्वयनमा आएको समेत उनले बताए ।

१८ फाल्गुन २०८०, शुक्रबार ११:१४ मा प्रकाशित
Nabintech