गोदावरी (ललितपुर)। देशको ठुलो राजनीतिक दल नेपाली कांग्रेसको महासमिति बैठकले वर्तमान गठबन्धन चार वर्ष नै रहने सहित विभिन्न निष्कर्ष निकाल्दै सकिएको छ । ललितपुरको गोदावरीमा फागुन ७ गते बाट सुरू भएर १० गते सकिएको महासमिति बैठकले ११ वटा निष्कर्ष सार्वजनिक गर्दै कांग्रेसले तीनै तहका सरकार संचालनमा देखिएका समस्यालाई समाधानका लागि नेतृत्वदायी भूमिका खेल्ने जनाएको छ । बैठकबाट विभिन्न प्रस्तावहरू आगामी केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत छलफलबाट आएका सुझावलाई समेट्दै ती प्रस्तावहरू पारित भएको बताइएको छ ।
पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले महामन्त्री विश्वप्रकाश शर्माले बैठकमा प्रस्तुत गरेको प्रस्तावमा वर्तमान गठबन्धन चार वर्ष नै कायम रहने उल्लेख रहेको र सो प्रस्ताव महासमिति बैठकबाट पारित भएको जानकारी दिए ।
महामन्त्री गगन थापाले कांग्रेससहितको सत्ता गठबन्धनलाई निरन्तरता दिने समेत बैठकले निर्णय गरेको जानकारी दिए । ‘वर्तमान सरकारमार्फत भ्रष्टाचार, विसंगति र विकृतिका विरुद्ध वैधानिक रूपले सुशासन र राष्ट्रिय सदाचारको पद्धति सुरुवात गर्न सम्पूर्ण रूपले दृढसंकल्पित रहने अठोट गर्दै,अर्थतन्त्रमा देखिएका चुनौतीलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै, मुलुकमा विद्यमान सवैखाले विभेद र हिंशाविरुद्ध अभियान सञ्चालन गर्ने प्रतिबद्धता गरेको छ’महामन्त्री थापाको भनाइ थियो ।
‘उपसभापति पूर्णबहादुर खड्काले पेस गरेको नीति प्रस्ताव, महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको सांगठानिक प्रस्ताव र अर्का महामन्त्री विश्वप्रकाश शर्माले प्रस्तुत गरेको समसामयिक राजनीतिक प्रस्तावमा पार्टीको नीति, सांगठानिक योजनामा स्पष्ट दृष्टिकोण निर्माण भएको छ’, बैठकको निष्कर्ष सुनाउँदै महामन्त्री थापाले भने, ‘बन्द सत्रमा प्रस्तुत प्रस्तावमा सहभागी सदस्यहरूबाट अत्यन्तै महत्त्वपूर्ण सुझावहरू प्राप्त भएका छन् । प्राप्त सुझावहरूलाई केन्द्रीय कार्यसमितिले पारित गर्नेगरी महासमितिको बैठक सकिएको छ ।’
महासमिति बैठक सम्बन्धमा पार्टीका प्रचार प्रसार उपसमितिका संयोजक मीनबहादुर विश्वकर्माले जारी गरेको विज्ञप्तिमा शान्ति प्रक्रियाका बाँकी काम, संक्रमणकालीन न्यायका विषय चाँडै टुङ्याउने प्रतिबद्धता जाहेर गरिएको छ । अर्थतन्त्रमा देखिएका विविध समस्या र चुनौतिलाई समाधान गर्ने जिम्मेवारी बोध गर्दै कांग्रेसले किसान, सहकारी बचतकर्ता, मिटरव्याज र लघुबित्त पीडितहरुले भोग्दै आएका पीडालाई अभिलम्व समाधान गरी पीडितलाई न्याय दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण गराएको छ ।
साथै बन्द सत्रमा प्रस्तुत गरिएका प्रस्तावमा सहभागी सदस्यवाट प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितले परिमार्जनसहित अन्तिम रुप दिने गरी तीनवटै प्रस्ताव महासमितिको बैठकले सर्वसम्मतिले पारित गरेको समेत निष्कर्षमा उल्लेख छ । त्यस्तै बैठकले तीनै तहका सरकार सञ्चालनमा देखिएका समस्या समाधानका लागि नेतृत्वदायी भूमिकाप्रति नेपाली कांग्रेस स चेत रहेको उल्लेख छ
साथै नेपाली कांग्रेसका प्रवक्ता एवं अर्थ मन्त्री डा. प्रकाशसरण महतले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन सुझावसहित ग्रहण गर्नुका साथै लेखा समितिका संयोजक श्यामप्रसाद घिमिरेले प्रस्तुत गर्नुभएको लेखा परिक्षण प्रतिवेदन वैठकले अनुमोदन गरेको छ ।
महासमिति बैठकको समापनको अबसरमा बोल्दै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महासमिति बैठकमा पारित भएका प्रतिवेदन परिमार्जनसहित अनुमोदन हुने बताएका छन् । महासमिति बैठकको समापन सत्रमा उनले प्रतिवेदनमाथि आएका राय सुझावलाई आत्मसात् गर्दै केन्द्रीय समितिले अनुमोदन गर्ने बताए । कांग्रेस महासमिति बैठकबाट भएका निर्णयलाई देश र विदेशबाट महत्त्वका साथ हेरिएको सभापति देउवाले बताए ।
यस्तै उनले गठबन्धन सरकारलाई सुशासन कायम गर्ने दायित्व रहेको बताउदै पूर्व प्रधानमन्त्री समेत रहेका देउबाले महासमिति बैठक सफल पार्न सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरेका थिए ।
नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले वर्तमान संविधान कांग्रेसको नेतृत्वमा जारी भएको भन्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने बताए । बैठकको समापन समारोहमा उनले कांग्रेसले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संविधान जारी गरेको स्मरण गर्दै संविधान संशोधनको नेतृत्व पनि कांग्रेसले नै लिनुपर्ने समय आएको बताए । संविधान जारी गर्ने बेला विभिन्न राजनीतिक दलहरूसँग गरेको प्रतिबद्धता बमोजिम संविधानलाई समयानुसार परिवर्तनशील दस्तावेजकारुपमा ग्रहण गरी संविधान संशोधनको नेतृत्व गर्नुपर्ने उनको भनाइ थियो ।
“संविधान जारी गर्ने बेला सर्वसम्मति हुन नसकेको सत्य हो । संविधानमा सबैका सबै कुरा समेटिएका छैनन् । कतिपय क्षेत्र, वर्ग र समुदायका अधिकारका विषय छुटेका पनि छन्, कतिपय असन्तुष्टिहरू छन्”, उनले भने, “संविधान जारी भई कार्यान्वयनमा आएको आठ वर्ष बितेको छ । अब संविधान कार्यान्वयनका समीक्षा गर्दै आवश्यक संशोधनका लागि कांग्रेसले वातावरण बनाउनु आवश्यक छ ।” उनले अन्य राजनीतिक दललाई विश्वासमा लिएर संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप मजबुद बनाउन पहल लिनुपर्नेमा जोड दिए ।
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री समेत रहेका खड्काले कांग्रेसका तर्फबाट वर्तमान मन्त्रिमण्डलमा सहभागी नौ मन्त्रीले पार्टीले शिर झुकाउनु पर्ने गलत काम नगरेको उल्लेख गरे । कांग्रेसको तर्फबाट सरकारको नेतृत्व गरिरहेका उनले सरकारमा रहेका नेताहरूले जनतालाई सेवा गरिरहेको बताए ।
“सभापतिज्यूले मलाई विश्वास गरेर मेरो नेतृत्वमा नौ जना साथीलाई सरकारमा पठाउनुभएको छ । आजका दिनसम्म हामीले जनतालाई केन्द्रमा राखेर काम गरिरहेका छौँ”, उनले भने, “म गर्वका साथ भन्नसक्छु हामीले जनता र पार्टीको शिर झुकाउनुपर्ने खालका कुनै पनि काम गरेका छैनौँ ।” वर्तमान सरकार सुशासन स्थापनाका लागि प्रयासरत रहेको भन्दै उनले महासमिति बैठकमा मन्त्रीबारे प्राप्त टिप्पणी र सुझावलाई ध्यानमा राखेर अगाडि बढ्नेमा विश्वास व्यक्त गरे ।
समापन समारोहमा बोल्ने क्रममा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले महासमिति बैठकले पार्टीलाई एकढिक्का भएको सन्देश दिएको बताएका छन् । महामन्त्री शर्माले महासमिति बैठकमा देशका दर्जनौँ विषयहरूमाथि छलफल गरेको बताउदै उनले भने, ‘महासमिति बैठकमा हामीले दर्जनौँ विषयहरूमा छलफल गर्यौँ, र अब यो देशलाई सुशासन र समुन्नतिको यात्रामा लिएर जानलाई कांग्रेस एक ढिक्का भएर अगाडि बढ्छ भन्ने सन्देश दिने ठाउँमा आइपुगेका छौँ,’ उनले भने, ‘हामीले प्रण गरेका छौँ कि अबका १५ वर्षपछि नेपाललाई समुन्नतिको एउटा उचाइमा पुर्याउनेछौँ र त्यसकालागि प्रतिबद्ध छौँ ।’
उनले नेपाल र नेपाली राजनीतिलाई रुपान्तरणका लागि विभिन्न प्रस्तावहरु पारित गरेको बताए । ‘हामीले यही हलभित्र नवराज विकलाई पनि सम्झ्यौँ र निर्मला पन्तसम्मलाई पनि सम्झिएका छौँ । अनि प्रण गरेका छौँ कि अनेकौँ सामाजिक विकृतिहरूलाई रुपान्तरण गरेर अघि बढ्छौँ,’ महामन्त्री शर्माले भने, ‘राजनीतिमा रुपान्तरणका लागि हामीले राजनीतिक प्रस्तावहरू पनि पारित गरेका छौँ ।’
यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गर्ने बताउंदै उनले भने, ‘अहिले देखिएको असन्तुष्टिहरुलाई भर्याङ बनाएर कसैले आगामी निर्वाचनमा सरकारमा जाने सपना देखेको छ । कसैले अवस्था होइन व्यवस्था नै खराब भनेर पुरानै राजतन्त्रलाई ल्याउने परिकल्पना गरिरहेका छौँ । तर, हामी यही व्यवस्थाभित्र रहेर सबै असन्तुष्टिलाई समाधान गछौं ।’
उनले अब राष्ट्रपतिमा एक पटक, प्रधानमन्त्रीमा दुई पटक, मन्त्रीको तीन र सांसदको चार पटक भन्दा शपथ नगर्ने निर्णय बैठकले पारित गरेको बताए ।
यसै गरि नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेताको नाममा सहकारी ठग्ने, जग्गा किर्ते गर्ने र नागरिकता किर्ते गर्नेहरूलाई पार्टीले ठिक गर्नुपर्ने बताएका छन् । समापन कार्यक्रममा बोल्दै महामन्त्री थापाले कांग्रेसका कार्यकर्ताले दुःख र समस्या छ भनेर सुविधा नपाउने बताए। थापाले भने, ‘दुःख जसले पनि देखाउन सक्छ, हामीले दुःखको हल दिनुपर्नेछ । किनकि हामी जिम्मेवारीमा छौँ ।’
यस्तै उनले काम गर्न नसक्ने र दाग लागेका मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने बताए तर उनले कुन मन्त्रीले काम गर्न सकेको छैन र कसलाई दाग लागेको छ भन्ने खुलाएनन । पार्टीबाट निर्वाचित भएका वडाध्यक्षदेखि मन्त्रीसम्म सबै जनप्रतिनिधिले आफ्नो रिपोर्ट कार्ड दिन सक्नुपर्ने थापाले बताए । ‘म जस्तो सांसद होस् वा मन्त्री होस् प्रत्येकले रिपोर्ट कार्ड दिन सक्नुपर्छ । हाम्रो कामबाट नागरिक खुसी भएर कांग्रेसलाई धन्यवाद भन्न सक्नुपर्छ । काम गर्न नसक्ने मन्त्रीलाई विश्राम दिऔँ, दाग लागेको मन्त्रीलाई घर पठाऔँ’, उनले भने ।
उनले संगठनको अनुशासन उल्लंघन गर्नेलाई १० वर्ष पार्टीबाट निष्कासन गर्ने आँट गरे चुनावमा कसैसँग कुम जोड्न नपर्ने बताए ।