Play

राष्ट्रियसभा निर्वाचनका लागि एमाले, माओवादी र जसपाका उमेदवारको टुंगो, कांग्रेस अझै अनिर्णीत

गुरुकुल खबर


काठमाडौँ, २२ पुस । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले राष्ट्रियसभा निर्वाचनका लागि १९ सिटमा उम्मेदवारको नाम टुङ्ग्याएको छ । साथै उक्त पार्टीले उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

एमालेले आज जारी गरेको विज्ञप्तिअनुसार कोशी प्रदेशबाट सुनसरीकी रुक्मिणी चौधरी र भोजपुरका पर्शुराम अधिकारीलाई उम्मेदवार बनाइएको छ । मधेस प्रदेशबाट पर्साकी उषादेवी थरूनी र महोत्तरीका अर्जुनकुमार सिंहलाई उम्मेदवार बनाएको छ । बागमती प्रदेशबाट दोलखाकी रोचकुमारी चौलागाईं, चितवनका त्रिलोचन निर्मल पौडेल, काठमाडौँका विवेक देवकोटा र धादिङका धु्रवराज विश्वकर्मालाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी गण्डकी प्रदेशमा गोरखाकी सम्झना देवकोटा, स्याङ्जाका चक्रबहादुर पराजुली र मुस्ताङका हेमचन्द्र शेरचनलाई उम्मेदवार बनाउने निर्णय गरेको एमालले जनाएको छ ।

सो पार्टीले लुम्बिनी प्रदेशमा दाङकी तुलसाकुमारी केसी र पाल्पाका झपेन्द्रबहादु घर्ती, कर्णाली प्रदेशमा हुम्लाकी विमलाकुमारी शाही, मुगुका डिल्लीप्रसाद भट्ट र दैलेखका हिक्मत विक उम्मेदवार बनाएको छ । सुदूरपश्चिम प्रदेशमा कैलालीकी सावित्रादेवी घिमिरे, कञ्चनपुरका ईश्वरीप्रसाद खरेल र कैलालीका रामचन्द्र जोशी उम्मेदवार बनाएको एमालेले जनाएको छ ।

यसैगरी जनता समाजवादी पार्टी (जसपा) नेपालले राष्ट्रियसभा सदस्यमा निर्वाचनमा पूजा चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।

केन्द्रीय कार्यालय आज भएको केन्द्रीय कार्यकारिणी समितिको बैठकले रौतहटकी चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।

सरकार नेतृत्वकर्ता दल माओवादी केन्द्रले आसन्न राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवारको नाम टुंग्याएको छ ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा बसेको बैठकले पार्टीबाट हुने उम्मेदवारको नाम टुग्याएको हो ।

आगामी ११ माघमा हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि २३ पुसमा उम्मेदवारी मनोनयनको कार्यतालिका छ ।

नेपाली कांग्रेसले राष्ट्रिय सभाका लागि उम्मेदवार चयन गर्न ढिलाइ गरेको छ।

पार्टीभित्र संस्थापन र इतर पक्षले कति सिट लिने भन्ने समझदारी बन्न बाँकी हुँदा उम्मेदवारी चयन ढिलाइ भएको हो।

सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार दिउँसो नेता शेखर कोइराला र महामन्त्री गगन थापालगायतको छलफल भएको थियो।

त्यहाँ नेता कोइरालाले कम्तीमा चार सिट आफूहरूले उम्मेदवारी दिन पाउनुपर्ने अडान राखेका थिए। स्रोतका अनुसार सभापति देउवाले गठबन्धनबाट कांग्रेसलाई १० सिट आएकोमा संस्थापन इतरलाई बढीमा तीन सिट मात्र दिन सकिने बताएका थिए।

सभापति देउवासँग कुरा नमिलेपछि कोइराला र महामन्त्री थापा धुम्बाराहीबाट निस्केका छन्। उनीहरू कोइरालाको सचिवालय विशालनगर बालुवाटारमा पुगेका छन्। त्यहाँ कोइराला, उपसभापति धनराज गुरूङ, महामन्त्री थापा, सहमहामन्त्री जीवन परियार र बद्री पाण्डे, नेता अर्जुननरसिंह केसी र बलबहादुर केसीलगायत छलफल गरिरहेका छन्।

२२ पुष २०८०, आईतवार १९:३२ मा प्रकाशित
Nabintech