Play

तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार देखिएनन्- कांग्रेस केन्द्रीय सदस्य महर

गुरुकुल खबर


काठमाडौँ  । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप लगाएका छन् । बिहीबार पार्टी मुख्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमा उनले तीनै तहका सरकार जनता र पार्टीप्रति जिम्मेवार नदेखिएको आरोप आरोप लगाएका हुन् ।

तीनै तहको सरकार सञ्चालनका लागि संयन्त्र निर्माण गर्ने भनिए पनि कार्यान्वयन नभएको भन्दै प्रश्न गरेका छन् । यसमा पार्टीको आधिकारिक दृष्टिकोण आउनुपर्ने उनको भनाइ थियो ।

‘हाम्रा प्रतिस्पर्धी (प्रतिपक्षी) पार्टीप्रति पार्टीको आधिकारिक दृष्टिकोण तयार गर्नुपर्दछ,’ उनले बैठकमा भने ।

उनले महासमिति बैठकबाट (नीति अधिवेशनबाट) निर्माण हुने नीतिका लागि सबै तहको धारणा लिने व्यवस्था मिलाउनुपर्ने बताए । ‘नेपाली कांग्रेसको इतिहासमा पहिलो पटक नीति निर्माणका लागि नीति नीति अधिवेशन गर्दैछ । त्यो तय भएको नीतिले राष्ट्र र जनताको जीवनमा प्रभाव पार्ने हुनाले ८ लाख ६६ हजार कृयाशील सहित समग्र जनताको अपनत्व हुने गरी नीति निर्माण गरिनु पर्छ,’ उनले भने ।

मुलुक र राष्ट्रको समृद्धिका लागि जनताको धारणा समावेश गरेर अगाडी बढ्नु पर्ने र त्यसलाई कार्यान्वयन गर्नुपर्ने उनको भनाइ थियो । कांग्रेसले पुस १६ देखि माघ १६ सम्म गर्न लागिको ‘समुदायमा कांग्रेस’ धारणा तय गर्नुपर्ने उनले बताए । यस्तै उनले राष्ट्रियसभाका उम्मेदवार तय गर्दा मापदण्ड बनाउनुपर्नेमा जोड दिए ।

पार्टीका भ्रातृ संस्थाको महाधिवेशन गराउनबारे पदाधिकारीको ध्यानाकर्षण गराएका थिए । उनले भने, ‘पार्टीको पदाधिकारी तहमा भ्रातृ संस्थाको महाधिवेशन नगराउने सहमति भएको भन्ने छ । महाधिवेशन नगराउने भनेर सहमति गर्नु लोकतन्त्र विरोधी कुरा हो । भ्रातृ संस्थाको महाधिवेशन गराउनुपर्छ ।’

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक पार्टीका सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बसेको हो बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले ट प्रस्तावहरु प्रस्तुत गरेका थिए भने समुदायमा कांग्रेस अभियानको कार्ययोजनाका सम्बन्धमा महामन्त्री गगनकुमार थापाले र जाजरकोट भूकम्पका सम्बन्धमा सहमहामन्त्री जीवन परियारले जानकारी गराएका थिए ।

बैठकमा केन्द्रीय सदस्यहरु दिलेन्द्रप्रसाद बडू, कृष्णचन्द्र नेपाली पोखरेल, दिपक गिरी, मीनबहादुर विश्वकर्मा, मोहनबहादुर बस्नेत, देवेन्द्रराज कँडेल, डा. डिला संग्रौला, कर्णबहादुर बुढा, राजीव कोइराला, मुक्ताकुमारी यादव, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, भरतकुमार शाह, सीतादेवी देवकोटाले आ–आफ्नो धारणा राखेको बैठकपछि पार्टीका मुख्य सचिव कृष्ण प्रसाद पौडेलले जानकारी गराएका छन ।

बैठक पुष १३ गते पनि बस्ने छ ।

१२ पुष २०८०, बिहीबार २०:३६ मा प्रकाशित
Nabintech