Play

नवराज विकसहित ६ जनाको हत्या घटनामा २३ जनालाई जन्मकैदको फैसला

गुरुकुल खबर


पोखरा, जिल्ला अदालत रुकुम पश्चिमले नवराज विकसहित ६ जनाको हत्याको घटनामा २३ जनालाई जन्मकैदको फैसला सुनाएको छ । साढे तीन वर्षअघि चौरजहारी नगरपालिका सोतीगाँउमा भएको घटनामा यस्तो फैसला आएको हो ।

मंगलबार जिल्ला अदालतका न्यायाधीश खडकबहादुर केसीको इजलासले उक्त घटनामा क्रुरतापूर्वक हत्या गरेको, घाइतेको हकमा ज्यान मार्ने प्रयास गरेको, अपहरण गरी शरीर बन्धक बनाई हत्या गरेको र जातीय भेदभाव तथा छुवाछुत गरेको आरोपमा तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्लसहित २३ जनालाई जन्म कैद अर्थात् २५ वर्षको जे सजाय सुनाएको हो ।

ज्यान मुद्दाको सजाय पाउनेमा जन्मकैदको मुद्दामा सजाय पाउने अन्यमा नवराजकी प्रेमिकाका बाबु (नाम गोप्य), प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, सविन पुन, एक नाबालक, डिल्लीमल्ल ठकुरी, तिलक चन्द, इन्द्रबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ललाई जन्मकैदको सजाय सुनाइएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । त्यस्तै विनोद मल्ल, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनराज राना, नविन घर्ती, भीम पुन, विराज पुन, बिष्णु मल्ल र रमित मगरलाई पनि जन्मकैदको सजाय सुनाइएको छ । उनीहरु हाल पुर्पक्षका लागि थुनामा नै छन् ।

नवराज विककी प्रेमिका, उनकी आमा र भाइले ज्यान मारेको आरोपबाट सफाइ पाएका छन्, तर जातीय छुवाछुतको आरोपमा दोषी ठहर भएका छन् । उनीहरुलाई जनही २ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना गरिएको छ । सूचना अधिकारी कोइरालाले भने, ‘यसअघि धरौटीमा छुटेकाहरुले ज्यान मारेको आरोपबाट सफाइ पाए ।

किशोरी, उनकी आमा र नाबालक भाइ भने जातीय छुवाछुतको आरोपमा मात्रै दोषी ठहर भएका छन् ।’ हरेक पिडितका परिवारलाई ४० हजार रुपैंयाका दरले क्षतिपूर्ति भराउने आदेश भएको सूचना अधिकारी कोइरालाले बताए ।घटनामा संलग्नको आरोप लागेका दीपेन्द्र चन्द, तुलबहादुर मल्ल, इन्द्रबहादुर मल्ल, भीमबहादुर बुढा, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, तुलाराम घर्ती र सौरभ पुन गरी ८ जना सबै मुद्दामा निर्दोष देखिएका छन् ।

२० मंसिर २०८०, बुधबार १२:१४ मा प्रकाशित
Nabintech