Play

पूर्वी नेपालका वासिन्दालाई पोखरा भ्रमणको निम्ता

गुरुकुल खबर


जनकपुर, होटल संघ पोखरा नेपालले दुई दशक अघि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएको छ ।

आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप नेपालको ऐतिहासिक एबं धार्मिक नगरी जनकपुरमा संघले शुक्रबार एक पत्रकार सम्मेलन गरी यस क्षेत्रका वासिन्दालाई पोखरा भ्रमणको निम्ता दिएको छ ।

पोखरा महानगरपालिकाको प्रबर्द्धनमा यही कात्तिक १६ गतेबाट कात्तिक २० गते सम्म संचालन हुने अभियान अन्तर्गत यसपटक जनकपुर, विराटनगर, बिर्तामोड, धनकुटा र चितवन जस्ता शहर समेटिएको छ । सूर्योदयको स्थल भनेर चिनिने पूर्वी नेपालबाट सुरु भएको यस अभियानलाई पुनः अहिले पूर्वी नेपालबाट नै संघले निरन्तरता दिएको हो ।
आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबर्द्धनको मुख्य उद्धेश्य यस कार्यक्रमले बोकेको संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।

देशमा १० वर्षे द्वन्द्व चल्दै गर्दा सुरु गरिएको यस अभियानको प्रभाव सकारात्मक पर्दै गएको र अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकासमा सघाउ पुगेको यथार्थलाई ख्याल गर्दै कार्यक्रमलाई निरन्तरता दिइएको अध्यक्ष सुवेदीको भनाई छ । कार्यक्रम सुरु हुँदा घुम्न निस्कने नेपाली एक प्रतिशत रहेकोमा अहिले त्यस्तो दर ३५ प्रतिशत पुगेको जानकारी पनि उनले दिए ।

पूर्वी नेपालबाट पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पूर्व पठाउने संघको अभियानमा पर्यटन व्यवसायी लगायत सम्बद्ध सबैको साथ र सहयोग रहने अपेक्षा संघको छ । यसैगरी पूर्वी नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा संचालनका लागि सबैको पहल र सक्रियताका लागि समेत संघले अपिल गरेको छ ।

विशेष गरी कोभिड– १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गर्ने उद्धेश्य पनि यस अभियानले लिएको जनाइएको छ । कोभिड–१९ को महामारी जारी रहँदा २०७८ सालको फागुन महिनामा पनि संघले यस अभियानलाई वुटवल, हेटौंडा, विरगंज र चितवनमा संचालन गरेको थियो ।
आन्तरिक पर्यटन प्रबर्द्धनकै लागि संघले फेवा नब वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव गर्दै आएको र यही मंसिर ९ गते अन्तर्राष्ट्रिय पोखरा क्रस कन्ट्री रेस पनि गर्न लागेको छ ।

कार्यक्रममा मधेश प्रदेशका पर्यटन सचिव जयकुमार रावतले आन्तरिक र बाह्य पर्यटकलाई प्रदान गरिने पर्यटकीय सेवा सुविधाको मूल्य दर फरक कायम गर्न सके आन्तरिक पर्यटनमा बढवा आउने विचार राखे । होटल संघ नेपाल मधेश प्रदेशका अध्यक्ष राकेश झुनझुनवालाले जनकपुरको जानकी मन्दिर धार्मिक हिसावले निकै महत्वपूर्ण भए पनि मन्दिरको प्रचार निकै कम भएको बताए । नेपाल पर्यटन बोर्डले उक्त मन्दिरको श्रव्यदृष्य सामग्री बाहिर ल्याई प्रचारप्रशार गर्नु पर्ने माग उनले राखे ।
जनकपुरमा आयोजित कार्यक्रमको संचालन होटल संघ पोखरा नेपालका महासचिव राजेन्द्र ढकालले गरेका थिए ।

यसैविच बिहीबार भ्रमण टोलिले बर्दिवासका पर्यटन व्यवसायीसँग पर्यटकीय साझेदारीलगायतका विषयमा छलफल गरेको थियो । छलफलमा होटल तथा पर्यटन व्यवसायी संघ बर्दिवासका अध्यक्ष गोपाल कार्की, होटल एशोसिएसन नेपाल (हान) मधेस प्रदेशका सदस्य दीपेन्द्र पराजुली, होटल तथा पर्यटन व्यवसायी संघ बर्दिवासका महासचिव नारायण घिमिरे, होटल तथा पर्यटन व्यवसायी महासंघ मधेस प्रदेशका अध्यक्ष हीरा गौतमले आन्तरिक पर्यटन प्रबर्द्धनका लागि व्यावसायीक एकता र सरकारको सहयोगमा जोड दिए ।

१७ कार्तिक २०८०, शुक्रबार ११:४५ मा प्रकाशित
Nabintech