Play

विछोडको इतिहास सम्झाउने डेभिज फलको कथा

गुरुकुल खबर


पोखरा, विक्रम सम्वत् २०१८ साउन १६ गतेको घमाइलो बर्खे दिन । फेवातालको पुछारबाट निस्किएर बग्ने खोलामा एक जोडी स्वीस दम्पती रमाइलो मान्दै नुहाइरहेका । स्नानस्थल भन्दा केही तल मात्र थियो पाताले छाँगो । पति र पत्नी सँगै रोमाञ्चित बन्दै नुहाइरहेको त्यो रमाइलो क्षण धेरै वेर टिक्न पाएन । खोलामा नुहाईरहेको अवस्थामा फेवा बाँधबाट आएको आकस्मीक भेलले श्रीमति डेभीलाई बगाएर छाँगो मुन्तिर पु-यायो । हेर्दा हेर्दै श्रीमति डेभीलकाई भेलले बगाएर मारेपछि श्रीमान् एक्ला भए । यही स्वीस जोडीको विछोडको कथासँग जोडेर पाताले छाँगोको नाम डेभीको छाँगो अर्थात अंग्रेजीमा डेभिज फल रहन गएको हो ।

पोखराको छोरेपाटन स्थित पर्यटकीय आकर्षणको रुपमा परिचीत यो छाँगो देशविदेशका पर्यटक माझ लोकप्रिय गन्तव्यको रुपमा परिचित मात्र छैन यसले युगल जोडीका लागि विछोडको कथा पनि सँगै बोकेर बसेको छ । छाँगोमा पुग्ने युगल जोडीहरु छाँगो देख्दा रोमाञ्चित भए पनि स्वीस दम्पत्तिको विछोडको कथा सुन्दा भने भावुक हुन पुग्छन् । यूगल जोडी बिचको बिछोडको पिडा सम्झाउने यो छाँगोले पछि मात्र पर्यटकीय स्थलको रुपमा ख्याती पाउन थालेको हो ।

सामान्यतया छाँगा र छहराहरु अग्लो टाउँबाट तलको सम्मो ठाउँमा खस्ने भए पनि यो छाँगो भने जमीनबाट तल भास्सीएर खस्ने गरेको छ । पानी आएको खोलातिरबाहेक तीन दिशाबाट नै छाँगोको अवलोकन गर्न सकिन्छ । जमीनबाट तलपट्टि पाताल तिर भास्सीएका कारण पनि छाँगोको नाम पाताले छाँगो रहन गएको हो ।

फेवातालबाट आएको पानी अग्लो भागबाट खसेर डेभिज फल बनेको हो । फेवा बाँध पछि डेड किलोमिटर बगेर आएको पानी जमीनको सतहभन्दा एक सय फिट तलसम्म झरेको देख्न सकिन्छ । यहाँबाट झरेकोपानी नजिकै रहेको गुप्तेश्वर गुफाभित्रबाट समेत अवलोकन गर्न सकिन्छ । छाँगो तल झरेपछि त्यहाँबाट पाँच सय मिटर जति भूमिगत रुपमा पानी बगेर तल खोलामा मिसिन पुग्छ । बर्खा याममा छाँगो ठूलो र आकर्षक देखिन्छ । छाँगो बजारिंदा उठ्ने पानीका कणबाट बनेको कुहिरो जस्तो दृष्य र यदाकदा बन्ने इन्द्रेणीको दृष्य पनि यहाँका विशेषता हुन् ।

छाँगो वरपर परम्परागत घर, फूलको बगैंचा, मनकामना भगवतीको मूर्ति, हिमालका कृत्रिम दृष्य, बुद्धको मूर्मि, शिवलिंग, हावा घर, विविध नेपाली पोशाकसँग तस्वीर खिच्न मिल्ने संरचना रहेका छन् । डेभिज फलमा आन्तरिक पर्यटकको अतिरिक्त युरोपेली, अमेरिकी र अन्य देशका पर्यटक समेत भ्रमणका लागि पुग्ने गरेको टिकट काउन्टरका प्रमुख सुरेन्द्र सापकोटाले जानकारी दिए । उनका अनुसार अहिले यहाँ दैनिक तीन हजार पर्यटक पुग्छन् । बढी मात्रामा भारतीय पर्यटकले यो छाँगो मन पराउने गरेका छन् । शैक्षिक भ्रमणको याममा छाँगो वरपर विद्यार्थीको भिड देख्न सकिन्छ ।

छाँगो दर्शनका लागि टिकट काटेर भित्र पस्नुपर्छ । आएको पैसा स्थानीय छोरेपाटन माविले ततेर्छ । यही पैसाले नै उक्त विद्यालय संचालन गरिएको हो । छाँगोको संरक्षण र संचालनको काम विद्यालय नै गर्दै आएको छ । २०३५ सालदेखि विद्यालय नै छाँगो क्षेत्रको भोगचलन गर्दै आएको छ । पहिला पोखरा उपत्यका नगरविकास समितिको नाममा रहेको जग्गा अहिले भने पोखरा महानगर मातहत छ । विद्यालयले वार्षिक सवा दुई करोड रुपैयाँ छाँगोबाट आम्दानी गर्छ । यही आम्दानीबाट ७० जना निजी श्रोतका शिक्षकलाई तलव खुवाइन्छ । सरकारी दरबन्दीका शिक्षक भने २५ जना हाराहारी मात्र छन् । विद्यार्थी भने दुई हजार भन्दा बढी छन् ।

१२ रोपनी क्षेत्रफलमा फैलिएको छाँगोक्षेत्र प्रवेशका लागि विद्यार्थीलाई २० रुपैयाँ, आन्तरिक पर्यटकलाई ४० रुपैयाँ, सार्क राष्ट्रकालाई ८० रुपैयाँ र तेश्रो मुलुकका पर्यटकलाई एक सय रुपैयाँ शुल्क तोकिएको छ ।

महानगरपालिकाले केही वर्ष अघि विद्यालयबाट छाँगो लिएर निजी कम्पनीलाई झण्डै ४० वर्षका लागि ठेक्कामा दिने योजना बनाएपछि यस्तो कार्यको विरोध भयो । छाँगो माथि यसको दर्शनका लागि सिसाको पुल बनाउने योजना पनि अघि सारिएको थियो तर यसको काम अगाडि बढेको देखिंदैन ।

१५ कार्तिक २०८०, बुधबार ११:४६ मा प्रकाशित
Nabintech