Play

नीति महाधिवेशनले देश र कांग्रेसको काँचुली फेर्ने छ : नैनसिंह महर

गुरुकुल खबर


पाल्पा, नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले पार्टी समयानुकूल चल्न सक्नुपर्ने बताएका छन्। पाल्पाको तानसेन नगरपालिकाको नगर सम्मेलनलाई सम्बोधन गर्दै नेता महरले यतिबेला प्रविधिको व्यापक विस्तार भइसकेको र कांग्रेस सोही अनुरूप चल्न सक्नुपर्ने बताए।

‘अहिलेको नयाँ पुस्ता र नयाँ परिवेश छ। उनीहरूसँग नवीनतम ज्ञान छ। उनीहरूले नयाँ-नयाँ कुरा खोजिरहेका हुन्छन्। त्यसैले पार्टीलाई सोही अनुरूप सञ्चालन गर्नुपर्छ,’ उनले भने। जनताको मागलाई ध्यान दिँदै सोही अनुरूप काम गर्नु कांग्रेसको पहिलो दायित्व भएको उनले औँल्याए।

जनताको पार्टी कांग्रेस भएकाले शिक्षा, स्वास्थ्य, बाटोघाटो जस्ता विभिन्न क्षेत्रमा आमुलकारी परिवर्तन ल्याएको उनले स्मरण गरे। ‘शिक्षामा परिवर्तन ल्याउने, संविधान ल्याउने, मोटरबाटोको विस्तार गर्ने कांग्रेस हो। कांग्रेसले गरेको खुल्ला बजार अर्थ नीति र अन्तर्राष्ट्रिय सम्बन्धका कारण अहिलेको विकास सम्भव भएको हो,’ उनले भने।

कांग्रेस कानुनी शासनमा विश्वास गर्ने पार्टी भएकाले आगामी नीति महाधिवेशनमा पार्टीलाई विधान र संविधान अनुसार कसरी गतिशील तुल्याउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल हुने महरको भनाइ छ।

नीति महाधिवेशनमा कांग्रेसको नेतृत्वमा देश र कांग्रेसले कसरी काँचुली फेर्न सक्छ भन्ने विषयमा व्यापक छलफल र बहस हुने महरले बताए। ‘देश राम्रो बनाउन सकिन्छ। त्यो जिम्मेवारी कांग्रेसकै काँधमा छ। नीति महाधिवेशनमा हामीले कस्तो नीति अवलम्बन गर्दा जनताको कांग्रेस बनाउन सकिन्छ भन्ने विषयमा व्यापक छलफल गर्ने छौं’, उनले भने।

जनतालाई सास्ती हुने काममा कांग्रेस साक्षी बस्न नहुनेसमेत उनले बताएका छन्। गठबन्धन सरकारले राम्रो काम गर्नु पर्ने भए पनि सरकारले अपेक्षाकृत काम गर्न नसकेको टिप्पणी गरे। ‘सरकारले गरेको अयोग्यताका जम्मै भारीहरू कांग्रेसको काँधमा बोकाउने, जस कांग्रेसले नपाउने अवस्थामा पार्टी सरकारमा रहिरहनुको कुनै औचित्य हुँदैन। सधैभरी सत्तामा बस्नुपर्दैन,’ उनले भने।

उनले गठबन्धनका सन्दर्भमा आफ्नो फरक दृष्टिकोण रहेको बताए। उनले सांसदमा जित्ने निश्चित भएका केही नेताको प्राथमिकतामा गठबन्धन परेको बताए। उनले गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसले आफ्नो हैसियत बिर्सन नहुने बताए। उनले कांग्रेसलाई रुखमा मात्र भोट माग्ने पार्टी बनाउनुको विकल्प नरहेको दाबी गरे।

नेता महरले जहिले पनि एउटै व्यक्तिले अवसर पाउनु भन्दा पनि अवसरको न्यायोचित वितरण आवश्यक रहेकोमा जोड दिए। जहिले पनि एउटै व्यक्तिले मात्रै अवसर पाउने र छोड्दै नछोड्ने हो भने ८ लाख ६६ हजार कांग्रेसका क्रियाशील सदस्यले के गर्ने भन्दै उनले प्रश्न गरे।

१४ कार्तिक २०८०, मंगलवार १३:०८ मा प्रकाशित
Nabintech