Play

समाजसेवी सिद्धि गौचनको १३ औं स्मृति सभा

गुरुकुल खबर


पोखरा, जरोटुप्पो संरक्षण साहित्य समाज नेपालको आयोजनामा समाजसेवी तथा महिला उद्यमी सिद्धि गौचनको स्मरणमा १३ औं स्मृति दिवस मनाइएको छ ।

आइतवार पोखरामा आयोजित स्मृति समारोहका वक्ताले गौचनका बहुआयामबारे प्रकाश पार्दै नाम जस्तै सामाजिक योगदान दिएकी प्रतिभाका रूपमा गौचनको स्मरण गरे ।

सिद्धि गौचन स्मृति अक्षयकोषका संस्थापक विश्वमोहन गौचनले हरेक श्रीमान्लाई सफल बनाउन श्रीमतीले निभाएको भूमिकाको कदर जुन रूपमा हुनुपर्ने त्यो हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

स्वतन्त्र पत्रकार संघ नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद बास्तोलाले परिवार असल हुनु भनेको नै सिङ्गो समाज समृद्धिको मार्गमा अगाडि बढ्नु भएको धारणा राखे ।

गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलले सिद्धि गौचनले तत्कालीन समयमा समाजसेवा, राजनीति सेवा, समुदायगत व्यवसायका क्षेत्रमा पु-याएको योगदानको चर्चा जति गरे पनि कम हुने बताए ।

साहित्यकार देवेन्द्र केसीले गौचन परिवारसँगका स्मृति स्मरण गर्दै गौचनको नेतृत्व क्षमता, कार्यकुशलता र थकाली समुदायले अधिराज्यभर पु¥याएको योगदानको खुलेर प्रशंसा गरे ।

कार्यक्रममा लोकनृत्य कलाकार संघका सल्लाहकार बबिता गुरुङ, अध्यक्ष केशबहादुर गुरुङ, हेमजा साहित्य प्रतिष्ठानका अध्यक्ष बलराम पौडेल, अग्रज साहित्यकार रवीन्द्र माकाजू, गुरुङ चलचित्रका महानायक ताराबहादुर गुरुङ, समाजसेवी रामचन्द्र देवकोटालगायतले गौचनको व्यक्तित्व र कृतित्वका विविध आयामबारे चर्चा गरे ।

संस्थाका कोषाध्यक्ष असफल गौतमले गौचनको स्मृतिमा महिला सशक्तिकरणका घरेलु उद्योग, सिलाइबुनाइ, कृषि, शिक्षा, स्वास्थ्य, समाजसेवा, कला, साहित्य, संगीतलगायतका क्षेत्रमा जीवन समर्पण गरेका प्रतिभालाई हरेक दुई वर्षमा पुरस्कृत गर्ने गरी गौचन परिवारबाट स्थापना भएको कोषको आर्जित ब्याजबाट स्मृति सभा र पुरस्कार अर्पण कार्यक्रम सञ्चालन हुँदै आएको जानकारी दिए ।

संस्थाका कार्यवाहक अध्यक्ष प्रा.डा. यमबहादुर पौडेल क्षत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा साहित्यकार चारघरे ठिटो, नरेन्द्र रानाभाट, अनु बराललगायतले कविताका माध्यमबाट गौचनको स्मरण गरेका थिए ।

सोही समारोहबीच महानायक ताराबहादुर गुरुङले बेलायतका नेपाली माझ कला संस्कृतिका माध्यमबाट उल्लेख्य योगदान पु¥याएको र असफल गौतमले देशभरका पत्रकार सम्मिलित राष्ट्रिय प्रतियोगितामा कलमका माध्यमबाट प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको भन्दै लोकनृत्य कलाकार संघ र जरोटुप्पो समाजबाट सम्मानसमेत गरिएको थियो ।

१३ कार्तिक २०८०, सोमबार १३:१२ मा प्रकाशित
Nabintech