Play

इजरायलबाट थप एक नेपालीको शव नेपाल ल्याइयो

गुरुकुल खबर


काठमाडौँ, इजरायलमा हमासको आक्रमणमा मारिएका एक जना विद्यार्थीको शव आज नेपाल ल्याइएको छ । बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपालीको शव नेपाल आइपुगेको हो ।

फ्लाई दुबईको विमानमार्फत आज बिहान ७ बजे उनको शव ल्याइएको परराष्ट्र मन्त्रालयले उल्लेख गरेको छ । उनको शव नेपाल ल्याएसँगै घरतर्फ पठाइसकिएको छ । एम्बुलेन्समा राखेर उनको शव बझाङका लागि पठाइएको हो।

इजरायलमा हमासको आक्रमणमा परी मृत्यु भएका १० मध्ये ५ विद्यार्थीको नेपाल ल्याइसकिएको छ । बाँकी पाँच जनाको शव ल्याउन पहल भइरहेको मन्त्रालयले जनाएको छ। ती शवहरूको पहिचान गर्न गाह्रो भएको उनीहरूका आफन्तको डिएनए सङ्कलन गरी पठाइएको छ । सोही आधारमा पहिचान गरेर शव चाडै नेपाल ल्याइने मन्त्रालयले उल्लेख गरेको छ ।

हालसम्म नेपालीसहित दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने र कैलाली बौनियाँ–३ का आशिष चौधरीको शव नेपाल ल्याइएको हो ।

अक्टोवर ७ तारिखको बिहान हमास समूहको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीहरूको मृत्यु भएको थियो। आक्रमणमा परेर ४ जना घाइते हुन पुगेका थिए ।

९ कार्तिक २०८०, बिहीबार १०:१९ मा प्रकाशित
Nabintech