पोखरा, इजरायलमा जारी द्वन्द्वको मारमा परेका नेपाली नागरिकको उद्धारका लागि सरकारद्वारा गठित समन्वय संयन्त्रको बैठकले दुई निर्णय गरेको छ ।
निर्णय अनुसार यथाशीघ्र शव फिर्ता ल्याउन जहाज तयारी अवस्थामा राख्ने र इजरायली पक्षसंग समन्वय गर्ने, इजरायलमा रहेका नेपाली नागरिकहरूलाई सुरक्षित स्थानान्तरण गर्ने उपाय खोज्ने रहेका छन् ।
इजरायलमा जारी द्वन्द्व र द्वन्द्वको मारमा परेका नेपाली नागरिकबारे आवश्यक निर्णय लिन परराष्ट्रमन्त्री एनपी साउदको संयोजकत्वमा गठित समन्वय संयन्त्रको बैठक सोमबार बिहान परराष्ट्र मन्त्रालयमा बसेको थियो ।
इजरायलमा मृत्यु भएका १० जना नेपाली विद्यार्थी रहेको खुलेको छ। शनिबार हमासले इजरायलमा आक्रमण गरेको थियो। आक्रमणमा परेर अहिलेसम्म एक हजार जनाभन्दा बढीको मृत्यु भएको र जसमा १० जना नेपाली छन्। गाजानजिकै किब्बुज भन्ने ठाउँको आलुमिम फार्ममा प्रशिक्षणका लागि १७ जना विद्यार्थी सँगै थिए।
प्रशिक्षण भइरहेका बेला प्यालेस्टिनी हमास समूहको आक्रमणमा परेर एक जना बेपत्ता रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चार जना घाइते छन्, उनीहरूको उपचार भइरहेको छ। १० जनाको भने मृत्यु भइसकेको मन्त्रालयले पुष्टि गरेको छ।
आइतबार गठन गरिएको उक्त संयन्त्रले निरन्तर अनुगमन र वस्तुस्थितिको समग्र मूल्यांकन गरेर इजरायलमा रहेका नेपाली नागरिकको अवस्था पहिचान गर्ने, उद्धार गर्नुपर्ने अवस्थामा उक्त कार्यसमेत गर्नका लागि आवश्यक निर्णय लिने, समन्वय तथा सहयोग गर्नेलगायतका सम्पूर्ण काम गर्ने भनिएको छ।
यसैविच प्यालेस्टाइनी विद्रोही समूह हमास हमलाका कारण हिंसाग्रस्त इजरायलबाट पाँच नेपाली विद्यार्थीले आफूहरूलाई बचाउन सरकारसँग आग्रह गरेका छन् ।
विपिन सुवेदीले असुरक्षित बंकरबाट भिडिओ सन्देश जारी गर्दै बताए अनुसार उनीहरू पाँच जना सुदूरपश्चिम विश्वविद्यलायअन्तर्गत कृषि विज्ञान संकायबाट अध्ययनका लागि इजरायल पुगेका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार आक्रमणमा परेर मृत्यु भएका १० जना नेपाली विद्यार्थी हुन्।
यी विद्यार्थीहरू सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका थिए। एक महिनाअघि उनीहरू ’पढ्दै कमाउँदै’ कार्यक्रमबाट इजरायल गएका थिए।
परराष्ट्र मन्त्रालयका अनुसार इजरायलमा केयरगिभरमा चार हजार पाँच सय जना नेपाली छन्। उनीहरू सुरक्षित रहेको मन्त्रालयले जनाएको छ। साथै इजरायलमा विभिन्न विश्वविद्यालयबाट दुई सय ६५ जना विद्यार्थी अध्ययनका लागि पुगेका थिए।