Play

दोश्रो दिन पनि शिक्षक आन्दोलन जारी, काठमाडाैंको माइतीघर–वानेश्वर क्षेत्र अस्तव्यस्त

शिक्षक र प्रहरी विच धकेलाधकेल


गुरुकुल खबर


काठमाडौं, शिक्षा विधेयकका विरुद्ध शिक्षकहरुले आज दोश्रो दिन पनि आन्दोलन जारी राखेका छन् । शिक्षकहरूको आन्दोलनले माइतीघर–वानेश्वर सडक ढाक्दा जनजीवन प्रभावित हुन पुगेको छ । शिक्षक र प्रहरी विच यो क्रममा धकेलाधकेल पनि भएको छ ।

आन्दोलनका कारण खोला किनार (करिडोर) का सडकमा समेत अत्यिधक जाम बढेको छ । त्यसैले यी सडक भएर चल्ने सवारी साधनलाई ट्राफिक प्रहरीले अन्य सडक प्रयोग गर्न भनेको छ र नयाँ बानेश्वर चोक र माइतीघरबाट डाइभर्ट गरेको छ ।

आज बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको पहलमा शिक्षक नेतृत्वसँगको वार्ता निष्कर्षविहीन टुंगियो । शिक्षक महासंघले विधेयक फिर्ता नभएसम्म आन्दोलनका कार्यक्रम फिर्ता नहुने बताएको छ ।

काठमाडौं महानगरका सामुदायिक विद्यालयका शिक्षक पनि विद्यालय बन्द गरेर आन्दोलनमा होमिएका छन् । काठमाडौं महानगरले आन्दोलन जाने शिक्षक र विद्यालय बन्द भए प्रअलाई कारबाही गर्ने चेतावनीका बाबजुद उनीहरूले हिजै आन्दोलनमा सहभागी हुने निर्णय गरेर आन्दोलनमा आएका हुन् ।

संसदमा प्रस्तावित विद्यालय शिक्षा विधेयकको विरोधमा देशभरका शिक्षक आन्दोलित बनेका हुन् । विभिन्न जिल्लाबाट शिक्षक–शिक्षिका आन्दोलनका लागि काठमाडौं पुगेका छन् । सामुदायिक विद्यालयहरुको छाता संगठन नेपाल शिक्षक महासंघको आह्वानमा यो आन्दोलन सुरू भएको हो । महासंघले देशभरका सबै सामुदायिक विद्यालय बन्द गराएको छ ।

शिक्षकहरूको आन्दोलनको कारण देशभरका झण्डै ३० हजार विद्यालय बन्द हुनुका साथै ७० लाख जति विद्यार्थी पढ्नबाट वञ्चित भएका छन् । विधेयकमा विभिन्न १८ बुँदे असहमति राख्दै शिक्षकहरु आन्दोलित भएका हुन् । राहत, करार, बालविकास, स्थायीलगायत शिक्षक कर्मचारी आन्दोलन सहभागी छन् । सरुवा, बढुवा, दरबन्दी लगायतका मुद्दा उठाएका उनीहरुले स्थानीय तह मातहत नबस्ने बताएका छन् ।

 उनीहरूका माग ? हेर्नुहोस्

१) संसदको यसै अधिवेशनबाट महासंघ र मन्त्रालयबीच भएका सम्झौता तथा शिक्षा क्षेत्रका समस्या सम्बोधन हुने प्रबन्धका साथ नयाँ संघीय शिक्षा ऐन जारी गराउन ।
२) अहिलकै बजेटबाट शिक्षा क्षेत्रमा हुने लगानी कम्तीमा २०%गराउन ।
३) बालविकास कक्षाका शिक्षक तथा विद्यालय कर्मचारीको तलब वृद्धि तथा महँगी भत्ताको लागि बजेट विनियोजन गर्न ।
४) राहत र साविक उच्च माविका शिक्षकको दरबन्दीलाई स्वीकृत दरबन्दीमा परिणत गरी सम्झौताबमोजिम आन्तरिक र खुला प्रतियोगिताद्वारा पेसामा स्थायित्व गराउन ।
५) विद्यालय कर्मचारीको दरबन्दी सिर्जना गरी मन्त्रालय र महासंघबीच भएको सम्झौताबमोजिम स्थायित्वको प्रक्रियामा लैजान तथा सेवा छोड्नेहरूका लागि उचित सुविधा दिलाउन ।
६) शिक्षक तथा विद्यालय कर्मचारीको छुट्टै अस्पताल निर्माणका लागि बजेट विनियोजन गर्न ।
७) शिक्षक र समान तहका निजामती सेवाका कर्मचारीहरू बीच ग्रेड, प्राविधिक ग्रेड तथा तलबमानमा रहेको विभेदको अन्त्य गर्न । दुर्गम क्षेत्रमा कार्यरत निजामती सेवाका कर्मचारी र शिक्षकबीच भत्ता तथा सुविधामा रहेको विभेद अन्त्य गर्न ।
८) प्राविधिक धार र विशेष शिक्षाका शिक्षकका लागि आवश्यक स्वीकृत दरबन्दी सिर्जना गर्न ।
९) उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोग र दरबन्दी मिलान तथा पुनर्वितरण कार्यदलको सुझावअनुसार अपुग दरबन्दी प्रक्षेपण गर्न तथा महासंघसँग भएको सम्झौताबमोजिम दरबन्दी मिलान गर्न ।
१०) अस्थायी (करार) शिक्षकका मागलाई सम्बोधन गर्न ।
११) शिक्षकका लागि बढुवाको अनुपात वृद्धि गरी आवधिक बढुवा र तहगत बढुवाको व्यवस्था गर्न तथा अस्थायी सेवा अवधिको गणना गर्ने प्रबन्ध गर्न ।
१२) द्वन्द तथा राजनीतिक पीडित शिक्षकको हकमा मन्त्रालय र महासंघबीच भएको सम्झौताबमोजिम अविलम्ब पुनर्बहाली, उपदान, पेन्सन तथा अन्य सुविधा दिलाउने निर्णय कार्यान्वयन गर्न । त्यस्तै शिक्षकको पेसागत संस्थाको नेतृत्वमा रही काम गरेका शिक्षक नेताहरूको टुटेको अवधि गणना गरी नियमानुसार उपदान, पेन्सन तथा अन्य सुविधा दिलाउन ।
१३) निजी विद्यालयका शिक्षक तथा सामुदायिक विद्यालयमा निजी स्रोतमा काम गरेका शिक्षकका लागि सामाजिक सुरक्षा कोषको प्रबन्ध अविलम्ब कार्यान्वयनमा ल्याउन ।
१४) शिक्षकका संस्था र सरकारबीचका विगतका सबै सहमति तथा सम्झौता लागु गराउन ।
१५) कोभिड–१९ को संक्रमणले देशभरिका शैक्षिक संस्थाहरू बन्द भएको अहिलेको अवस्थामा वैकल्पिक पठनपाठनका लागि अनलाइन र भर्चुअल कक्षाहरू उपयोगी हुन्छन् तर यस्ता कक्षा सञ्चालनका लागि देशभरिका सबै ठाउँमा इन्टरनेट तथा उपयुक्त उपकरणको उपलब्धता छैन । आगामी दिनमा हुनसक्ने यस्तै खाले अन्य संक्रमणलाई समेत मध्यनजर गर्दै देशभरिका सामुदायिक विद्यालयमा निःशुल्क तीव्र गतिको इन्टरनेट, कम्प्युटर, ल्यापटप, स्मार्टफोनको यथेष्ठ प्रबन्ध गर्न तथा हरेक विद्यालयमा एउटा सूचना प्रविधि प्रयोगशाला निर्माणका लागि बजेट विनियोजन गर्न ।
१६) परम्परागत विधि परिवर्तन गरी विश्व परिवेशसँग सुहाउँदो शिक्षण सिकाइमा शिक्षकको सक्षमता विकास गर्न सबै शिक्षकका लागि आधुनिक प्रविधिसम्बन्धी तालिम दिन बजेट विनियोजन गर्न ।
१७) विद्यालयमा छुट्टै प्रधानाध्यापक पद सिर्जना गर्न आवश्यक कानुनी प्रबन्ध गर्दै त्यसका लागि थप सुविधा प्रदान गर्न बजेट विनियोजन गर्न ।
१८) कतिपय स्थानीय तहले नियम विपरीत सामुदायिक विद्यालयमा कार्यरत शिक्षक निकालेका तथा लकडाउन अवधिको तलब भुक्तानी नदिएका घटना सार्वजनिक भएका छन् । शिक्षकहरू माथि हुने र भएका यस प्रकारका ज्यादती रोक्न आवश्यक कारबाही गर्न।

तस्वीर : रातोपाटी

४ आश्विन २०८०, बिहीबार १४:२४ मा प्रकाशित
Nabintech