Play

अन्ततः कार्यान्वयनमा आयो एमसीसी, लागत ६९ करोड ७० लाख अमेरिकी डलर

गुरुकुल खबर


पोखरा, अन्ततः एमसीसी नेपालमा कार्यान्वयनमा आएको छ । बुधवार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत र एमसीसीका कम्प्याक्ट सञ्चालन सम्बन्धी उपाध्यक्ष क्यामेरोन अल्फोर्डले एमसीसी नेपाल कम्प्याक्ट कार्यान्वयन चरणमा प्रवेश सम्बन्धी पत्र आदानप्रदान गरेका थिए ।

पत्र आदान–प्रदान कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले एमसीसी परियोजनामार्फत गरिने सडक स्तरोन्नति तथा विद्युत आपूर्ति सम्बन्धी कामले नेपाली जनता लाभान्वित हुने बताए । उनले विद्युत् प्रशारण आयोजना र सडक मर्मत आयोजनाको औपचारिक कार्यान्वयन शुभारम्भको घोषणा गर्न पाएको भन्दै खुशी व्यक्त गरे ।यससँगै एमसीसी परियोजनाले तोकिएको काम, कारबाहीहरु प्रारम्भ गर्नेछ ।

गत साउन ३१ गते बसेको मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीएनेपाल) को सञ्चालक समिति बैठकले भदौ १३ लाई इन्ट्री इन टु फोर्स (ईआईएफ) मिति तोकेको थियो । यससँगै आजबाट पाँच वर्ष भित्र परियोजनाको निर्माण सम्पन्न गरिसक्नु पर्नेछ ।

सन २०२३ को अगष्टबाट गणना शुरु भएर २०२८ को अगस्टमा आयोजना सम्पन्न भइसक्नु पर्नेछ । अर्थ मन्त्रालय र एमसीसीबीच २०७४ भदौ २९ (२०१७ सेप्टेम्बर १४) मा भएको सम्झौता २०७८ फागुन १५ गतेको संसद् बैठकबाट १२ बुँदे व्याख्यात्मक घोषणासहित अनुमोदन भएको थियो। सम्झौता भएको ६ वर्षपछि परियोजना कार्यान्वयनको चरणमा प्रवेश गरेको हो ।

पहिलो पटक सम्झौतामा २०७७ असार १६ गते (२०२० जुन ३०) देखि ईआईएफ सुरु हुने भनिएको थियो तर एमसीसी कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषय लामो समयसम्म विवादित बन्दा पुर्व तयारीका कामहरु समयमै भएपछि ढिला भएको हो । समग्र परियोजनामा हुने खर्चको अनुमान ६३ करोड अमेरिकी डलर रहेको थियो । तर अहिले यो लागत बढेर ६९ करोड ७० लाख अमेरिकी डलर पुगेको छ ।

१३ भाद्र २०८०, बुधबार १९:४० मा प्रकाशित
Nabintech