Play

ललिता निवास जग्गा प्रकरणमा २१ मृतकको जेथाबाट १५ अर्व असुल्न सीआईबीको राय

गुरुकुल खबर


पोखरा, ललिता निवास जग्गा प्रकरणमा यसअघि नै मृत्यु भइसकेका २१ जनाबाट १५ अर्ब ६३ करोड रुपैयाँ असुल्न सीआईबीले राय दिएको छ । ललितानिवासको १४३ रोपनी सरकारी जग्गा हडपिएको प्रकरणमा संलग्न २१ जनाको भने मृत्यु भइसकेको देखिएको छ ।

सीआईबीको छानबिनको दायरामा परेका राणा परिवार, कर्मचारी, जग्गा घुस पाउने नातेदार र मोहीहरुमध्ये २१ जनाको विभिन्न मितिमा मृत्यु भएको पाइएको हो । यो प्रकरणमा संलग्न तत्कालीन भूमि सुधार तथा व्यवस्थामन्त्री प्रभुनारायण चौधरीको २९ भदौ २०६७ मा मृत्यु भएको विवरण प्रहरीले रायसहितको अनुसन्धान प्रतिवेदनमा समेटेको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका पूर्वमहानिर्देशक मुकुन्दप्रसाद आचार्यको पनि निधन भइसकेको छ ।

यसैगरी समरजंग कम्पनीका पूर्वप्रमुख अर्जुनप्रसाद भण्डारीको पनि १५ साउन २०७७ मा मृत्यु भएको छ । राणा परिवारका शैलजा राणाको १३ भदौ २०६१, सुनिती राणाको १३ वैशाख २०७०, हेमन शमशेर जबराको २९ पुस २०६४ र रुक्म शमशेर जबराको २५ भदौ २०७८ मा निधन भएको छ ।

डिल्लीबजार मालपोतका तत्कालीन नासु जगतप्रसाद पुडासैनीको १९ वैशाख २०७६ मा मृत्यु भएको छ । मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन खरिदार युक्तप्रसाद श्रेष्ठको १२ साउन २०७६ मा मृत्यु भएको छ । भूमिसुधार तथा व्यवस्थापन विभागका तत्कालीन निर्देशक पुष्पराज उपाध्यायको २०७६ मा मृत्यु भएको छ ।

पूर्वशाखा अधिकृत मुरलीकृष्ण श्रेष्ठको २०४५ सालमै मृत्यु भइसकेको छ भने गुठी संस्थान केन्द्रीय कार्यालयका तत्कालीन कानून अधिकृत तुलसी पोखरेलको ६ चैत २०७० मा मृत्यु भएको छ । यसमा संलग्न मिठुदेवी चापागाईंको २०६४, सानुकान्छा भन्ने पञ्चनारायण महर्जनको २०६०, तीर्थमाया महर्जनको २०७५, सुष्मा बज्राचार्यको २०७०, बालकृष्ण महर्जनको २०६८, भरतराज गिरीको २०७१, आशाखा माया महर्जनको २०६०, परशुराम पोखरेलको २०७४ र हर्कनारायण डंगोलको २०७२ मा मृत्यु भइसकेको छ ।

सीआईबीले मृत्यु दर्ता प्रमाणसहितको विवरण समावेश गर्दै उनीहरुको सम्पत्तिबाट बिगो भराउनुपर्ने राय दिएको हो । ‘मृतकहरुको हकमा कुनै माग दाबी नलिएको भए पनि सरकारी जग्गा झुठो र फरक व्यहोराको कीर्ते कागजातको आधारमा प्राप्त गरी लाभ प्राप्त गर्ने प्रतिवादीहरुको चल अचल सम्पत्ति तथा जायजेथाबाट विगो दिलाई भराई दिने मागदाबी लिइ दिनुहुन अनुरोध छ’, प्रहरीले बुझाएको रायसहितको प्रतिवेदनमा भनिएको छ ।

७ भाद्र २०८०, बिहीबार १३:०४ मा प्रकाशित
Nabintech