Play

खुल्यो जग्गाको कित्ताकाट, कारोबार बढ्दा अर्थतन्त्र चलायमान हुने अपेक्षा

गुरुकुल खबर


पोखरा, सरकारले कित्ताकाट खुलाएको छ । अब जग्गाको कित्ताकाट पुरानै नीतिनियमअनुसार हुनेछ । समग्र अर्थतन्त्रमै शिथिलता आएपछि वर्गीकरण नगरी जग्गा कित्ताकाट गर्न नपाइने व्यवस्थाबाट सरकार पछि हटेको छ ।

गत वर्षको मंसिर २३ देखि जग्गाको वर्गीकरणपछि मात्रै कित्ताकाट गर्नुपर्ने व्यवस्था सरकारले गरेको थियो । त्यसका लागि मन्त्रिपरिषद् बैठकले भू–उपयोग नियमावली २०७९ संशोधन गरी उक्त व्यवस्था अगाडि सारेको हो । जग्गा

वर्गीकरण नभए पनि सबै पालिकाहरूमा कित्ताकाट गर्न पाउने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठले जानकारी दिइन् ।

यस अनुसार कृषि, आवासीय, व्यावसायिक, औद्योगिक, खानी तथा खनिज, वन, नदी, खोला, ताल, सिमसार, सार्वजनिक उपयोग, सांस्कृतिक तथा पुरातात्त्विक महत्वको क्षेत्र र सरकारले तोकेका अन्य क्षेत्रको रूपमा जग्गा वर्गीकरण गर्नुपर्ने व्यवस्था नियमावलीमा उल्लेख थियो । यी क्षेत्रको रूपमा जग्गा वर्गीकरण गरिसकेका पालिकाहरूको हकमा कित्ताकाट गर्न कुनै समस्या थिएन । तर अधिकांश पालिकाले यो व्यवस्थाअनुसार जग्गा वर्गीकरण नगरिदिँदा कित्ताकाट र जग्गा कारोबार ठप्प हुन पुगेको थियो ।

‘अब हालसम्म पनि वर्गीकरण नगरेका पालिकाहरूमा एक वर्ष समय थप गर्ने गरी नियमावली संशोधन गरिएको हो,’ मन्त्री श्रेष्ठले उल्लेख गरिन् । यसको अर्थ एक वर्षसम्म वर्गीकरण नभएका पालिकाहरूको जुनसुकै जग्गाहरूको पनि कित्ताकाटको बाटो खुलेको हो । कित्ताकाटका लागि अन्य मापदण्डसमेत लचिलो बनाइएको छ । मन्त्रिपरिषद्ले स्वीकृत गरेको नियमावलीअनुसार आवासीय र व्यापारिक जग्गा ८० वर्गमिटर क्षेत्रफलसम्म र कृषि जग्गा १ रोपनीसम्म कित्ताकाट गर्न पाइनेछ । यसअघि आवासीय जग्गा १३० वर्गमिटरभन्दा कम कित्ताकाट गर्न नपाइने व्यवस्था थियो ।

 

३१ श्रावण २०८०, बुधबार १२:३६ मा प्रकाशित
Nabintech