Play

भारि वर्षाका कारण देशभरि बाढी र पहिरो, दर्जन सडक अबरुद्ध, मकवानपुरमा एक जनाको मृत्यु, छ वेपत्ता

गुरुकुल खबर


पोखरा, मकवानपुर जिल्लाको बागमती गाउँपालिका सिक्रेनीमा पहिरोले घर पुरिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परी ६ जना बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी टेकबहादुर कार्कीले राति पहिरोले सात जना पुरिएको र एक जनालाई उद्धार गरेर अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जानकारी दिए ।

पहिरोमा परी बागमती गाउँपालिका–५ सिक्रे दोभानका ६० वर्षीय अक्कलबहादुर स्यांतान, उनकी २२ वर्षीया छोरी शिला पहरी , ज्वाइँ २५ वर्षीय जीवन पहरी, नाती चार वर्षीय मिलन पहरी, साढे एक वर्षकी नातिनी दिब्या पहरी र सिन्धुली हरिहरपुर गाउँपालिका–१ कोकटीका अन्धाजी १६÷१७ वर्षका पासाङ घिसिङ (पाहुना) बेपत्ता भएका छन् । बेपत्ता भएका ६ जनाको खोजीकार्य जारी छ ।

घटनास्थल काभ्रे र मकवानपुरको सीमा क्षेत्रमा पर्दछ । उद्धारमा मकवानपुरको भोर्लेनी र काभ्रेको प्रहरी समेत परिचालन गरिएको छ । बर्षाकै कारण काठमाडौंको बल्खु तरकारी बजार डुबानमा परेको छ । बिहान साढे ६ बजेदेखि तरकारी बजारमा बाढी पसेको बजार सञ्चालन समितिका अध्यक्ष मोहन बस्नेतले जानकारी दिए । ‘एक्कासी आएको बाढीका कारण कुनै वस्तु उठाउनै भ्याइएन,’ उनले भने ।

यसैगरी भक्तपुरको चाँगुनारायण नगरपालिकामा पहिरोले एउटा घर भत्किएको छ । चाँगुनारायण नगरपालिका वडा नम्बर १ मा बीरबहादुर केसीको चार कोठे घर भत्किएको हो । घर पछाडिको ढिस्को खस्दा जस्ताले छाएको एक तले घर पूर्णरुपमा क्षतिग्रस्त भएको प्रहरी परिसर भक्तपुरका प्रवक्ता बसन्त पाठकले जानकारी दिए । उनका अनुसार पहिरोले मानवीय क्षति भने भएको छैन ।

काठमाडौंको नयाँ बसपार्क क्षेत्रमा पनि डुबान भएको छ । सोमबारदेखि भइरहेको भारी वर्षाका कारण बसपार्क नजिकको विष्णुमती क्षेत्र डुबानमा परेको हो । विष्णुमतीमा पानीको बहाव बढेर सडकमाथि बग्न थालेको छ । सडकबाट पानी घर र पसलहरूमा पसेको छ

ललितपुरको च्यासलमा रहेको नेकपा (एमाले) को केन्द्रीय कार्यालयमा बाढी पसेको छ। काठमाडौंको पूर्वी भेग भएर आउने मनोहरा नदीको जल सतह बढ्दा मंगलबार बिहान पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए। च्यासल जोड्ने पुलमुनिबाट पानी पास हुन नसक्दा ठोक्किएर पार्टी कार्यालयतिर फर्किएको र कम्पाउन्ड डुबेको उनको भनाइ छ।
काठमाडौं महानगरपालिका–३ स्थित सामाखुशी खोलामा बाढी आएको छ । बाढीले वडा नम्बर ३ र २६ खोलावरपरका सडक जलमग्न भएका छन्।खोला छेउमा भएका घरभित्रै बाढी छिरेको छ। सडक पार गरेर घरभित्र पानी पस्न थालेपछि स्थानीय सडकमा निस्किएका छन्।

स्याली नदीको बाढीमा फसेका शुक्लाफाँटा नगरपालिका–७ कालापानीका दुई महिलाको गए राति सकुशल उद्धार गरिएको छ। भैँसी चराउन हिरापुरफाँटामा गएका अन्दाजी ३५ वर्षीया गौमती साउद र ४० वर्षीया निर्मला भण्डारीको सशस्त्र प्रहरी, नेपाल प्रहरी र जनप्रतिनिधिको टोलीले उद्धार गरेको हो। चुरे क्षेमा अत्यधिक वर्षा हुदा स्याली नदीमा बाढी आएपछि भैँसी चराउन गएका दुवै नदीपारि बस्न बाध्य भएका थिए ।

वर्षातका कारण पहिरो खस्दा मुग्लिन नारायणगढ सडक खण्ड अवरूद्ध हुन पुगेको छ। सडक डिभिजन भरतपुरले जानकारी दिएअनुसार कालिखोला लगायत ठाउँमा मंगलबार बिहानै पहिरो खसेको हो।अविरल वर्षाका कारण खसेको पहिरोले १ दर्जन सडक अवरुद्ध भएको छ । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका–६ कालिखोलामा पहिरो झरेर दुईतर्फ सवारी अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।कालिखोलाको पहिरो पन्छाउने प्रयास भइरहेको छ ।

मकवानपुर स्थित कान्ति लोकपथ र हेटौँडा–भैँसे–भिमफेदी हुँदै कुलेखानी जाने सडक अवरुद्ध छ । स्थानीय निकाय र सुरक्षाकर्मीले हेटौँडा–कुलेखानी सडक एकतर्फ खुलाएका छन् । सिन्धुलीको सुनकोसी गाउँपालिका–२ स्थित कमेरेमा पहिरोका कारण बिपी राजमार्ग अवरुद्ध भएको छ । म्याग्दी स्थित बेनि–जोमसोम, बागलुङको कालीगण्डकी करिडोर, प्युठान स्थित प्युठान–भालुवाङ सडक पहिरोले अवरुद्ध छ । पाल्पाको सिद्धार्थ राजमार्ग र दाङ स्थित लमही–घोराही सडक अवरुद्ध भएको छ । कर्णाली प्रदेश स्थित मुगु–नाग्मा सडक अवरुद्ध भएको छ । मुगु नाग्मा चल्ने सडकमा साना गाडी चल्ने तर, ठुला सवारी पास हुने अवस्था छैन । कैलालीको भिमदत्त राजमार्ग अवरुद्ध भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

विष्णुमती खोलामा पानीको बहाव उच्च देखिएको छ ।गए रातिदेखिको वर्षाले खोलामा पानीको बहाव बढाएसँगै बाढीको जोखिम पनि बढेको छ ।विष्णुमती किनारका सडकसम्म नै बाढी पुगेको छ । सडक किनारका घर र पसलभित्र समेत पानी पसेको छ । सिरहाको लहान नगरपालिका भएर बग्ने खुट्टी खोलामा अत्यधिक बाढी आएको छ ।बाढीका कारण लहान नगरपालिका ५ स्थित दलित बस्ती डुबानमा परेको हो । करिब ७ जनाको घरमा बाढी पसेको स्थानीय राजेश विद्रोहीले जानकारी दिए ।

२३ श्रावण २०८०, मंगलवार ११:४३ मा प्रकाशित
Nabintech