Play

हङकङ बजारका व्यवसायीद्वारा पोखरामा विरोध -र्याली र सभा आयोजना

गुरुकुल खबर


पोखरा, आफूहरुलाई विस्थापित गर्न लागिएको भन्दै पृथ्वीचोकस्थित पोखरा हङकङ बजारका व्यवसायीले बुधबार पोखरामा -र्याली र सभाको आयोजना गरेका छन् ।

आफूहरुले व्यापार व्यवसाय गर्दै आएको जग्गा भाडामा दिन आव्हान गरिएको नयाँ वोलपत्र खारेज गरी महानगरले आफूहरुसँग विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नुपर्ने माग उनीहरुको छ । यही माग राखी पोखरा हङकङ बजार व्यवस्थापन समिति अन्तर्गतका व्यवसायीले गत बैशाख १४ गते पनि पृथ्वीचोकबाट र्याली निकालेर पोखरा महानगर कार्यालय पुगी एक ज्ञापन पत्र बुझाएका थिए ।

समितिकी अध्यक्ष कृष्णकुमारी गुरुङले विगत १० वर्षदेखि पोखरा– ९ मा संचालित पोखरा हङकङ बजारमा व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरुलाई सरकारले विस्थापित गरे आफूहरुले थप आन्दोलन चर्काउने चेतावनी दिइन् ।
सरकारी स्वामित्वको कृषि सामग्री कम्पनी लिमिटेडले आफ्नो स्वामित्वको उक्त जग्गा न्यूनतम माशिक १२ लाख १५ हजार रुपैयाँ भाडामा दिन शिलबन्दी वोलपत्र आह्वान गरेपछि व्यापारीहरु आक्रोसित बनेका हुन् । लिमिटेडको प्रादेशिक कार्यालयको पछाडिपट्टि सात रोपनी क्षेत्रफलमा फैलिएको यो जग्गा मौजुदा दररेट भन्दा झण्डै चार सय प्रतिशतले बढाएर बोलपत्र आव्हान गरिएको व्यवसायीको दाबी छ ।

उक्त जग्गामा फुटपाथ व्यवसायीलाई व्यवस्थित गरी व्यापार व्यवसाय संचालन गर्न पोखरा महानगरपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा उद्योग वाणिज्य संघ, विभिन्न सुरक्षा निकायका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, मानवाधिकारवादी, फुटपाथ व्यवसायीका प्रतिनिधि र संचारकर्मीको रोहबरमा बैठक बसी उक दशक अघि सहमति भएको व्यवसायीले स्मरण गराएका छन् ।

फुटपाथमा व्यपार व्यवसाय गर्दै आएका व्यवसायीले महानगरको अगुवाईमा भएको बैठक पश्चात् उक्त जग्गामा २०७० वैशाख एक गतेदेखि व्यापार व्यवसाय गर्दै आएकोमा आफूहरुलाई अहिले आएर विस्थापित गरिए पुनः सडकमा नै फर्कने चेतावनी समितिका संरक्षक राजकुमार सुवेदीले दिए ।

र्यालीमा सहभागी व्यवसायीले स्वरोजगार श्रमिकलाई गरिखान देऊ, साना व्यवसायीलाई विस्थापन गर्न पाइँदैन, महानगरसँगको सम्झौता कायम गर, सडक पेटिमा फर्कन बाध्य नपारियोस्, ठेकेदारहरु होसियार, विचौलिया प्रथाको अन्त्य गर, उचित भाडादर कायम गर लेखिएका ब्यानर र प्लेकार्ड बोकेका थिए ।

सात रोपनी क्षेत्रफलमा फैलिएको यो जग्गा यसअघि भाडामा लिई बजार संचालन गरिरहेका नन्दाप्रसाद तिवारीका छोरा मिलनप्रसाद तिवारीले लिमिटेडलाई माशिक दुई लाख २४ हजार पाँच सय १० रुपैयाँ तिर्दै आएको पोखरा हङकङ बजार व्यवस्थापन समितिको दाबी छ । तिवारीसँगको करार अवधि हालै समाप्त भएपछि नयाँ करारका लागि गएको चैत २१ गते गोरखापत्र दैनिकमा ३१ दिने अवधिको बोलपत्र लिमिटेडले आव्हान गरेको हो । नयाँ ठेकेदारले जग्गा प्राप्त गरे बोलपत्रकै न्यूनतम माशिक रकम धेरै भएपछि पुनः भाडा बढ्ने र आफूहरु विस्थापित हुने त्रासविच व्यवसायीले आन्दोलन चर्काएका हुन् ।

 

 

२७ असार २०८०, बुधबार १४:०६ मा प्रकाशित
Nabintech