Play

माओवादीका कारण गण्डकी प्रदेश सरकार बन्न ढिलाई, आज नै पाण्डे मुख्य मन्त्री नियुक्त हुने करिब निश्चित

गुरुकुल खबर


पोखरा । नेकपा एमालेका नेता खगराज अधिकारी नेतृत्वको गण्डकी प्रदेश सरकार ढलेपछि नयाँ सरकार बन्ने प्रक्रिया शुरु भएकोमा बिहिवार सम्ममा सरकार बन्ने करिव निश्चित भएको छ । सत्ता गठनबन्धनमा सामेल कांग्रेस—माओवादीबिच कुन दलले सरकारको नेतृत्व गर्ने भन्ने सहमति नभएका कारण सरकार बन्न ढिलाई भैरहेको अनुमान गरिएपनि माओवादी केन्द्र कांग्रेसका सुरेन्द्र पाण्डेको नेतृत्वमा सरकारमा जान तयार भएको छ ।

माओवादी केन्द्रमा पनि सरकारमा जाने मन्त्रीहरुको छनौट गर्ने विषय पेचिलो बन्दै गएपछि त्यही कुराले सरकार गठनमा ढिलाइ भएको बुझिएको छ ।

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले एमालेबाट निर्वाचित मुख्यमन्त्री अधिकारीले विश्वासको मत गुमाएर पदमुक्त भएको ४ दिनपछि मात्र मात्र नयाँ सरकार गठन गर्न आह्वान गरेकोमा उक्त समय बिहिवार नै सकिंदैछ । यद्यपि गण्डकीमा कसको नेतृत्वमा सरकार बन्ने भन्ने निश्चित नभएको सन्देश बाहिर आएको छ ।प्रदेश प्रमुख गुरुङले संविधानको धारा १ सय ६८ को उपधारा २ बमोजिम नै सरकार गठन गर्न आह्वान गरेपछि माओवादी र कांग्रेस नेतृत्व आफ्नो सरकार बनाउन कसरत गरिरहेको छन् ।

उपधारा दोहोरिए पनि कांग्रेसको नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएको कांग्रेस नेताहरुले बताएका थिए । उनीहरुले आफ्नो नेतृत्वमा सरकार गठन गर्न माओवादी अध्यक्ष प्रचण्ड सहमत भएपछि सोमबार पोखरा फर्किएको उल्लेख गरेका थिए ।

तर, कांग्रेसका नेताहरु डेलिगेसनमा पुगेर फर्केकै दिन मंगलबार माओवादी गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान काठमाडौं पुगेर बुधबार प्रधानमन्त्री तथा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट गरि पोखरा फर्किएका छन ।

प्रचण्डको भनाइ उदृत गर्दै नेता चुमानले भने, ‘अहिले कुन दलले सरकारको नेतृत्व गर्ने टुंगो लागेको छैन । तपाईंहरु हतार नगर्नुहोस् । बुधबार बेलुकासम्म कांग्रेस सभापति ज्यू र मेरो छलफल हुन्छ ।’ नेता चुमानले प्रचण्डसँग के कति कारणले कांग्रेसलाई सरकारको नेतृत्व दिने निर्णय गर्नुभएको भनेर प्रश्न गरेका थिए ।

माओवादी नेता चुमानले बाहिर जे भनेपनि आन्तरिक रुपमा माओवादी बाट कसलाई मन्त्री बनाउने भन्ने विषय पेचिलो बन्दै गएपछि मुख्यमन्त्री बन्ने बहाना निकालेको बुझिएको छ ।

चुमान गण्डकी प्रदेश सरकार बनेपछि निरन्तर मन्त्री रहिरहेका छन । यस पटक एमाले नेतृत्वको सरकारमा पनि उनि भौतिक पुर्वाधार मन्त्री रहेका छन । पटक पटक मन्त्री बनेकोलाई अब मन्त्री बन्न दिन नहुने र नया अनुहारलाई पालो दिनुपर्नने भन्ने आवाज उठेपछि उनले आफ्नो मन्त्री पद सुरक्षित गर्न मुख्य मन्त्रीको अड्को थापेको बताईन्छ ।

यता, प्रदेश प्रमुख गुरुङले एमाले नेतृत्वको सरकार गठन गर्न प्रयोग भएको धारा दोहोर्‍याएर सरकार गठन आह्वान गरेको भन्दै एमाले सांसदहरु भने असन्तुष्ट बनेका छन् । उनीहरुले प्रदेश प्रमुखले पुन सोही उपधारा दोहोर्‍याउनु सान्दर्भिक र न्यायोचित नभएको तर्क दिँदै आएका छन् ।

१४ बैशाख २०८०, बिहीबार १३:०६ मा प्रकाशित
Nabintech