Play

नेपाली लेखक संघको दौतरीमा सरुभक्त र तीर्थ श्रेष्ठ

गुरुकुल खबर


पोखरा । नेपाली लेखक संघ गण्डकीले नेपाली साहित्यमा नक्षत्रका रुपमा स्थापित साहित्यकार सरुभक्त र तीर्थ श्रेष्ठलाई दौतरीमा प्रस्तुत गरे ।

एकै मंचमा प्रस्तुत दौतरीले आफ्ना चर्चित कविता मात्र नभई सिर्जन कर्मका विविध पाटो पनि खोले । विगततिर फर्किएर आफ्नै कविताका रचना गर्भ कोट्याए । विसं २०१२ सरुभक्तको र २०१६ तीर्थ श्रेष्ठको जन्म वर्ष हो । उमेरले चार वर्षले तलमाथि भए पनि सुरुभक्त र तीर्थ श्रेष्ठ पोखराका साहित्यिक दौँतरी हुन् । पोखरेली वाङ्मयिक जगतमा सरुभक्त र तीर्थ श्रेष्ठ पर्यायवाची जस्तै हुन् । दुवै पोखरामा रहेर पनि राष्ट्रियस्तरमा छवि उठाएका प्रतिभा हुन् ।

४५ वर्षदेखिको आफुहरुको संगतको चर्चाका साथ ‘हिउँमा लेखिएका नामहरु’ कविता सुनाउँदै कवि तीर्थले सो कवितालाई सरुभक्तसँगको सम्बन्धको ‘स्मारक’का रुपमा अर्थ्याए ।

दौतरीमा कवि सरुभक्तले कवि तीर्थ श्रेष्ठको आमा कविता र आफै सिर्जना ‘सपनाले सिसौको बोटमा आत्महत्या गर्दैछ’, ‘चट्टानहरु’, ‘एक किलो अक्षर’, ‘बम खसेको पहाड’ लगायतका चर्चित कविता सुनाए ।
कवि तीर्थ श्रेष्ठले कवि सरुभक्तको ‘कसरी नाम दिउँ म तिमीलाई’ कविताका साथै आफ्नै सिर्जना ‘हिउँमा लेखिएका नामहरु’, ‘लाहुरे फूल म तिम्रो नाम फेर्न चाहन्छु’, ‘मातेको बेला’आदि प्रस्तुत गरे ।

दौतरीमा कवि तीर्थ श्रेष्ठले सुरुभक्तसँग भेट भएपछि जीवनमा धेरै कुरा भेटिएको बताए । पोखरेली युवा सांस्कृतिक परिवारलाई आकार दिनेदेखि कैँयन साहित्यिक अभियान र सिर्जनात्मक काममा आफूहरु सँगसँगै रहेको उनले स्मरण गरे ।

कार्यक्रमको सहजीकरण गरेका नेपाली लेखक संघका अध्यक्ष डा. ईश्वरमणि अधिकारीले दौँतरी शृङ्खलाको शुभारम्भ दुई प्रसिद्ध र स्थापितकविबाट गर्न पाउँदा गौरव अनुभूति भएको बताए । केही नयाँपन दिनकालागि ‘दौँतरी’को सुरुवात गरिएको बताउँदै अध्यक्ष अधिकारीले वर्षमा दुईवटा श्रृंखला चलाउने संघको योजना रहेको जानकारी दिए । आउँदो श्रृंखलामा दुई मुक्तककारलाई प्रस्तुत गर्ने सङ्घको तयारी रहेको समेत अध्यक्ष अधिकारीले भने । आगामी कार्यक्रममा दौतरीका रुपमा मुक्तककार दीपक समिप र जीवनसागर भण्डारीलाई प्रस्तुत गर्ने तयारी सघको रहेको छ ।

संघका महासचिव संजीव पौडेलले दौतरी कार्यक्रम र त्यसको अवधारणाबारे प्रस्ट्याएका थिए ।

 

११ चैत्र २०७९, शनिबार २२:५९ मा प्रकाशित
Nabintech