पोखरा । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपालले एकदिवसीयमा सबैभन्दा ठूलो लक्ष्य पाएको छ ।
आसिफ खानको कीर्तिमानी शतकमा यूएईले नेपाललाई ३११ रनको लक्ष्य दिएको हो । खानले नटआउट रहँदै ४२ बलमा ११ छक्का र ४ चौकासहित १०१ रन बनाएका हुन् ।
आसिफ खान एकदिवसीय क्रिकेटमा सबैभन्दा छिटो शतक प्रहार गर्ने चौथो खेलाडी बनेका छन् ।
बिहीबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको यूएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै ३१० रन बनाएको हो।
त्यस्तै यूएईका लागि वृत्य अरविन्दले ९४ रन बनाए । १३८ बल सामना गरेका उनले २ छक्का र ८ चौकाको सहयोगमा उक्त योगफल तयार पारेका हुन् ।
त्यस्तै यूएईका लागि ओपनर मोहम्मद वासिमले ६३ रन बनाए । ४९ बल सामना गरेका उनले ६ छक्का र २ चौकासहित उक्त योगफल तयार गरेका हुन् ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले २ विकेट लिए । ८ ओभरमा २ मेडन राख्दै उनले १९ रन खर्चिएका हुन् ।
सोमपाल कामीले ९ ओभरमा १ विकेट लिँदै ७४ रन खर्चिए । त्यस्तै सन्दीप लामिछानेले १० ओभर बलिङ गर्दै १ विकेट लिँदै ८० रन खर्चिए ।
ललित राजवंशीले भने १० ओभरमा २७ रन खर्चिएर १ विकेट लिए । त्यस्तै ८ ओभरमा गुल्सन झाले ६३ रन खर्चिए । ४ ओभरमा कुशल मल्लले ३८ रन दिँदा आरिफ शेखले १ ओभरमा ६ रन दिए ।
बिहीबारको खेल नेपाली क्रिकेट इतिहासकै सबैभन्दा ठूलो र महत्त्वको हो । आजको खेल जितेमा नेपालले ३९ अंक रहेको नामिबियालाई उछिन्दै जिम्बाब्वेमा हुने एकदिवसीय विश्वकपको छनोट खेल्न पाउनेछ ।