Play

निर्वाचन आयोगलाई ८० वटा सवारी साधन सहयोग

गुरुकुल खबर


काठमाडौँ — भारत सरकारले नेपालमा आगामी मंसिर ४ मा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको दौरानमा आवश्यक ८० सवारी साधन निर्वाचन आयोगलाई सहयोग गरेको छ ।

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार आयोजित एक समारोहबीच निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई भारत सरकारको तर्फबाट ८० वटा सवारीसाधन उपहारस्वरुप प्रदान गरेको भारतीय दूतावासले जनाएको छ । ‘यी सवारी साधनले निर्वाचन आयोगलाई आसन्न निर्वाचनका लागि आवश्यक प्रबन्धलाई थप व्यवस्थित गर्न सघाउ पुर्‍याउनेछ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

दूतावासका अनुसार नेपाल सरकारको अनुरोधमा उपलब्ध गराइएका २०० वटा सवारी साधनकै हिस्साको रुपमा यी ८० वटा सवारी साधन निर्वाचन आयोगलाई हस्तान्तरण गरिएको हो ।

नेपाल सरकारको अनुरोधमा विगतका वर्षहरुमा पनि भारत सरकारले निर्वाचन आयोगको प्रयोगका लागि सवारीसाधन उपलब्ध गराउँदै आएको छ । भारतले हालसम्म निर्वाचन आयोगलाई २१४ वटा सवारी साधन सहयोग गरेको छ ।

 

१८ कार्तिक २०७९, शुक्रबार ०७:४९ मा प्रकाशित
Nabintech