Play

६० औं इन्जिनियर दिवस-नीतिगत तहमा इन्जिनियरहरुको पहुँच नपुग्दा विकासमा बाधा

गुरुकुल खबर


पोखरा,  उर्जा, जलश्रोत तथा खानेपानी मन्त्रालय गण्डकी प्रदेशका सचिव रामकुमार श्रेष्ठले इन्जिनियरिङ पेशागत नैतिकतालाई ध्यान दिनु पर्ने समय आएको बताएका छन । समाज भन्दा एक कदम अघि बढेर देश विकास र भविष्यका लागि सिंगो समाजलाई डो¥याउनु पर्ने धारणा राखे ।

नेपाल इन्जिनियर्स एसोसिएसन गण्डकी प्रदेशले आयोजना गरेको सप्ताह व्यापी कार्यक्रम समापन तथा ६० औं इन्जिनियर दिवस मनाउन आयोजित कार्यपत्र प्रस्तुत तथा पुरस्कार वितरण सभामा इन्जिनियर श्रेष्ठले नीतिगत तहमा स्वयं इन्जिनियरहरुको पहुँच नपुग्दा विकासमा बाधा पुगेको उल्लेख गरे ।

जलवायु परिवर्तन, प्रकोपलाई ध्यान दिनै पर्ने बताएका श्रेष्ठले टुक्रे आयोजनाबाट विकास सम्भव नभएको उल्लेख गरे । स्वतन्त्र रुपमा काम गर्न नपाउनु मुख्य समस्या देखेका श्रेष्ठले उत्पादनमुखी कार्यमा एसोसिएसनको योजना अघि बढे आफूले सहयोग गर्ने बताए ।

इन्जिनियर्स एसोसिएसन गण्डकीका सभापति बृजेन्द्र केसीको अध्यक्षतामा भएको सभामा ई.होमनाथ शर्मा खनाल, ई. राजेन्द्र कुमार कुँवर क्षेत्री र पुलिङटार गापा नवलपुर पुर्वका अध्यक्ष ई. दिपेन सुनारी मगरलाई सम्मान गरिएको थियो ।

सभामा सप्ताह व्यापी कार्यक्रम अन्तर्गत संयोजकको भुमिका निभाएका स्टेसनरी वितरण कार्यक्रम संयोजक ई.अस्मिता खनाल, फुटसल प्रतियोगिताका संयोकज ई.हेमप्रसाद गुरुङ, फुटसल प्रयोगिताका को–अर्डिनेटर ई.खेमराज तिमिल्सिना, सव–कोअर्डिनेटर ई.विश्वास आचार्य, खुल्ला रक्तदान कार्यक्रमका संयोजक ई. राजिव सुवेदीलाई मायाको चिनो प्रदान गरिएको थियो ।

सभामा पुलिङटार गापाका अध्यक्ष ई.दिपेन सुनारी मगरले सामाजिक सशक्तीकरणमा जोड दिँदै नीतिगत सुधारमा पहल गर्ने बताए । उनले राजनीति प्रति वितृष्णा फैलिएको अवस्थामा प्रगति र परिवर्तनको बोध ईन्जिनियरहरुले नै गराउन सक्नु पर्ने बताए । पूर्व अध्यक्ष ई.रमेश बास्तोलाले पेशागत हकहित गर्दै समाजको कल्याण गर्ने मार्गमा हिड्न आग्रह गरे ।

एसोसिएसन गण्डकीका सचिव ई.अन्जन थापाले सञ्चालन गरेको सभामा सदस्य ई.विश्वास आचार्यले स्वागत गरेका थिए । इन्जिनियर दिवसका अवसरमा डा. नारायण गुरुङ र ई.विमल बास्तोलाले वर्तमान अवस्थामा देखिएको समस्या बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

डा. गुरुङले पोखरा र गण्डकी प्रदेशको बारेमा भू–प्रकोप, विपद, बाढी पहिरो, भ्वाङ पर्ने लगायतका बारेमा स्पस्ट बताएका थिए । जिम्मेवारी र जफावदेहिता नहुँदा समस्या बढेको बताएका गुरुङले अव्यवस्थित बसाई, खोला छेउको बस्ती, विगतलाई नहेरी गरिने विकास निर्माण लगायत आफैले विपत्ति निम्त्याएको उल्लेख गरे ।

राज्यको सम्पती खेर जानुमा ईन्जिनियरहरु पनी दोषी भएको उनको भनाई थियो । मानविय गतल र नबुझेको क्रियाकलापलाई पेशागत ढंगबाट बुझाउन सके भगवानले दुख दिएको भन्ने नागरिकको धारणा नै परिवर्तन हुने बताए ।

ई. विमल बास्तोलाले ग्रिन रोड अवधारणा भरत लगायत देशमा सफल भएपनि नेपालमा नीतिगत समस्या भएकाले प्लास्टिक जन्य फोहोरबाट मानवलाई दिनानुदिन समस्या थपेको बताए । उनले सरकारी नीतिले साथ दिए नेपालका मुख्य ६ सहरबाट निस्कने ६ सय टन प्लास्टिक जन्य फोहोरबाट प्लास्टिक रोड निर्माण गरेर बातावरण सफा र भुगोलको आयु बढाउन सकिने कार्यपत्र प्रस्तुत गरेका थिए ।

सभामा नेपाल भ्यालुर्स एसोसिएसनका अध्यक्ष रोजेन्द्र लिगल, पश्चिमाञ्चल इन्जिनियरिङ क्याम्पसका प्रमुृख निर्मल बराल, इन्जिनियर शारदामोहन काफ्ले, निर्माण व्यावसायी संघ गण्डकीका टंकराज बराल लगायतले शुभकामना दिएका थिए ।

६० औं ईन्जिनियर दिवस समापन सभामा सभापति बृजेन्द्र केसीले पेशालाई थप मार्यादित र उर्जाशील बनाउन एसोसिएसन गण्डकी प्रदेशको वर्तमान टिम लागिपरेको बताए । केसीले दक्षता र योग्यतामा हतोत्साहित हुने गरी संघीय तथा स्थानीत तहमा खोलिने छैटौ र सार्तौं तहका विज्ञापनबारे गम्भिर ध्यानाकर्षण भएको बताए ।

असमान व्यवहार राज्यले गर्न नहुने बताएका केसीले सामाजिक उत्तरदायित्वमा ईन्जिनियरहरु क्रियाशील भएर लागेको बताए । भाईचाराको सम्वन्धलाई थप प्रगाढ बनाउन एक इन्जिनियरले अर्को इन्जिनियरको खुट्टा नकाटे सधैभर समस्या समाधान हुने उनको भनाई थियो ।

४ श्रावण २०७९, बुधबार ०८:५३ मा प्रकाशित
Nabintech